संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कर्णाली पुल एक सातापछि सञ्चालन

    कर्णाली पुल एक सातापछि सञ्चालन

    संघारी न्युज
    ६ चैत्र २०८०
    1.5k
    Shares

    कैलाली । एक ट्रकमा भएको आगलागीका कारण अवरुद्ध भएको कर्णाली पुल एक सातापछि सञ्चालनमा आएको छ । पुलमा भएको क्षतिको अनुमगन तथा एकातर्फको स्ल्याब मर्मत गरिएपछि एकतर्फी रूपमा पुल सञ्चालनमा ल्याइएको हो ।

    पुलसम्बन्धी विज्ञ टोलीले आगलागीबाट धेरै ठुलो क्षति नभएकाले सवारीसाधन चलाउन सकिने निष्कर्ष निकालेको छ । पुलमा एउटा मात्रै हेभी गाडी गुड्न पाउने गरी आवागमन भइरहेको छ ।

    लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले पुलको केबुलमा धेरै ठुलो क्षति नपुगेको निष्कर्षपछि सञ्चालनमा ल्याइएको बताउनुभयो । “केबुलमा राखिएको प्लास्टिकमात्रै जलेको रहेछ”, उहाँले भन्नुभयो, “प्राविधिक टोलीले सवारीसाधन चलाउन सकिने निर्णय गरेको हो । पुलमा एउटा मात्रै गाडी गुड्न पाउने गरी आवागमन भइरहेको छ ।” वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको ना. ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि लागेको आगो दन्केर पुलमा पनि सल्केको थियो । पुलमा आगलागी भएपछि बर्दियाको राजापुर हुँदै, सत्ती, टीकापुर, लम्की भएर वैकल्पिक रूपमा सवारीसाधन सञ्चालन गरिएको थियो ।

    पुल सञ्चालनपछि सवारीसाधन पहिलेकै रुटबाट चलाइएका छन् । आगलागीबाट पुलको स्ल्याबमा पनि क्षति भएको छ । क्षति भएको पुलको उत्तरतर्फको सल्याबलाई सडक डिभिजनले मर्मत गरेको छ । दक्षिणतिर भने मर्मत गर्न बाँकी छ । स्ल्याब मर्मतका लागि ल्याइएका पाँच वटै मेसिन बिग्रेकाले दक्षिणतर्फको भागमा मर्मत हुन नसकेको शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुलको कङ्क्रिट धेरै कडा भएकाले मेसिन नै बिग्रियो । मेसिन मर्मतपछि अब बाँकी काम अगाडि बढ्ने छ ।”

    कर्णाली पुल सन् १९९३ मा बनेको हो । यो पुल बनेपछि मात्रै कर्णाली नदीपारिका भूभागसँग सुदूरपश्चिम जोडिएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com