उन्नती चौधरी
थारु समुदायमा डसिया (दशैं)को आफ्नै विशेषता र मौलिकपन छ । समान्यतया डसिया र दशैं एउटै पर्वकोरुपमा लिने गरिन्छ तर हाम्रा अग्रज लेखकहरुले भने डसिया र दशैं एउटै नभएको बताउँछन् । दशैं पर्वको लागि क्यालेन्डरमा तीथि मिति जुडाइएको हुन्छ तर डसिया पर्व प्रकृतीको हिसावले तीथि मिलाएको हुन्छ । पहिला पहिला थारु समुदायमा डसियाको चहलपल असोजको पहिलो ओजरियाको देस्रो दिनदेखि शुरु हुन्थ्यो । त्यो चलन अहिलेपनि कहि न कहि लागु हुन्छ । क्यालेन्डरको तीथि अनुसार पहिलो ओजरियामा (जुन देखिएको) घटस्थापना पर्छ । जुन दिन गैर थारु समुदायले जमरा राख्ने गर्दछन् । तर थारुहरुले दोस्रो दिन मात्रै जमरा राख्ने चलन छ । थारु समुदायमा दुतिया (जुन) नहेरि जमरा राख्नु हुदैन भन्ने मान्यता छ । दशियामा दहित थर भएका थारुहरुले भने एकदिन अगाडी अर्थात घटस्थनपनाकै दिन जमरा राख्छन् । यो पहिलैदेखि नै चल्दै आएको चलन हो ।
डशिया आउन हप्ता दिन अगाडीदेखि नै थारु महिलाहरु कामको जिम्मेवारी बाँडफाँड गरिसक्छन् । वर्षातको पानीले घर आगन सबै भट्काई दिएको हुन्छ जुन कारण कारण थारु महिलाहरु पुरै समय घर आँगन लिपपोटमा विताउँछन् ।
महिलाहरु विशेष गरि जुन देखिएको सप्तमीकों दिन घर आंगन सरसफाई अनिवार्यरुपले गर्ने गर्दछन् । देवथान लिपपोट गर्ने, देउता नुहाउने, पिठो पिसाउने, पैनसटोपी (ढिकरी पकाउने भाडा) धुनुपर्ने हुन्छ । त्यो दिन स्वर्गिय भएका पुर्खाहरुलाई पाटाबाट निम्तो गर्ने गर्दछन् । अष्टमीको दिन साँझा आफ्नो देवतालाई ढिकरी चढाउनको लागि महिलाहरु अन्न नखाईकन पुजा सामाग्री बनाउँछन् । थारु समुदायमा डसियाको पुजा सामाग्री भनेको ढिकरी नै हो । त्यो दिन स्वर्गिय भएका पुर्खाहरुलाई सम्झेर ढिकरीकै विभिन्न चित्रहरु बनाउँछन् । जस्तै काठीक बोझ (डाउराको भारी), पौवा –चप्पल), बाती (बत्ति अर्थात दियो) धकिया, डेंगा लगायत हुन्छ ।
नवमीमा विहानै कुखुराको बलि दिन्छन् । यो दिन पनि महिलाहरु घरमा ७ खाले परिकारहरु पकाउँछन् । जस्तै सिढरा माछा, ठुसा (समुरोको गेडा भिजाएर पाकाउने) पवयको साग, मासु, आलु लगायतका तरकारीहरु हुन्छ । यी सबै परिकार लिएर गाउँ भन्दा दक्षिणको खोला, तलाउ वा नदीमा गई सामुहिकरुपले स्वर्गिय पुर्खाहरुलाई पुनः पितृ पठाउन (विदाई) गर्ने चलन छ ।
डसियामा बेबरी फुल अनिवार्य
थारु गाउँमा डसिया (दशैं)को बेला देवताको पातामा चढाउने सबै सामान नयाँ प्रयोग हुन्छ । डसियामा चढाउने सामान बेटको लठ्ठी, बहर्नी (सिरुको कुचो), झोला, फलामको काँटा, माटाका घोडा, दियो आदि हुन्छ । डसियामा पुजा गर्दा देवतालाई बेबरी फुल अनिवार्य चढाउछन् । घरमा छैन भने कहिबाट खोजेरपनि देवतालाई जमरासंगै बेबरी फुल चढाउने चलन छ । घरमा विषलु किरा फट्यांग्रा, सर्पहरु ढपाउनकोलागि पनि बेबरी फूल प्रयोग गरिएको पुर्खाहरुको तर्क छ । बेबरी फुलको सुगन्ध एकदमै बास्नदार हुन्छ ।
डसियामा कुपिण्डो बली
थारु समुदायमा जीवजनावरको बध गरेर देवतालाई बली चढाइदैन । घरबारीमै फलेको कुपिण्डोको बलीदिने प्रचलन छ । अद्यापि धेरै गाउँमा कुपिण्डोकै बली दिइन्छ । दशैंको पूजा गर्नुअघि बारीमा फलेको कुपिण्डो खाने प्रचलन छैन । पूजा गरेपछि मात्रै तरकारीकोरुपमा खानेगरिन्छ । कुखुराको बलि दिनु पुर्व कुपिण्डो काट्ने चलन छ । ढिकरी पुज्ने दिन अर्थात अष्टमीको दिन साँझा कुपिण्डोमा चार सिन्को गोभेर भेडाको अकार दिन्छन् र विहान शुरुमै त्यही कुपिण्डो चढाउने चलन छ । डसिया (दशैं) एक एर्काबिचको नजिकपन, माया स्नह र सम्बन्ध जोड्ने संगमकोरुपमा लिने गरिन्छ ।
डसिया (दशैं) पूजा प्रकृतिसँग जोडिएको छ । धर्मशास्त्रीको विचारमा पृथ्वीका सबै जीवजन्तु बरावर हुन् । सबैको पीडा र दुःख समान छ । एकले अर्कोलाई मारेर, बधगरेर आफनो स्वार्थ पूरागर्नु सेवा होइन, कल्याण होइन । मानवले बनाएको त्यो त स्वार्थी भावना हो । त्यसले कहिल्यै चराचरजगतको कल्याण गर्दैन । शक्तिकी स्वरुप जगतमाताले बली मागेकी थिइनन् । मानिसको स्वार्थ र अज्ञानताले बलीदिने प्रचलन शुरु भएको विज्ञहरुको बुझाई छ ।
यसको दोषी हामी मानव स्वयम् हौं । शास्त्रीय मान्यतामा बली को अर्थ उपहार हुन्छ । उपहारमा खीर, फलफूल, मिठाई, नरिवल, ढिक्री जेपनि हुनसक्छ । तर हामी मानबलाई जनावरकै बलिदिन आत्तिन्छौं । त्यसैले यस्ता सोचको परिवर्तन गर्न अति नै जरुरी देखिन्छ ।
भगवानको पूजागर्ने अधिकार धनी र गरिब सबैलाई समान छ । जोसँग जे छ, उसले त्यही उपहार देवतालाई चढाउन पाउँछ । उहिले मानिस जंगलमा घुम्थे । शिकार गरी जीवन निर्वाह गर्दथे । माछा मारेर जीवनगुजारा गर्दथे । त्यतिबेला उनीहरुको जीवन प्रकृतिमै निर्भर थियो । माछामारेर जीवन धान्नेसँग माछामात्रै थियो । वनजंगलमा शिकार गर्नेसँग शिकार मात्रै र अन्न उब्जाउने किसानसँग अन्नमात्रै थियो । त्यसैले उनीहरु भगवानलाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गर्थे । तर आज पनि त्यहि चिजवस्तु चढाउनुपर्ने भन्ने कुरा कहि उल्लेख गरिएको छैन । त्यसैले देवीदेवतालाई बली चढाउने प्रचलन त्याग्नु पर्छ भन्ने मान्यता हामी सबैमा हुनुपर्छ ।
दशैंमा सेतो टीका
थारु मसुदायमा सेतो रंगलाई प्राकृतिक रङको रुपमा लिने गर्दछन् । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोज अनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रंगभन्दा त्यही कृतिम अन्य रङले रंगिइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरंगी बनेको छ । चाडपर्वमा विभिन्न रंगीन चिजवस्तुको निर्माण र खपत हुन्छ ।
यहाँसम्मकी मान्छेले चाडपर्वमा लगाउने टीकाको रङ पनि विभिन्न रङ मिसाएर बनाउन थालिसके । जसले गर्दा थारुहरु पनि पछिल्लो अवस्थामा रंगिन टीका प्रति आकर्षित भएका हुन् । साथी भाईलाई टीका लाउने क्रममा आफ्नो रोजाई अनुरुप टीका ग्रहण गर्दछन् ।
थारु समुदायले डसिया (दशैं)मा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । देवतालाई पनि सोतो टीका नै चढाउछन् । त्यो टीका चामलको पीठोबाट बनाइन्छ । टीकासहित जमरा, बेबरी फूल ग्रहण गर्छन् । अरुबेला दौनाबेबरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले डसिया (दशैं)मा टीकासँगै विशेषरुपले दौनाबेबरीको फूल ग्रहण गर्छन् ।
पुर्खौली चलन अनुसार डसियाको टिका निधारमा मात्रै होईन । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन् । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलियो होस् भन्ने मनोकामना गरिन्छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै