संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै

    बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै

    संघारी न्युज
    १५ असोज २०८३
    333
    Shares

    बाँके । बाँकेमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी मिलापत्रमार्फत टुंग्याउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार साउन र भदौमा परेका १०८ उजुरीमध्ये १०४ वटा मिलापत्रबाट समाधान भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार धेरै प्रयास गर्दा पनि मिलापत्र हुन नसकेका उजुरीलाई मात्र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने गरिएको छ ।

    उहाँका अनुसार घरेलु हिंसासम्बन्धी उजुरीमा घरपरिवारभित्र हुने विवाद, झैझगडा तथा अन्य किसिमका हिंसाका घटना आउने गरेका छन् । उजुरीको प्रकृति र पीडितको अवस्थाका आधारमा मिलापत्रको प्रक्रिया अघि बढाउने वा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उहाँले बताउनुभयो ।

    प्रहरीका अनुसार साउनमा घरेलु हिंसाका ६३ वटा उजुरी परेकामा ६१ वटा मिलापत्रबाट टुंग्याइएको थियो । त्यस्तै, भदौमा परेका ४५ उजुरीमध्ये ४३ वटा मिलापत्रबाट समाधान गरिएको थियो । बाँकी उजुरीलाई आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

    यसैगरी, लुम्बिनी प्रदेशका १२ जिल्लामा भदौ महिनामा घरेलु हिंसासम्बन्धी २६१ वटा उजुरी परेको प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये कुटपिटसम्बन्धी १६१, गालीगलौज तथा झैझगडासम्बन्धी ९७ र आर्थिक हिंसासम्बन्धी तीन वटा उजुरी रहेका छन् ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार भदौमा परेका घरेलु हिंसाका उजुरीमध्ये ११६ वटा मिलापत्रबाट टुंग्याइएको र २३ वटा अदालत पठाइएको छ । त्यस्तै, २२ वटा उजुरी प्रक्रियामा रहेका छन् । घरेलु हिंसासम्बन्धी उजुरीमा पीडितको अवस्था, घटनाको प्रकृति र कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया अघि बढाउने गरिएको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com