कञ्चनपुर । पूर्वमा जोगबुडा नदी पश्चिमपट्टि भारत उत्तर प्रदेशको पिलिभित जिल्लाको बोदीपुर गाउँ । खेतको साँध भारतसँगै जोडिएको छ । एकान्त कुनामा रहेको यो ठाउँ दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने जोगबुडा नदी किनारको १८ नम्बर बस्ती हो । त्यहाँ ७ परिवारको मात्रै बसोबास छ ।
केही वर्षअघिसम्म यो बस्ती पूर्ण रूपमा भारततर्फै निर्भर थियो । यहाँका बासिन्दा किनमेलदेखि औषधि उपचारका लागि भारतकै भर पर्थे । बारीमा उत्पादन भएको साग, तरकारी पनि भारतीय बजारमै बिक्री गर्थे ।
अहिले बस्तीको अवस्था फेरिएको छ । जोगबुडा नदीमा झोलुंगे पुल निर्माणपछि किनमेलदेखि औषधि उपचार र कृषिजन्य उत्पादन बेच्न दोधारा चाँदनीमै तथा महेन्द्रनगर बजारसम्म पुग्न थालेका छन् । ‘तरकारी झोलुंगे पुलबाटै लैजान्छौं । धान, गहुँ नदीमा पानी घटेपछि हिउँदमा मात्रै लैजान सकिन्छ,’ १८ नं. बस्तीका दिलबहादुर राना क्षेत्रीले भने, ‘यसपटक जोगबुडाले कटान गरेर बस्ती नै जोखिममा छ ।’
असार अन्तिम साताको भीषण वर्षापछि आएको बाढीले उक्त क्षेत्रको झोलुंगे पुलसमेत जोखिममा परेको छ । विभिन्न संघसंस्था र वडा कार्यालयको सहयोगमा कटान रोकथामका लागि अस्थायी तटबन्ध निर्माण गरिए पनि यस पटकको जस्तै बाढी आए पुलसँगै बस्तीसमेत बगाउने जोखिम रहेको स्थानीय बताउँछन् । यहाँ धान, गहुँ र उखुसँगै बेमौसमी तरकारी खेती पनि गरिन्छ । अहिले मुला, भान्टालगायत तरकारी दोधारा चाँदनीका मुख्य बजार बाबाथान र चाँदनीमा बिक्री भइरहेको छ । बढी उत्पादन भएका बेला महेन्द्रनगरसम्म पुर्याउने गरेको क्षेत्रीले बताए ।
यहाँका युवा रोजगारीका लागि भारत पसेका छन् । उनीहरू दिल्ली, गुजरात र मुम्बई लगायतका ठाउँमा रोजगारी गर्छन् । यहाँ रहेका १७ युवामध्ये एकरदुई जना मात्रै गाउँमै खेतीपाती गर्छन् । अन्य घरमा भने महिला र वृद्धवृद्धाले खेतीपाती गर्छन् । यसैका भरमा उनीहरूले घरव्यवहार चलाएका छन् । बस्तीमा दुई दशकअघिसम्म करिब ४० परिवारको बसोबास थियो । जोगबुडा नदीले धार परिवर्तन गर्दै जमिन कटान गर्न थालेपछि स्थानीय विस्थापित हुन थालेका हुन् । उनीहरू जोबगुडा पारि पुगेका छन् । ‘खोलाले जमिन काट्दै गएपछि परिवार घट्दै गए, अब हामी थोरै मात्रै वारि रह्यौं,’ स्थानीय मायादेवी सुनारले भनिन्, ‘धेरै परिवार नदी पारि गइहाले, अचेल उतै बस्न थालेका छन् ।’
असार अन्तिम साता र भदौ अन्तिम साताको बाढीले यसपटक पनि उखु खेत पुरै पटान गरेको छ । घर भएको अग्लो ठाउँमा मात्रै बाढी पसेन । तर नदी कटानका कारण निरन्तर बस्ती जोखिममा रहेको छ । उक्त क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन सके मात्रै बस्ती जोगिने स्थानीय बताउँछन् ।
दोधारा चाँदनी–१० कै जोगबुडा पारिको कुतियाकभर पनि उच्च जोखिममा छ । यहाँ ३५ परिवारको बसोबास छ । यस पटकको बाढीले कुतियाकभरमा पनि खेतीयोग्य जमिन बाढीले पटान गरेर बगरजस्तै बनाएको छ । ‘कुतियाकभरमा सबैको ध्यान पुग्छ, तर हामीकहाँ बाढीमा फसेका बेलासमेत कोही पुग्दैन,’ १८ नं बस्तीकी लक्ष्मी राना क्षेत्रीले भनिन्, ‘बाढीले झोलुंगे पुलको एकातिरको बाटो बगाएपछि केही दिन आउजाउ नै बन्द भयो, हामीले सुरक्षित ठाउँमा जाने बाटो नै पाएनौं ।’
छाडा चौपायाबाट पनि उक्त क्षेत्रमा खेतीपाती जोगाउन मुस्किल भएको क्षेत्रीले बताइन् । उनका अनुसार छाडा चौपायाले उखु पुरै खाएर नोक्सान गरेको छ । विगतमा यहाँको बस्तीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि दुःख दिने गरेको थियो । तर अहिले नजिकै कञ्जभोजमा सशस्त्र प्रहरी बलको बीओपी बसेपछि केही सजिलो भएको छ । विगतको जस्तो एसएसबीका जवानले गाउँमै पसेर धम्क्याउन छाडेका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै