संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज मध्यरातदेखि मौन अवधि सुरु, उल्लङ्घन गरे मनोनयन रद्द हुने

    आज मध्यरातदेखि मौन अवधि सुरु, उल्लङ्घन गरे मनोनयन रद्द हुने

    संघारी न्युज
    १८ फाल्गुन २०८२
    504
    Shares

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारहरूले सोमबार राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाउने भएका छन्। त्यसपछि प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि मौन अवधि सुरु हुने भएको छ।

    निर्वाचन आयोग का अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुनेछ। यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइँदैन।

    आयोगले मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचरणसमेत तोकेको छ। जसअनुसार कुनै पनि प्रकारका सभा, सम्मेलन, अन्तर्क्रिया, गोष्ठी, कार्यशाला वा प्रचारात्मक छलफल गर्न निषेध गरिएको छ। साथै, मतदान हुने दिनभन्दा ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्नेछ।

    आयोगले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत रोक लगाएको जनाएको छ।

    सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारका लागि पनि छुट्टै आचरण तोकिएको छ। मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनबाहेक टक शो, टिप्पणी, विश्लेषण तथा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न पाइने छैन।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार मौन अवधिमा तोकिएको आचरण उल्लङ्घन गरेमा सम्बन्धित उम्मेदवार वा दलविरुद्ध कडा कारबाही गरिनेछ, आवश्यक परे मनोनयन नै रद्द गरिने छ। साथै, सामाजिक सञ्जालमा यसअघि राखिएका प्रचारात्मक सामग्रीसमेत हटाउनुपर्ने र मतदातालाई प्रभाव पार्ने कुनै गतिविधि गर्न नहुने आयोगले स्पष्ट पारेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com