कञ्चनपुर, ३ मंसिर । आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए ।
जिल्लाका एक सय ३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि कञ्चनपुरमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका छन् । “चुनावका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, सीमा नाका सिल गरिएको छ”, प्रहरी उपरीक्षक चौधरीले भने, “सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् ।” निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए ।
उनका अनुसार एक हजारभन्दा बढी प्रहरी र प्रहरीको सहायताका लागि एक हजार सात सय म्यादी प्रहरी परिचालन भएका छन् । “तीन घेरामा सुरक्षा प्रवर्द्धन मिलाइएको छ, पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र र त्यसभन्दा बाहिर सेनाले सुरक्षा दिनेछन्”, प्रहरी उपरीक्षक चौधरीले भने । मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरी संयुक्त सुरक्षा योजना लागू गरेको छ ।
“तत्काल त्यस्तो सुरक्षा चुनौती खासै छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौँ”, उनले भने, “बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौँ ।” प्रतिनिधिसभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कुल तीन लाख दुई हजार पाँच सय नौ मतदाता छन् । क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् ।
कञ्चनपुरमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए । कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार कञ्चनपुर र भीमदत्त नगरपालिकामा गरेर दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै