संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम किन सबै हिसाबले पछाडि पर्यो समीक्षा गरौं : अध्यक्ष प्रचण्ड

    सुदूरपश्चिम किन सबै हिसाबले पछाडि पर्यो समीक्षा गरौं : अध्यक्ष प्रचण्ड

    संघारी न्युज
    १७ बैशाख २०८२
    2.5k
    Shares

    कैलाली । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुदूरपश्चिमको समग्र विकासलाई आफ्नो विशेष प्राथमिकता रहने स्पष्ट पारेका छन्। धनगढीमा माओवादी केन्द्रद्वारा सञ्चालित तराई मधेश जागरण अभियान अन्तर्गत आयोजित ‘समुदायसँग माओवादी संवाद’ कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिम र कर्णालीलाई राज्य प्रणालीले सधैं उपेक्षा गर्दै आएको उल्लेख गरे। ‘म सत्ता पक्षमा रहूँ वा प्रतिपक्षमा, सुदूरपश्चिमको विकासका लागि सधैं विशेष ध्यान दिनेछु,’ उनले भने।

    अध्यक्ष प्रचण्डले सुदूरपश्चिमको नेतृत्वमा रहेका व्यक्तिहरूले जनताको सवाललाई गम्भीर रूपमा लिएर काम गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सुदूरपश्चिम किन सबै हिसाबले पछाडि पर्यो भन्ने गम्भीर समीक्षा गर्न जरुरी छ । उनले प्रधानमन्त्रीको नौ महिनाको कार्यकालमा सबैभन्दा धेरै पटक सुदूरपश्चिम भ्रमण गरेको उल्लेख गर्दै क्षेत्रीय विकासमा आफूले चासो दिएको दाबी गरे।

    ूत्यही बेला सुदूरपश्चिम शिक्षामा पछि परेको पाएँ, त्यसैले विश्वविद्यालय स्थापना गरेर सुधार ल्याउने पहल गरियो,ू उनले बताए। फाप्ला स्रिकट मैदानलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको, सुख्खा बन्दरगाह निर्माण, पञ्चेश्वर जलविद्युत् आयोजना पुनः अगाडि बढाउने प्रक्रिया, भारतसँग सहकार्यमा प्राविधिक कलेज स्थापनालगायत योजनाहरू उनले उदाहरणका रूपमा उल्लेख गरे।

    सुदूरपश्चिममा प्रस्तावित दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित हुनु पनि ऐतिहासिक उपलब्धि भएको उनले बताए। स्वास्थ्य क्षेत्रमा यो ठूलो क्रान्तिको शुरुवात हो, उनले भने। प्रचण्डले चीन भ्रमणका क्रममा ८ ओटा नाका खोल्ने सहमति भएको जानकारी दिँदै खप्तड क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाउने योजना पनि सार्वजनिक गरे।

    उनले देशका रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्ने विषयमा समेत सरकारमा बहस अघि बढाएको बताए। सुशासनको पक्षमा दृढ पहल गर्ने उनले प्रतिबद्धता जनाए। अध्यक्ष प्रचण्डले भने, जनयुद्धमा सुदूरपश्चिमले देखाएको वीरता र बलिदानप्रति म सधैं कृतज्ञ छु। त्यसैले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र पर्यटनमा सुदूरपश्चिम र कर्णालीलाई उच्च प्राथमिकता दिनुपर्छ भन्ने मेरो स्पष्ट भिजन हो


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com