संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    टप टी–२० सिरिजमा नेपालको दोस्रो जित

    टप टी–२० सिरिजमा नेपालको दोस्रो जित

    संघारी न्युज
    ४ भाद्र २०८२
    1.4k
    Shares

    काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

    आफ्नो पाँचौँ खेलमा बुधबार नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभर खेल्दै सबै विकेट गुमाएर १०६ रनमा समेटिएको हो ।

    नेपालको जितमा बलिङतर्फ सोमपाल कामीले पाँच विकेट हात पारे । चार ओभर बलिङ गर्दा १७ रन दिएर सोमपालले पाँच विकेट हात पारेको हो ।

    डार्विनको काजालिस एरेना टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

    त्यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन थपे । भीम सार्कीले १७ रन बनाउँदा आरिफ शेख र रुपेश सिंहले समान १२र१२ रन जोडे । बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई–दुई विकेट हात पारे ।

    १४० रनको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रनमा अलआउट भएको हो । उसका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाउँदा जे लेमिरले १८ तथा ह्‍यारी डिक्सनले १६ रन जोडे ।

    मेलबर्नविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि सोमपालले पाँच विकेट हात पार्दा कुशल भुर्तेलले दुई विकेट हात पारे । त्यसैगरि साहब आलम र रुपेश सिंहले एकएक विकेट हात पारेका थिए । पाँच खेल खेलिसकेको नेपालले तीन खेलमा लगातार पराजयको सामना गरेपछि दुई खेलमा लगातार जित निकालेको हो ।

    पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले पराजित भएका थिए । यस्तै तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएका थिए ।
    चौथो खेलमा भने नेपालले होबार्ट हरिकेन्सलाई ६६ ले हराएउँदै खाता खोलेको हो । मेलबर्नमाथिको ३३ रनको जितसँगै नेपालले चार अङ्क जोडेको छ । ११ टिम सहभागी प्रतियोगितामा नेपाल तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सिरिजको अन्तिम खेल नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com