संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राना थारु समुदायमा होरी पर्वमा देखिएको त्यो दृश्य

    राना थारु समुदायमा होरी पर्वमा देखिएको त्यो दृश्य

    संघारी न्युज
    २५ फाल्गुन २०७९
    1.5k
    Shares

    धनगढी, २५ फागुन । मौलिक पहिरनमा सजिएर राना थारु समुदायका यूवा यूवतिहरु होरीको नाच नाच्दै गाउँलाई चैनार बनाएका छन् । उनीहरुको नाच हेर्न भलमन्साको घरमा भद्रभलाद्मीको बाक्लो उपस्थिति थियो । खाट र भुइँमा बसेर होरी नृत्यको मजा लिदैं थिए, गाउँवासी । राना थारु समुदायको होरी पर्वको अवसरमा देखिएको दृश्य थियो ।

    कैलाली, कञ्चनपुरमा बसोबास रहेको राना थारु गाउँ अहिले होरीमय छ । होरी पर्वको अवसरमा नाचिने होरी नाचले रौनकता थपेको छ । होलीको चीर दहनपछि राना थारु समुदायका मानिस ‘मरी होरी’ अर्थात मृत होरी पर्व मनाउने चरणमा पुगेका छन् ।

    ‘मरी होरी अब आठ दिनसम्म चल्छ’, धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका भलमन्सा भज्जी रानाले भने, ‘खख्डेहरा फुटाएरमात्रै होरी पर्वको समापन हुन्छ ।’ आउने मङ्गलबार खख्डेहरा फुटाउने दिन परेको उनले बताए । मरी होरीको क्रममा भलमन्सासहित अन्य व्यक्तिको घरमा गएर दिउँसो होरी नाच नाच्ने चलन रहेको भलमन्सा रानाको भनाइ छ ।

    घर-घरमा गएर होरी नाच नाच्नेलाई मिठो–मिठो पकाएर खुवाउने चलन रहेको छ ।

    यो समुदायको होरी पर्व माघ पूर्णिमाबाट सुरु भएको थियो । एक महिना आठ दिनसम्म मनाइने होरी राना थारुको सबैभन्दा ठूलो पर्व हो । माघ पूर्णिमादेखि चीर दहनसम्म ‘जिन्दा होरी’, अर्थात जिउँदो होरी मनाउने गरिन्छ । यो बेला रातिको समय होरी नाच नाच्ने चलन रहेको बताइएको छ ।

    मरी होरी सुरु भएपछि भने दिउँसो होरी नाच नाच्ने गरिन्छ । यो अवधिमा आफ्ना आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोजभतेर गर्ने चलन रहेको छ । जसलाई ‘हट्कना’ भन्ने गरिन्छ । हट्कनामा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासु, भातसहितका मिठा–मिठा पाकवान खुवाउने चलन रहेको छ ।

    होरीको अन्तिम दिनमा खख्डेहरा फुटाउने गरिन्छ । खख्डेहरा होरी पर्वको सबैभन्दा महत्वपूर्ण दिन हो । यो दिन सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिदैं आएको छ । खख्डेहरापछि औपचारिक रुपमा होरी पर्व समापन हुने गरेपनि अनौपचारिक रुपमा भने चराँई पर्वसम्म होरी खेलिने गरेको राना थारु संस्कृतिका जानकार नारायण राना बताउँछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com