संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

    जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

    संघारी न्युज
    ३ पुष २०८१
    1.5k
    Shares

    कैलाली । जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई आठ विकेटले पराजित गरेको हो। जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले दुई विकेटको क्षतिमा १८.३ ओभरमा सजिलै पूरा गरेको छ।

    सुदूरपश्चिमका लागि प्रारम्भिक ब्याटर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले ५५ बलमा तीन चौका र तीन छक्काको मद्दतले ५८ रन बनाए।

    त्यस्तै, सैफ जैबले ३२ रन बनाए। किशोर महतोको बलमा आउट हुनुअघि जैबले २१ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।

    सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले २५ रन बनाए। जनकपुरका ललित राजवंशीको बलमा आउट हुनुअघि म्याकमुलनले १९ बलमा एक चौका र एक छक्का प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए।

    जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले एक/एक विकेट लिए। अन्य बलर महंगा सावित भए।

    यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। जनकपुरका लागि जेम्स निशमले ४५, शुभ कंशकारले २६, लाहिरु मिलन्था र हर्ष थाकरले १२/१२ तथा आसिफ शेख र अरनिको यादवले ११/११ रन बनाए।

    सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले तीन, सैफ जैबले दुई, स्कट कुगेलिन र अविनाश बोहराले एक/एक विकेट लिए।

    यो जितसँगै सुदूरपश्चिम एनपीएलको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अब जनकपुरले फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

    आजै बिहान भएको खेलमा चितवनलाई हराउँदै कर्णाली याक्स ‘क्वालिफायर’मा पुगेको हो। अब फाइनलमा स्थान बनाउन बिहीबार मध्याह्न १२स्१५ बजे जनकपुर र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com