संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    चितुवाको मुखबाट नातिलाई बचाउन सफल हजुरआमा सम्मानित

    चितुवाको मुखबाट नातिलाई बचाउन सफल हजुरआमा सम्मानित

    संघारी न्युज
    २३ चैत्र २०८१
    2.9k
    Shares

    बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५, बालापुर निवासी ५० वर्षीया गोवरी थरुनी चैत २० गते बुधबार घरदेखि दुई किलोमिटर पर रहेको केराबारीमा लगाइएको मास (थारू भाषामा उरुद) मा पानी लगाउन गईन्  । खेतमै काम गरिरहँदा गोवरीका लागि खाना लिएर दिउँसो १ बजे उनको सात वर्षका नाति सिर्जन चौधरी र साथी अर्पण थारू आए । केराबारीमा लगाइएको मासमा पानी सिँचाइ गर्दै गरेकी आफ्नी हजुरआमाभन्दा करिब ३० मिटर जतिको दुरीमा रसीको खटिया (चारपाई) राखिएको थियो ।

    खटियामा सिर्जन खेलिरका थिए । एकै छिन्मा सिर्जन चिच्याएको आवाज हजुरआमाको कानमा गुन्जियो । ‘बुदी’ (हजुरआमा) भनेर चिच्याएका सिर्जनको चित्कार अरू बेलाको भन्दा फरक थियो । त्यत्तिकैमा ३० मिटर पर मात्र रहेकी हजुरआमा नाति भएको स्थानमा पुगिन् । नातिलाई चितुवाले लगेको उनले थहाँ पाएपछि चितुवा भएको तर्फ डगुरिन् । चितिवाले करिब ५० मिटर पर मकैबारीमा नातिलाई पुर्‍याइसकेको थियो । नाति नदेखेपछि हजुरआमा नातिलाई खोज्दै मकैबारीतर्फ गईन् ।

    त्यहाँ मकैको रुख ढलेर बाटो बनेको देखेपछि त्यतै दौडिन् । हजुरआमाले आफ्नो नाति सिर्जनलाई चितुवाले गर्धन समातेको देख्दा चितुवाले समातेको नातिलाई खुट्टातर्फ समातेर तान्न थालिन् । करिब एक मिनेट जति सिर्जनलाई एकातर्फबाट चितुवाले तान्यो, अर्कोतर्फबाट हजुरआमाले । हजुरआमाले नछाडेपछि सिर्जनलाई चितुवाले छाडेर हजुरआमा गोवरीमाथि आक्रमण गर्न खोज्दा उनी पनि तर्किए । त्यसपछि चितुवा त्यहाँबाट भागेको गोवरी थरुनी बताउँछिन् ।

    उनले भनिन् “नातिलाई चितुवाले आक्रमण गरिरहेकै बेला मकैबारीमा भेटाएँ, मेरो दिमाग नै शून्य जस्तै भयो, म के गरुँ, कसो गरुँ भन्ने सोचमा गएँ, तर जे हुन्छ हुन्छ कि नाति बचाउँछु कि मलाई पनि चितुवाले मार्छ भन्ने सोचेर मैले नातिको खुट्टा समातेर तानेँ । त्यस समयमा चितुवाले नातिको घाँटी समातिरहेको थियो ।”

    चितुवाको मुखबाट बचाइएका नाति सिर्जन नेपालगन्जस्थित सञ्जीवनी मेडिकल कलेजमा शल्यक्रियापछि उपचाररत छन् । घटना सार्वजनिक भएपछि गुलरिया नगरपालिका–५ ले गोवरीलाई सम्मान गरेको छ । मृत्युको मुखमा पुगेको नातिलाई बचाउने साहसिक काम गरेका कारण उनलाई पाँच हजार रुपियाँसहित सम्मान गरिएको गुलरिया नगरपालिका–५ का वडाध्यक्ष मुमबहादुर मल्लले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com