संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भुइँमान्छेको कथा

    भुइँमान्छेको कथा

    संघारी न्युज
    २४ माघ २०८२
    1.2k
    Shares

    जसको सर्वत्र चर्चा छ, आजकल

    चुनाव जो आएको छ !!!

    छन त उनीहरू हिजो पनि थिए

    चिच्याएका थिए, कराएका थिए

    निराश थिए, डराएका थिए

    आत्तिएका थिए

    तात्तिएका पनि थिए

    तर, हिजो चुनाव आएकै थिएन

    आज चुनाव आएको छ

    हिजो गाँसको आशमा गएकालाई

    दास देख्ने आँखाले आज

    त्यही मान्छेलाई खास देखेको छ

    हिजो जनताको दैलो टेक्न

    मैलो मान्ने खुट्टाहरू आज

    त्यहाँ टेक्न पहिलो हुने दौडमा छन्

    हिजो गुनासाका बुँदा सुन्ने

    कान नभएकाहरू आज

    मनोवाद लम्बेतान सुन्ने भएका छन्

    आज चुनाव आएको छ !!!

    तर भोलि चुनाव रहँदैन

    दैलो फेरि मैलो लाग्न थाल्छ

    खासहरू फेरि दास लाग्न थाल्छ

    जब सत्ताको नशा चढ्न थाल्छ नि हजुर

    आफू जस्तै मानिस पनि जिउँदो लास लाग्न थाल्छ

    भुइँमान्छेलाई थाहा छ

    उनीहरु त केवल उधारोका अंशियार हुन्

    नगदको ठेक्का अन्तै लागिसकेको हुन्छ

    चुनाव अघि बाजागाजा सहित आएका आश्वासन

    चुनाव पछि सुटुक्कै भागिसकेको हुन्छ

    भुइँमान्छेलाई थाहा छ

    थाहा छ सबै कुरा

    देखेको छ

    दशैंपछि बढारिएको जमरा

    सेलाइएको प्रतिमा

    अनि

    निकालिएको पीङ

    नयाँ शब्दमा पुरानै नारा

    नयाँ चेहरा पुरानै पारा

    तर पनि

    जसको केही हुँदैन

    उसको हुने आश मात्र हो

    सधैं झैं

    ऊ आज फेरि उत्साहित छ

    अंकगणितको आफ्नो काम गर्न

    केही फरक भइहाले केही पाइहाल्छ

    नत्र फेरि अर्को चुनाव त आइहाल्छ !!! अनलाईखबरबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com