काठमाडौं । चिया वा कफीजस्ता पेय पदार्थ अत्यधिक तातो अवस्थामा नियमित रूपमा पिउँदा अन्ननली (खाना नली) को क्यान्सर हुने जोखिम बढ्न सक्ने बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ ।
अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले करिब ९ लाख ७७ हजार जना मध्यम उमेरका महिला तथा पुरुषमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अध्ययन इन्टरनेसनल जर्नल अफ क्यान्सर मा प्रकाशित भएको छ ।
अनुसन्धानअनुसार ६५ डिग्री सेल्सियस वा त्यसभन्दा बढी तापक्रमको चिया वा कफीलाई ‘धेरै तातो’ मानिएको छ । यस्तो अत्यधिक तातो पेय पदार्थ पिउने व्यक्तिमा न्यानो चिया वा कफी पिउनेको तुलनामा अन्ननलीको क्यान्सर हुने जोखिम करिब तीन गुणासम्म बढी देखिएको थियो ।
यद्यपि विशेषज्ञहरूले समग्रमा अन्ननलीको क्यान्सर हुने सम्भावना कम रहेकाले अत्यधिक तातो पेय पदार्थले जोखिम बढाए पनि क्यान्सर हुने सम्भावना तुलनात्मक रूपमा न्यून नै रहने बताएका छन् ।
अनुसन्धानकर्ताका अनुसार अत्यधिक तातो तरल पदार्थ निल्दा त्यसले पेटसम्म पुग्ने क्रममा अन्ननलीको भित्री कोषिकाको तहमा क्षति पुर्याउन सक्छ, जसले क्यान्सरको जोखिम बढाउन सक्ने अनुमान गरिएको छ ।
कति तातो चिया–कफी जोखिमपूर्ण ?
अध्ययनले ६५ डिग्री सेल्सियस वा त्यसभन्दा माथिको तापक्रमलाई सम्भावित जोखिमयुक्त मानेको छ। दिनमा ६ वा त्यसभन्दा बढी कप तातो पेय पदार्थ पिउँदा पनि जोखिम बढ्ने देखिएको छ ।
चियामा दूध थप्दा तापक्रम केही घट्न सक्छ । तर केतलीमा पानी उम्लिएलगत्तै बनाइएको चिया वा कफी भने अझै निकै तातो हुन सक्छ ।
पानी उम्लिँदा यसको तापक्रम करिब १०० डिग्री सेल्सियस हुन्छ । कपमा खन्याएपछि पनि तापक्रम करिब ९० देखि ९५ डिग्री सेल्सियससम्म हुन सक्छ ।
त्यसैले अनुसन्धानकर्ताले चिया वा कफी बनाएपछि केही मिनेट पर्खेर तापक्रम घटेपछि मात्र पिउन सुझाव दिएका छन् ।
क्यान्सर रिसर्च यूकेका अनुसार तातो पेय पदार्थलाई कति समयसम्म चिस्याउने भन्ने निश्चित समय तोक्न कठिन छ । तर अत्यधिक तातो हुँदा पिउनुको सट्टा आरामसँग पिउन सकिने तापक्रमसम्म चिस्याएर पिउनु उपयुक्त हुने संस्थाले जनाएको छ ।
अध्ययनकी प्रमुख अनुसन्धानकर्ता डा। केरेन पापियरले दक्षिण अमेरिकामा अत्यधिक तातो ‘माते’ नामक जडीबुटीजन्य पेय पिउने मानिसमा पनि तातो पेय पदार्थ र अन्ननलीको क्यान्सरबीच यस्तै सम्बन्ध देखिएको बताइन् । तर कुन तापक्रममा जोखिम स्पष्ट रूपमा बढ्छ भन्ने यकिन गर्न थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।
समग्र जोखिम भने कम
अनुसन्धानकर्ताहरूका अनुसार मानिसहरूले अत्यधिक तातो पेय पदार्थ पिउन छाडेमा अन्ननलीको क्यान्सरका करिब १० देखि २० प्रतिशत घटना रोक्न सकिने अनुमान गरिएको छ ।
अन्ननलीको स्क्वामस सेल क्यान्सर दुर्लभ प्रकारको क्यान्सर हो । बेलायतमा यसको जीवनकालीन जोखिम करिब १ प्रतिशत रहेको बताइएको छ ।
त्यसैले अत्यधिक तातो पेय पदार्थले जोखिम बढाउन सक्ने भए पनि यसकै कारण क्यान्सर हुने सम्भावना भने कम रहेको विशेषज्ञहरूले बताएका छन् ।
धूमपान र मदिरा सेवनजस्ता अन्य कारण अन्ननलीको क्यान्सरका लागि अझ महत्वपूर्ण जोखिम कारक हुन् । क्यान्सर रिसर्च यूकेकी फियोना ओग्सनले यस प्रकारको क्यान्सरको जोखिम घटाउन धूमपान नगर्नु र मदिरा सेवन कम गर्नु सबैभन्दा महत्वपूर्ण उपाय भएको बताइन् ।
अन्ननलीको क्यान्सरका लक्षणमा छाती वा घाँटीमा दुखाइ, अपच वा छाती पोल्ने, खाना निल्न समस्या तथा तौल घट्नु लगायतका समस्या देखिन सक्छन् ।नेपाल प्रेसबाट सभार ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै