शिव उप्रेती
गोरखा बजारको एउटा कुनामा सुनेवतीको डेरा छ। घर यसै असुरक्षित, एक हात चौडा पिँढी र मुस्किलले दुई हात फराकिलो आँगनमा टेकेर उभिएको जीर्ण टहरो। अर्थात् उनको रात काट्ने थलो। साहुले छाडेको यस घरमा सुनेवती, ९ वर्षकी बहिनी र आमामात्र त्यहाँ बास गर्छन्।
उमेरले १३ पुगे पनि उनी कक्षा ५ मा पढ्छिन्। खै किन हो, सानैदेखि बहिनी र उनी भिन्दाभिन्दै स्कुलमा पढ्छन्। पढ्छिन् पनि के भन्ने, दसैंपछि स्कुलमा पाइला राखेकै छैनन्। दुई महिना गयल भएपछि अब कुन मुख देखाउन जाने स्कुल। यसै अरू साथीभन्दा ठूली, त्यसमाथि पनि गयल भएको दुई महिना बितिसक्यो। वैशाखमै उनले ‘कक्षा फड्किएर पढ्न पाइन्छ कि पाइँदैन’, भनेर मनले खाने मिसलाई सोधेकी थिइन्। उनको जस्तो लबस्तरो पढाइ भएकाले कक्षा फड्किन नमिल्ने उत्तरले नाजवाफ भएकी थिइन्।
तीजका बेला भएको घटनालाई त पैतालामुनि राखेकै थिइन्, तर जब भाइटीकाको दिन पनि त्यस्तै घटना दोहोरियो। उनलाई लाग्यो, ‘यसपाल त पक्कै पनि सर मिसले पनि थाहा पाइसके होलान्।’ त्यसैले उनले स्कुल जान छाडिन्। स्कुल मात्र छाडिनन्, डेरा पनि छाडिन्, आमालाई पनि छाडिन्। अचेल उनी फुपूको डेरामा काम सघाएर बस्छिन्। ‘त्यसको घर बाटैमा छ। स्कुल जाँदा आउँदा समात्छ कि भनेर झस्याङ–झस्याङ हुन्छु त्यसैले घरबाटै निस्किन मन लाग्दैन’, उनी भन्छिन्। ‘त्यो’ उनलाई राक्षसजस्तै भयावह लाग्छ।
गत जेठदेखि हो, उनी त्यसको हिंसामा पर्न थालेको। ‘नआइज भन्दा’नि नटेरी–नटेरी कोठामा आउँछ। रातभरि चलेर बस्छ। आए’नि रक्सी नखाई आए त हुन्थ्यो’, सुनेवतीले एक श्वासमा भनिन्, ‘रक्सीले मातेर मलाई जथाभावी गर्छ, जहाँ पायो त्यहीँ चलाउँछ। चिमोटेर हैरान पार्छ, कोठामा ढड्याङढुडुङ गर्छ। कहिले दुई हजार, कहिले पाँच हजार दिन्छ। चाहिँदैन तेरो पैसा। तेरै स्वास्नी, छोराछोरीले पनि दुःख पाएका छन्। तेरै छोराछोरीलाई दे भन्छु, मान्दैन।’ बाउको उमेरको परपुरुष सधैं रात काट्न आउँदा उनको डरको सीमा हुँदैन, तर भन्ने कसलाई रु उमेर सानो छ, त्यसैले उसको गतिविधि मन पर्दैन तर चुपचाप सहनुपर्छ, हल्ला गरुँ भने बाहिरकाले थाहा पाउँछन्, आफ्नै बेइज्जत हुन्छ।
उनी उसको छोरीकै उमेरकी हुन्। ऊ करिब–करिब ४० वर्ष पुगेको सुनेवतीलाई अड्कल छ। ‘सधैं रातिराति आमा भएको ठाउँमा रक्सी खान आउँछ। अनि आमालाई छोडेर मेरो कोठामा आउँछ’, उनी भन्छिन्, ‘एक दिन होइन, दुई दिन होइन, सधंै। तीजको बेलामा मैले उसको छोरालाई सबै कुरा सुनाइदिएँ, ‘तेरो बाउ त सधैं रातिराति हाम्रो घरमा आउँछ, यसोयसो गर्छ, तह लगा’ भनेर।’ त्यसपछि उसको घरझगडा भयो। दुई पक्षबीच गोप्य खालको कचहरी बस्यो। अबदेखि यसो गर्दिनँ भनेर उसले माफी माग्यो।’
आमा निदाएपछि ऊ उनको कोठामा लर्खराउँदै पुग्थ्यो। उनी आजित भइन्। अचेल उनी त्यो मान्छे र आमा दुवैजना राक्षस झैँ भयानक लाग्छन्। दुवैजना देखेर भयभीत हुन्छिन्। ‘यस्तो समस्या कसलाई भनुँ, कसलाई सुनाउँ’, शब्दैपिच्छे सुनेवतीको आँसुका डल्ला गालाको बाटो गुडुल्किन्छन्, ‘अति भएपछि एकदिन मैले सलको पासो लगाएँ। बलोमा फेर लगाएँ तर भाइ र बहिनी सम्झिएँ। बेस्सरी रोएँ। अनि अब यो घरमै बस्दिनँ भनेर फुपूको घरमा आएँ।’ उनी मात्र गइनन्, बहिनी पनि उनको पछि लागेर गइन्।
