संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    थारु गाउँबस्तीमा सखिया नाचको रौनक

    थारु गाउँबस्तीमा सखिया नाचको रौनक

    अविनाश चौधरी
    १ कार्तिक २०८०
    3.5k
    Shares

    धनगढी, १ कात्तिक । चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैं आउन थालेपछि कैलाली, कञ्चनपुरका थारुले आ–आफ्ना गाउँमा सखिया नाच नाच्न थालेका हुन् ।

    यो नाचको पैँयाले साँझपख थारु बस्ती गुल्जार बनिरहेको छ । धेरै वर्षको अन्तरालपछि आफ्नो गाउँमा पुनः सखिया नाच हुन थालेपछि हर्षोल्लास बढेको कैलारी गाउँपालिका–३ खोनपुरका सुजित चौधरीले जानकारी दिए ।

    “२०–२५ वर्षपछि गाउँमा सखिया नाच भइरहेको छ” उनले भने, “नाचले यो पटक गाउँ गुल्जार बनेको छ ।” सखिया नाच दसैं – तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । यो नाच मादल र मजिराको तालमा विभिन्न तरिकाले नाचिन्छ ।

    सखिया नाच्ने सिजनमा खेतीपातीको काम पनि हुनेगरेको छ । दिनभरी खेतमा काम गरेर थाकेका स्थानीयले साँझपख सखिया नाच हेरेर थकाइ मार्ने गरेका छन् । नाचको कारण गाउँमा रौनक थपिएको चौधरीले बताए ।

    साथीसङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको बताइन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात् साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो ।

    अहिले सबैजसो थारु गाउँमा राति सखिया नाच नाच्ने गरेको संस्कृतिप्रेमी सोम डेमनडौराको भनाइ छ । उनका अनुसार सखिया नाचमा विशेषगरी पैँया लाग्ने र कान्हाको कथासँग सम्बन्धित गीत गाउने गरिन्छ । सखियाको रौनक, प्रेम, सद्भाव, माया र सौहार्दता अत्यन्त प्रिय र आनन्द अनुभूति गराउने खालको हुने डेमनडौराको बुझाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com