संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पाइलटको परिवार : आकाश नै कर्मथलो, ७५ हजार घण्टाको उडान

    पाइलटको परिवार : आकाश नै कर्मथलो, ७५ हजार घण्टाको उडान

    विनोद घिमिरे
    १६ साउन २०८३
    540
    Shares

    छोरा सुवास अहिले नेपाल वायु सेवा निगमका अपरेसन डाइरेक्टर छन् । जीवनको ३७ वर्ष बादलमाथि उडेका उनी वरिष्ठ क्याप्टेन हुन् । माइलो छोरा सुदीपले भने बीचैमा उडान यात्रा बिसाए । कान्छो छोरा श्रवण अहिले नेपाल एयरलाइन्सकै जहाज उडाइरहेका छन् ।

    यस परिवारका चार सदस्यमा मात्रै उडान सपना कहाँ सीमित रह्यो र ? तेस्रो पुस्ताबाट सुवासकी जेठी छोरी ३१ वर्षीया अरुशा पनि पाइलटै बनेर देश फिरेकी छन् । छोरीका जीवनसाथी सफर कोइराला र जीवनसाथीका बा रोशन कोइराला पनि पाइलट नै हुन् । पाइलट परिवारमा संघर्षको रनवेबाट पहिलो पटक उडान सपना भरेका गंगाको कथा कस्तो थियो ? उनी स्मृतितर्फ फर्कन्छन् ।

    उनी विराटनगरको कृषक परिवारमा जन्मिए । स्कुले जीवन कहिले धरान त कहिले पाल्पामा बित्यो । माइला बा पाल्पामा सरकारी जागिरे थिए । गंगाले पद्मोदय स्कुलमा ९ र १० कक्षा पढे, जहाँको हेडमास्टर चूडाबहादुर हमाल ९अभिनेता राजेश हमालका बुबा० थिए । २०१५ को एसएलसी दिन भने उनी धरानै फर्किए ।

    एसएलसीपछि गंगाको यात्रा बनारसतर्फ मोडियो । ‘मेरा बाजे–बज्यै काशीवासका लागि बनारसमा बस्नुहुन्थ्यो । म त्यहाँ घरको शुद्ध घिउ र मसिना चामलको स्वाद पुर्‍याउन गएको थिएँ,’ गंगा सम्झन्छन् । बनारस पुगेपछि गंगालाई बाजेले रोके, ‘यहाँ त कति राम्रा कलेजहरू छन्, यहीँ पढ ।’

    गंगाले बनारसबाटै आईएस्सी गरे । छुट्टीमा घर जाँदा गंगा इटहरीको धान मिलमा पुगिरहन्थे । त्यहाँका एक जना मिस्त्रीले कुरैकुरामा भनिदिए, ‘गंगा बाबु, तपाईं त बनारसमा पाइलट पढ्दै हुनुहुन्छ रे नि ?’ मिस्त्रीले अनजानवश भनेको कुरालाई ठट्टा मानेर उनी हाँसे । तर, त्यसै दिनदेखि पाइलट शब्दको मोहले गंगाको अवचेतन मनमा डेरा जमाउन थाल्यो ।

    तिनताक पूर्वका युवाको आकर्षण ब्रिटिस आर्मीमा थियो । उनी पनि ब्रिटिस आर्मीमा भर्ना हुन धरानको क्याम्प गए । बेलाबेला उनी काम परेर विराटनगर विमानस्थल पुगिरहन्थे । एक दिन नजिकबाटै उनले पाइलट देखे । उनीहरूको पोसाक र सानले लोभिए । ‘अब विदेश गएर लाहुरे हैन, पाइलट बन्छु,’ त्यो दिन विमानस्थलबाट फर्किंदै गर्दा उनले अकस्मात् मन बदले ।

    बलियो अठोट बोकेर यात्रा मोडेका गंगाले सम्भावनाका दैला खोजी गर्न थाले । संयोगवश त्यतिबेला कोलम्बो प्लानअन्तर्गत पाकिस्तानमा पाइलट तालिमका लागि छात्रवृत्ति खुल्यो । गंगा काठमाडौंको त्रिचन्द्र कलेजमा बीएस्सी पनि पढिरहेका थिए । ‘बीएस्सीको फाइनल परीक्षा नजिकै थियो तर मैले पाइलट सपनालाई पहिलो प्राथमिकतामा राखें,’ गंगा सम्झन्छन् । आफूले छनोट गरेको करियरले पनि गंगालाई छनोट गर्‍यो । १२ जनाको कोटामा उनी छानिए र पाकिस्तान इन्टरनेसनल एयरलाइन्स ९पीआईए० मा दुई वर्षको पाइलट तालिमका लागि पुगे । ‘त्यहाँको तालिम निकै कडा थियो, त्यसमाथि युद्धका कारण केही अवरोध पनि भयो । तर, मैले आफ्नो समूहमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै तालिम पूरा गरें,’ उनी सुनाउँछन् ।

    गंगा तालिम सकेर नेपाल फर्किए । तर, शाही नेपाल वायुसेवा निगममा जागिर पाउन सजिलो थिएन । उनीहरूले ९ महिनासम्म संघर्ष गर्नुपर्‍यो । ‘त्यतिबेला नेपालमा डकोटा जहाजहरू फेज आउट हुँदै थिए र फोकर फ्रेन्डसिप जहाज भर्खरै आउँदै थिए । हामीले आधुनिक जहाजमै तालिम लिन्छौं भनेर अडान लियौं तर सिनियर पाइलटहरूले विरोध गरे । मन्त्रालयहरूमा धर्ना दिएपछि मात्रै नियुक्ति पायौं,’ गंगा सदृश्य सुनाउँछन् ।

    गंगाको करियरकै साहसिक निर्णय थियो– दुर्गम क्षेत्रमा ‘ट्विन अटर’ जहाज उडाउनु । क्यानडा सरकारले दिएका ती जहाज लुक्ला, जुम्ला र हुम्लाजस्ता पहाडी क्षेत्रमा उडाउन धेरै पाइलट डराउँथे । उनीहरू भन्थे, ‘मर्न किन जाने ?’ तर, गंगा अपवाद निस्किए, दुर्गम क्षेत्रमा जान तयार भए ।

    उनी पाइलट जीवनको सुरुवाती उडान आज पनि भुल्दैनन् । ‘विश्वकै खतरनाक विमानस्थलमा गनिन्थ्यो लुक्ला । त्यसमाथि अहिले जस्तो जीपीएस पनि थिएन । आँखाकै भरमा उडाउनुपर्थ्यो । पहिलो पटक त्यहाँ अवतरण गरेको क्षण म अझै सम्झिरहन्छु,’ उनी नोस्टाल्जिक सुनिन्छन् ।

    गंगाको विवाह २० वर्षको उमेरमा भयो । उनकी जीवनसंगिनी देवी रिजाल १२ वर्षकी मात्रै थिइन् त्यतिबेला । जहाज उडाउन घरबाट निस्किएका गंगालाई सधैं पर्खिरहने जीवनसंगिनी बाटो हेरिरहन्थिन् । कहिल्यै नडराउने उनको मन एक दिन नमज्जाले झस्कियो ।

    ‘एक पटक मौसम खराब थियो । सधैंझैं समयमा आउने उहाँ त्यो रात आउनु भएन । खबर केही नपाएपछि म आत्तिएँ । सिंगो रात रोएरै काटें,’ कहालीलाग्दो समय देवी सम्झिन्छिन् । त्यो दिन खराब मौसमका कारण गंगा लुक्लामा ‘नाइट स्टप’ भएका थिए । ‘त्यतिबेला अहिले जस्तो मोबाइल फोन थिएन । अफिसबाट पनि खबर नगरेपछि उनी तर्सिएकी रहिछन्,’ गंगा थप्छन् ।

    विवाहपछि पनि देवीलाई आफन्तहरू तर्साइरहन्थे, ‘पाइलटको आयु त लामो हुँदैन है ।’ तैपनि मन दह्रो पारिन् ।

    हुन त आकाशमा उड्दा सधैं मौसमले साथ कहाँ दिन्छ र ? ३७ वर्षे उमेरमा एक दिन आकाशमा मौसमकै कारण गंगालाई मृत्यु सामुन्नेबाट गएको भान भयो । उनी लन्डन–फ्र्यांकफर्ट–दुबई उडानमा ३५ हजार फिटको उचाइमा थिए । टर्किएको आकाशमाथि पुग्दा अचानक उनको ककपिट अगाडिको सिसा झर्‍यामझुरुम भयो । ‘जहाजको प्रेसरका कारण त्यो सिसा भित्र आएको भए के हुन्थ्यो होला ?,’ अहिले सम्झिँदा पनि आङ सिरिंग हुन्छ उनको ।

    त्यतिबेला उनले धैर्यले काम गरे । तत्कालै इस्तानबुल टावरसँग सम्पर्क गरेर आकस्मिक अवतरणको अनुमति मागे । ‘अगाडि केही नदेखिने अवस्थामा पनि को–पाइलटको सहयोगमा मैले जहाज सुरक्षित अवतरण गराएँ,’ उनी सम्झन्छन्, ‘त्यो दिन भगवान्ले नै बचाएको हो ।’

    गंगाको परिवारलाई सबैले सम्मान गरे पनि साइनो गाँस्न डराउँथे । कारण जहाजप्रतिको भय । एक पटक उनले छोराको विवाहका लागि एक जना सचिव साथीमार्फत अर्का एक उच्च पदस्थ व्यक्तिकी छोरीको प्रस्ताव पठाएका थिए । ती व्यक्तिले केटा पाइलट भन्ने थाहा पाएपछि प्रस्ताव अस्वीकार गर्दै भने, ‘आकाशमा उडेको जहाज देख्दा त हामी डराउँछौं, झन् पाइलटलाई नै छोरी कसरी दिनु ?’ यो प्रसंगलाई लिएर पछि गंगाका कान्छो छोराले ठट्टा गर्दै आमालाई भनेका थिए, ‘ममी, त्यो सचिवलाई त विदेश पनि ठेलागाडामा हालेर पठाउनुपर्ने रहेछ ।’

    उडान यात्राको रोमाञ्चकता नसकिँदै गंगाको उमेर ५८ मा प्रवेश गर्‍यो । जहाज उडाउने रहरको पखेटा नखुम्चँदै सरकारी नियमअनुसार उमेर हदका कारण उनले अवकाश पाए । उनलाई त्यो अवकाशले दिएको पीडा अहिले पनि सम्झना हुन्छ । ‘एभिएसन क्षेत्रमा ५८ वर्ष भनेको त पाइलट परिपक्व हुने समय हो । मसँग दुर्गम क्षेत्रका साना ट्विन अटर’ देखि एयरबस र बोइङ ७५७ जस्ता ठूला जहाज उडाएको दशकौं लामो अनुभव थियो,’ उनी गुनासो पोख्छन्, ‘यति धेरै अनुभव भएको व्यक्तिलाई उमेरको एउटा अंकका आधारमा घर पठाउनु राष्ट्रकै लागि ठूलो घाटा हो ।’

    गंगालाई राज्यसँग आशा थियो । तर, राज्यले क्षमताको नजरअन्दाज गरेर निराश बनायो । यद्यपि त्यो निराशा लामो समय रहेन । अवकाशलगत्तै उनी आध्यात्मिक तिर्सना मेटाउन बद्री–केदारको तीर्थयात्रा गए । फर्केर घर आउँदा उनको फोनमा थाइल्यान्डको ‘फुकेट एयर’ बाट कल आयो । उनीहरूले गंगासँग भेट्ने इच्छा राखेका थिए । ‘म श्रीमतीलाई लिएर बैंकक गएँ र त्यहाँका डाइरेक्टरलाई भेटें । मैले कतै आवेदन दिएको थिइनँ तर उनीहरूले मेरो सम्पूर्ण उडान इतिहास र प्रशासनिक दक्षताको रेकर्ड अध्ययन गरिसकेका रहेछन्,’ गंगा सम्झन्छन्, ‘उनीहरूले मलाई कामको प्रस्ताव गरे ।’

    त्यहाँ उनलाई ‘इन्स्ट्रक्टर पाइलट’ को जिम्मेवारी सुम्पियो । ब्रुनाईमा गएर रातभर जहाजमा ट्रेनिङ दिने अनि दिनभर कक्षा लिने दैनिकी चुनौतीपूर्ण थियो । थाइल्यान्डको सिभिल एभिएसनका चिफहरू गंगालाई सधैं जाँच्न आउँथे, यद्यपि उनी सधैं खरो उत्रिन्थे । त्यहाँबाट उनले पुनः रहरका पखेटा फिँजाए र दुबई, कुवेत, जकार्ता, इन्डोनेसिया, जापानजस्ता अन्तर्राष्ट्रिय रुटमा उडान भरे ।

    पछि उनले पीबी एयरमार्फत काठमाडौंलाई ‘डेन्जरस’ एयरपोर्ट मान्ने विदेशी पाइलटलाई पनि प्रशिक्षण दिए । त्यतिबेला गंगाले भनेका थिए, ‘यो रिस्की होइन, ट्रिकी एयरपोर्ट हो ।’ ‘मैले धेरै विदेशी पाइलटलाई काठमाडौंको आकाशमा कसरी सुरक्षित उडान गर्ने भनेर गाइड गरें,’ उनी सुनाउँछन् ।

    गंगाले जीवनकालमा २४ हजार घण्टा आकाशमा बिताए । अहिले रिटायर्ड जीवनमा पनि नथाकेका चाहना उनका आँखामा घुमिरहन्छन् । आकाशमा उडिरहेका जहाज देख्दा गंगा हातहरूले ककपिटमा नियन्त्रण गरिरहेका दिन सम्झन्छन् ।

