संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अछाम पहिरोले १७ जनाको मृत्यू, अझै ६ सम्पर्कविहीन

    अछाम पहिरोले १७ जनाको मृत्यू, अझै ६ सम्पर्कविहीन

    संघारी न्युज
    १ असोज २०७९
    1.3k
    Shares

    अछाम । गएराति अछाममा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अझै ६ जना हराइरहेका छन्।

    अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार, जिल्लाका विभिन्न ठाउँमा पहिरोमा परी शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना हराइरहेका छन्।

    अहिलेसम्म पहिरोमा पुरिएका ११ जनाको उद्धार गरिएको छ। उनीहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको उनले बताए।

    अहिलेसम्म तुर्माखाँद गाउँपालिका(५ मा चार, कमलबजार नगरपालिका-६ मा सात र कमलबजार-८ मा पाँच जनाको शव भेटिएको रिजालले जानकारी दिए। कमलबजार-८ मा अझै तीन जना हराइरहेका छन्।

    त्यस्तै, ढकारी गाउँपालिका(६ मा पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। पहिरोमा पुरिएर एक जना हराइरहेको रिजालले बताए।

    अछाममा पहिरो गएको स्थानमा नेपाल प्रहरीको टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले बताए। “अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ। यकिन विवरण आइसकेको छैन। मृतकको संख्या बढ्न सक्छ,” उनले भने।

    पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध छ। अछाममा सञ्चार सेवा समेत अवरुद्ध छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com