उनको उपस्थिति फुपूलाई सजिलो लाग्दैन भन्ने कुरा राम्ररी थाहा थियो, किनभने आमा र फुपूको सम्बन्ध सुमधुर थिएन। त्यसमाथि बहिनी पनि थपिँदा झन् बोझ बढ्ने नै भयो। फुपूको घरमा बस्न आए पनि सुनेवतीले त्यो परपुरुषको डर, धाक, धम्कीबाट मुक्ति पाइनन्। ‘अत्ति भयो भनेर मान्छे बटुलें। कचहरी बस्यो। पुलिसमा उजुरी दिन्छु भनेर थर्काएँ। राति अबेरसम्म गाउँ समाजले अब एकफेरका लागि माफी दिन भने। सुनेवती त पटक्कै मानेकी थिइन्। तर सबै मान्नेगुन्नेले सम्झाइबुझाइ गरिहाले भनेर माफी मगाएर छोडियो’, उनी भन्छिन्।
समाजले गरेको छिनोफानोले उनको मन भारी भयो, किनभने समाजको निसाफ बालिकामैत्री नभै पुरुषमैत्री भयो। ‘मैले त पुलिस बोलाएर समातेर थुन्दिम् भनेको हो, कोही पनि मानेनन्। थुनेकै हेर्न चाहन्छु’, उनको गुनासो छ। आमाले दिन नसकेको निसाफ फुपूले दिइन् तर यो निसाफले उनको आत्मालाई कोक्याइरहेको छ। त्यसदिनदेखि ऊ त आउन छाड्यो तर सुनेवतीलाई घरबाट बाहिर निस्कन भने झन् गाह्रो भयो। उनी न घरमा पुनस्र्थापित हुन सकिन्, न समाजमा।
घरको अभिभावक बिग्रे भने जहान परिवारले दुःख पाउँछन् भन्छिन्, फुपू। ‘यहाँ नङमा लाउने माटो पनि छैन। पेट पाल्ने बाटो पनि छैन। बिहेको गहना बेचेर सुँगुर पाल्न थालें, अलिअलि कमाइ हुन थाल्यो’, फुपू भन्छिन्, ‘त्यसपछि त्यो सुनेवतीको खलक हामी नि आउँछौं भन्न थाले। दुःख गरेर खाने हो भनेर बोलाएँ। तर, सुनेवतीको आमाले कामको लय समातिन। पिएर लतारिन थालेपछि निकाल्दिएको हो।’ त्यसपछि सम्बन्ध राम्रो छैन।
फुपूसित टाढिए पनि सुनेवतीकी आमाले निर्माणको काममा ज्याला मजदुरी गरेर पेट पाल्ने काम सुरु गरिन्। बचेको पैसाले रक्सी खाने लत बस्यो। दिनभरि कमाउने रातभरि रमाउने अभ्यासमा लीन हुन थालिन्, सन्तानतिर ध्यान दिइनन्। उनले नदिएपछि ध्यान अरूले नै दिन थाले। उनका श्रीमान् पनि सुरुसुरुमा दिनभरि कमाउने, रातभरि रमाउने गर्थे। पछि कमाउन छोडेर बिहानैदेखि रमाउन मात्र थाले। उनको र परिवारको जीवन सुध्रिने आशामा आफन्तजनले उनलाई सुधार केन्द्रमा पुर्याए। अहिले उनी सुधार केन्द्रमै छन्।
उता उनी सुधार हुँदै होलान्, यता परिवारको अवस्था भने उनले नै कोरेको बाटोमा छ। ‘घरको मुली भनेको आमा हो। आमा बिग्रिई भने सन्तानले दुःख पाउँछन् भनेको यही हो’, उनी भन्छिन्, ‘आमा पनि रक्सी खाएर मात्तिने, बाहिरबाट अर्काको लोग्ने आउने, आफू पनि बिग्रिने, छोरीहरूलाई पनि बिगार्ने ।।।। आफ्नै घर परिवार पाल्न धौ—धौ छ, मैले पनि कसरी पाल्ने तिनीहरूलाई। यहाँ पनि नआइज भनुँ भने बहक्किएर कता जालान्। बिचल्ली भो।’ पछि थाहा भो, उनी फुपूको घरमा पनि छैनन्। अन्नपुर्णबाट । (गोपनीयताका कारण वास्तविक नाम सुरक्षित राखिएको।)
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै