संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जसको आँखै अगाडि चार साथीलाई बाढीले बगायो

    जसको आँखै अगाडि चार साथीलाई बाढीले बगायो

    संघारी न्युज
    २३ भाद्र २०८३
    468
    Shares

    धनगढी । भदौ १० गते बिहान करिब ९ बजेर २० मिनेटको समयमा रसुवास्थित चाइना हाइड्रोपावरको सुरुङभित्र छुनुकराम डंगौरा काम गरिरहेका थिए । उनी मेसिनमाथि थिए । उनीसँगै अरू १२ जना पनि मेसिनमाथि बसेर ढलानको काम गरिरहेका थिए ।

    एक्कासि सुरुङभित्र बाढी पस्यो । के भइरहेको छ भन्ने थाहा नपाउँदै बाढीको भेल उनीहरूतिर आइपुग्यो । उनीसँगै काम गरिरहेका चार जना साथीलाई उनकै आँखा अगाडि बाढीले बगायो । उनीहरूमध्ये एक जना कोरियाली इन्जिनियर थिए ।

    ‘आँखै अगाडि साथीहरूलाई बाढीले लग्यो । के गर्ने ? आफ्नै ज्यान जोगाउन गाह्रो थियो । उनीहरूलाई बचाउन सकिएन,’ छुनुकरामले त्यो विपत् सम्झिँदै भने, ‘त्यो घटना सम्झिँदा अहिले पनि सपना हो कि बिपना हो भन्ने छुट्ट्याउन गाह्रो हुन्छ ।’

    छुनुकरामका अनुसार भेल बढ्दै गएपछि उनीहरू बाहिर निस्कने अवस्था थिएन । सुरुङभित्र अन्धकार थियो । चारैतिर लेदो र माटो भरिँदै थियो । बाढी घटेपछि मात्रै उनीहरू बाहिर निस्कन सके । त्यसका लागि करिब साढे तीन घण्टा लाग्यो ।

    ‘बाढी घटेपछि बाहिर निस्कँदा सुरुङ पूरै माटो र लेदोले भरिएको थियो । हाम्रो मुखमात्रै देखिन्थ्यो । शरीरभरि माटैमाटो थियो । जताततै लेदो थियो । पहाड नै खसेजस्तो अन्धकार थियो,’ उनले भने ।

    करिब नौ किलोमिटर लामो सुरुङभित्र त्यतिबेला कति जना थिए भन्ने छुनुकरामलाई यकिन थाहा छैन । उनीहरू भने बाढी आएको दिन नै सुरुङबाट बाहिर निस्कन सफल भए ।

    बाहिर निस्किएपछि पनि उनीहरूको दुःख सकिएन । सुरुङबाट निस्केर उनीहरू पहाड चढ्दै एउटा गाउँ पुगे । गाउँलेहरूले बास दिए । खानेकुरा थिएन । उनीहरूले आलु उसिनेर खाए र आगो तापेर रात कटाए ।

    भोलिपल्ट भदौ ११ गते उनीहरू डेरातर्फ झरे, तर त्यहाँ पुग्दा केही बाँकी थिएन । ‘मोबाइल, कपडा, अन्य सामानमात्र होइन, त्यहाँ कोही मान्छे थिएनन्, घर थिएन, पूरै बजार थिएन,ु छुनुकरामले भने, ुहामीले काम गर्ने कम्पनीसमेत देखिएन । सबै तहसनहस भएको थियो ।’

    त्यसपछि उनीहरू एउटा विद्यालयमा पुगे । त्यहीँ चार दिन बसे । हेलिकोप्टरबाट चाउचाउ, एउटा बिस्कुट र पानीको बोतल दिइन्थ्यो । उद्धारका लागि ‘आज आउँछ, भोलि आउँछ’ भन्दै चार दिन बित्यो ।

    चार दिनपछि बसको व्यवस्थापन भयो र उनीहरू काठमाडौँ पुगे । काठमाडौँमा उनी दुई दिन बसे । पशुपतिनाथ मन्दिर नजिकैको होटलमा बसेका उनलाई एक जना दिदीले घर फर्किन बसभाडा सहयोग गरिन् ।

    बाढी आएको नौ दिनपछि छुनुकराम आफ्नो घर कैलाली पुगे । उनी घर पुग्दा परिवारमा खुसीको सीमा थिएन । नौ दिनसम्म उनको कुनै खबर नआएपछि परिवारका सदस्यहरू निकै आत्तिएका थिए ।

    उनले आफन्तमार्फत घरमा फोन गराएर आफूहरू सकुशल रहेको खबर पठाएका थिए । ‘मोबाइल त बाढीले लगिसकेको थियो । घरमा खबर पुगेपछि मात्रै परिवार केही शान्त भएछ,’ उनले भने ।

    कैलालीको जानकी गाउँपालिका–७, खल्लागोलौरीका छुनुकराम राजमिस्त्रीको काम गर्छन् । कक्षा ८ सम्म पढेका उनले घरको आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन सकेनन् ।

    गाउँमै घर बनाउने ठाउँमा राजमिस्त्रीको काम गरेर परिवार पाल्दै आएका उनीसँग धेरै खेतीयोग्य जमिन छैन । अधियाँमा खेती गरेर गुजाराका लागि केही सहज भए पनि घरको खर्च धान्ने मुख्य जिम्मेवारी उनकै काँधमा छ ।

    उनको परिवार ठुलो छ । तीन दाजुभाइ, भाउजू, भतिज–भतिजी, आमाबुबा, श्रीमती, १३ वर्षकी छोरी, ९ वर्षका छोरा लगायत १७ जनाको एउटै भान्सा छ । कच्ची घर छ ।

    करिब एक महिनाअघि सालोले ‘रसुवा गएर काम गरौँ’ भनेपछि उनी सालोसँगै रसुवा पुगेका थिए । त्यहाँ पुगेर उनी चाइना हाइड्रोपावरको सुरुङभित्र काम गर्न थालेका थिए ।

    छुनुकरामले दैनिक एक हजार ५० रुपैयाँ ज्याला पाउँथे । एक महिनाको पारिश्रमिक भने उनले पाइसकेका छन् । कम्पनीले डेरालगायत बाढीबाट भएको क्षतिको क्षतिपूर्ति दिने बताएको उनले बताए । जानकी गाउँपालिकाका अध्यक्षले पनि सहयोग गर्ने आश्वासन दिएको उनको भनाइ छ ।

    तर अब छुनुकरामलाई फेरि सुरुङभित्र गएर काम गर्ने मन छैन । घर फर्किएपछि आमाबुबा, श्रीमती, दाजुभाइ, भाउजू र भतिज(भतिजी सबैले एउटै कुरा भनेका छन्, ‘ज्यान जोगाएर आइस्, अब त्यस्तो सुरुङमा काम गर्न नजानू । घरमै जे काम पाइन्छ, त्यही गरेर सुखदुःख गरेर खाउँला ।’

    अहिले छुनुकराम घरमै छन् । काम सुरु गरेका छैनन् । केही समयपछि फेरि काम गर्ने सोचमा छन् । छुनुकराम आफैँ मृत्युको मुखबाट बाँचेर घर फर्किए, तर उनीसँगै रसुवा पुगेका उनका साला भने अझै बेपत्ता छन् ।

    घटनाका बेला उनका साला डेरामै थिए । उनी काम गर्ने ठाउँबाट डेरा पुग्न करिब आधा घण्टा लाग्थ्यो । बाढीपछि उनी सम्पर्कविहीन छन् । अहिलेसम्म उनको अवस्थाबारे कुनै खबर आएको छैन ।

    ‘साला बेपत्ता भएपछि ससुरालीमा धेरै समस्या छ । परिवार पीडामा छन्,’ छुनुकरामले भने ।

    छुनुकरामका लागि भदौ १० गतेको त्यो बिहान जीवनभर नमेटिने दिन बनेको छ । आँखै अगाडि चार साथीलाई बाढीले बगाएको दृश्य, साढे तीन घण्टा सुरुङभित्र मृत्युसँग सङ्घर्ष गरेर बसेको क्षण र बाहिर निस्कँदा देखिएको तहसनहसको दृश्य उनी बिर्सन सक्दैनन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com