संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रदेशकै ठूलो चिस्यान केन्द्र ऋणको बोझले लिलामी हुने अवस्थामा

    प्रदेशकै ठूलो चिस्यान केन्द्र ऋणको बोझले लिलामी हुने अवस्थामा

    संघारी न्युज
    ५ बैशाख २०८१
    1.2k
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा आएको हो ।

    किसानको आवश्यकतालाई मध्यनजर गर्दै घोडाघोडी नगरपालिका १० मा २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै ठूलो चिस्यान केन्द्र स्थापना गरिएको थियो । रिज्म परियोजनाको एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र २० करोड बढी लगानीमा तयार गरिएको हो ।

    अहिले आफ्नै ऋणसमेत तिर्न नसक्दा उक्त चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । चिस्यान केन्द्रलाई २० करोड बढी ऋण रहेको सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए । “बैंकमा मात्रै १६ करोड ४४ लाख ऋण छ अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी २० करोड बढी पुुग्छ”, उनले भने, “सरकारले अनुदान पनि दिएन, अहिलेसम्म किसानकै पैसाबाट चिस्यान केन्द्र चलिरहेको छ ।”

    रावतका अनुुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा दुई पटकसम्म रातो किताबमा चिस्यान केन्द्रका लागि भन्दै नौ करोड ९० लाख राखेको थियो । चिस्यान केन्द्र सुरु भएकै वर्ष यहाँ तीन हजार चार सय ५३ किसानले आफ्नो उत्पादन राखेका थिए । अहिले छ हजार बढी किसानले उत्पादन गरेका वस्तु राखेका छन् । कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकासम्मका किसान यस चिस्यान केन्द्रबाट लाभान्वित छन् ।

    लाभान्वित किसानको सङ्ख्या बढ्दो अवस्थामा छ । तर आर्थिक सङ्कटका कारण बन्द गर्नुपर्नेसम्मको स्थिति आउँदा उनीहरु चिन्तित छन् । “चिस्यान केन्द्र भएर निकै सहज भएको छ”, कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बीउ भण्डारण गर्न आएका किसान रामु चौधरीले भने, “यस पटक वर्षभरि घरमा खानलाई राखेर बेचेको पनि छुु, तर बन्द हुुने अवस्थामा स्टोर छ, हामी किसानले कसरी जीविकोपार्जन गर्ने ?”

    चिस्यान केन्द्र भएपछि नै व्यावसायिक हिसाबले खेती सुरु गरेको बताउँदै भण्डारण गर्न आएका अर्का किसान प्यारेलालाल चौधरी भन्छन्, “सिजन सकिएपछि आफैँले घरमा खानलाई र पछि राम्रै बजार मूल्य पाएका बेला बेच्नलाई हामीजस्ता किसानलाई फाइदा पुगेको थियो तर आर्थिक अभावका कारण चिस्यान केन्द्र बन्द हुुने अवस्थामा छ यसलाई जोगाउनुपर्छ ।” चिस्यान केन्द्रमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोभी राख्न मिल्ने बनाइएको छ । विद्युत प्राधिकरणको बिलसमेत तिर्न नसकेपछि पटक पटक विद्युत काट्ने गरेकोे शेयर सदस्य राजेन्द्र देवकोटाले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com