संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दाइजोको निहुँमा युवतीको मृत्यु

    दाइजोको निहुँमा युवतीको मृत्यु

    संघारी न्युज
    ८ भाद्र २०८३
    396
    Shares

    महोत्तरी । विवाह भएको दुई महिना नपुग्दै दाइजोको निहुँमा ससुराली पक्षले दिएको यातनाका कारण महोत्तरीमा एक युवतीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ मा भारतको सुरसण्ड निवासी २२ वर्षीया शिवानी राउतको मृत्यु भएको हो।

    मृतककी आमा रुवी देवीले दाइजोमा मोटरसाइकल, सुनलगायतका थप सामग्री नदिएको भन्दै ससुराली पक्षले छोरीलाई शारीरिक तथा मानसिक यातना दिने गरेको र सोही कारण छोरीको मृत्यु भएको आरोप लगाए ।

    महोत्तरीको जलेश्वर नगरपालिका–८, रमौलस्थित आफ्नो मामाघरमा मुण्डन कार्यक्रममा सहभागी हुन आएकी रुवी छोरी शिवानीलाई भेट्न उनको ससुराली पिपरा पुगेका थियो। भेटका क्रममा छोरीले दाइजोमा मोटरसाइकल र सुन नदिएको भन्दै ससुराली पक्षले आफूलाई मानसिक तथा शारीरिक यातना दिने गरेको रुवीले बताईन् ।

    आफूले छोरी शिवानीलाई पनि मुण्डन कार्यक्रममा सहभागी हुन पठाइदिन ससुराली पक्षसँग आग्रह गर्दा मोटरसाइकल तथा सुन नदिएसम्म कतै जान नदिने जवाफ दिएको रुवीले बताइन् । “दिउँसो करिब २ बजे छोरीलाई भेटेर म त्यहाँबाट आएँ। चार घण्टापछि साँझ छोरीको मृत्यु भएको खबर पाएँ,” उनले भने ।

    तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुग्दा छोरीको घाँटीमा निलडाम देखिएको थियो । रुवीले ससुराली पक्षले घाँटी थिचेर हत्या गरेको आरोप लगाईन् । उनले सोही आरोपमा ससुराली पक्षका चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएका छन् ।

    जाहेरीमा मृतकका पति सजन राउत, देवरद्वय प्रेम राउत र निराजन राउत तथा सासू नूतन देवीलाई विपक्षी बनाइएको छ।

    जाहेरीअनुसार शिवानीको विवाह सजन राउतसँग २०८३ साल असार १६ गते भएको थियो। विवाहका क्रममा आफ्नो क्षमताअनुसार दाइजो तथा अन्य सामग्री दिएको भए पनि विवाहपछि विपक्षीहरूले सुनसहित थप दाइजो र मोटरसाइकल माग गर्दै छोरीलाई पटक–पटक शारीरिक तथा मानसिक यातना दिने गरेको आरोप जाहेरीमा उल्लेख छ।

    मृतक शिवानीका मामा जलेश्वर नगरपालिका–८ का दिपुकुमार कापरले भदौ ४ गते राति करिब ७ बजे शिवानीले आफूलाई श्रीमान्, सासू तथा देवरहरूले मोटरसाइकल ल्याउन दबाब दिँदै घाँटी दबाउने, कुटपिट गर्ने तथा मानसिक यातना दिने गरेको बताएको जानकारी उल्लेख गरिएको छ । उनले दाइजोकै कारण शिवानीको मृत्यु भएको दाबी गरेका छन् ।

    कापरका अनुसार ससुराली पक्षले शिवानीले झुन्डिएर आत्महत्या गरेको बताएको भए पनि आफूहरूले शवको अवस्था हेर्दा शंका लागेको छ। शवको पोस्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा नगराई थप परीक्षणका लागि धरान अस्पताल पठाइएको छ ।

    जाहेरीमा शिवानीले दाइजो तथा मोटरसाइकलका लागि निरन्तर शारीरिक र मानसिक यातना सहनुपरेको र सोही कारण आत्महत्या गर्न बाध्य भएको आरोप लगाइएको छ। प्रहरीले उक्त घटनामा पति र सासूसहित तीन जनालाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com