संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दशैँको तीन दिन सुदूरपश्चिममा भारि वर्षा हुने सम्भावना

    दशैँको तीन दिन सुदूरपश्चिममा भारि वर्षा हुने सम्भावना

    संघारी न्युज
    १५ असोज २०७९
    1.2k
    Shares

    काठमाडौं । दशैँको मुख्य दिनमा सुदूरपश्चिम लगायत केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैँको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

    महाशाखाकाअनुसार आउँदो बुधवार विजयादशमीदेखि शुक्रवार द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना छ।

    आउँदो मङ्गलवार महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बुधवार विजयादशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महशाखाकाअनुसार बिहीवार एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशहरूका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

    शुक्रवार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    यी दिनहरूमा पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    नेपालमा मनसुन सरदर अक्टोबर २ अर्थात भोलिदेखि बाहिरिने भएता पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसमविद्ले यसअघि नै भनिसकेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com