    उमेरका कारण उनको उडान त रोकियो तर रिजाल परिवारको उडान भने झन् फैलिरहेको छ । जेठो छोरा सुवास उडान मात्रै होइन– दुर्गम, जोखिमयुक्त ठाउँ पुगेको नेपाल एयरलाइन्सको पहिचान विश्वमाझ नै फैलाउने सपना देखिरहेका छन् । निगमका अपरेसन निर्देशकसमेत रहेका सुवासले सुनाए, ‘सुदूरका मानिसका समस्याको सारथि र सपना पूरा गर्ने नेपाल एयरलाइन्सको आफ्नै सपना भने धेरै अधुरा छन् । मलाई त्यो पूरा गर्ने चाहना छ ।’ पृष्ठभूमिमा नेपाल एयरलाइन्सबारे आफैंले लेखेको सुनाउँदै सुवास विगततिर डोरिए ।

    विसं २०२४ मा विराटनगरमा जन्मेका सुवासले सुरुवाती शिक्षा विराटनगर, दार्जिलिङ र काठमाडौंमा पढे । एसएलसीपछि भारतको आदर्श विद्यापीठमा आईएस्सी गरे । उनको परिवारमा काका भोला रिजाल डाक्टर थिए । गंगाको चाहना थियो, ‘यो पनि डाक्टर बनोस् ।’ तर, पाइलटको काखमा हुर्किएका सुवास सपना पनि जहाजकै देख्थे । ‘मेरो जिद्दीपनाका अगाडि बुबाको चाहनाको केही लागेन, मैले पाइलटकै तालिम लिने भएँ,’ सुवास सम्झन्छन् ।

    उनी पाइलट पढ्न अमेरिकाको पेगासस फ्लाइङ स्कुल गए । पेगासस त्यतिबेलाको कहलिएको संस्था थियो । सन् १९८७र८८ तिर तालिम सकेर नेपाल फर्किए । ‘मलाई लागेको थियो, फर्किएपछि तुरुन्तै जागिर पाइन्छ । तर, मैले सोचेविपरीत भइदियो । यहाँ त कुनै भ्याकेन्सी नै थिएन,’ सुवास सम्झन्छन् ।

    सुवासले करिब एक वर्षसम्म जागिरका निम्ति संघर्ष गरे । त्यतिन्जेल उनी फुसर्दिलो भने भएनन् । बानेश्वरको अमर आदर्श स्कुलमा अंग्रेजी, विज्ञान र गणित विषय पढाए । विद्यार्थीहरू ‘पाइलट सर’ भनी जिज्ञासा राख्थे । ‘म उनीहरूलाई एभिएसनका रोमाञ्चक कुरा सुनाउँथें,’ उनी शिक्षक हुँदाको क्षण सम्झन्छन् ।

    जति धाए पनि केही नलागेपछि सुवास र सोनी राणाले सञ्चारकर्मी भूषण दाहाललाई एउटा अन्तर्वार्ता दिए । अन्तर्वार्ताको शीर्षक थियो– बेरोजगार पाइलट । ‘अन्तर्वार्ताले तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको ध्यान खिच्यो । उहाँले तुरुन्तै सम्बन्धित मन्त्रीलाई बोलाएर ‘यस्ता ऊर्जावान् मान्छेहरूलाई काममा लगाउनुस्’ भनेर निर्देशन दिनुभयो,’ उनी सुनाउँछन्, ‘त्यसको केही समयपछि विज्ञापन खुल्यो र म सन् १९९० देखि नेपाल एयरलाइन्समा प्रवेश गरें ।’

    सुवासले उडान करियर ट्विन अटरबाट सुरु गरे । नेपालका दुर्गम पहाडी भेग लुक्ला, सिमकोट, नेपालगन्ज, बाजुरा र बैतडीमा सुरुवाती उडान भरे । दुर्गम जिल्लामा ट्विन अटरदेखि अन्तर्राष्ट्रिय यात्राका लागि बोइङ– ७५७ सम्मको यात्रा गर्नु उनका लागि सहज मार्ग थिएन । सुवासको जीवनमा एउटा अविस्मरणीय क्षण थियो बा गंगासँग को–पाइलट हुनु । उनीहरू दिल्लीको उडान भर्दै थिए । ‘घरमा बुबा भए पनि ककपिटमा हामी पूर्ण व्यावसायिक थियौं । मैले उहाँलाई त्यतिबेला ‘सर’ नै सम्बोधन गरें,’ सुवास सुनाउँछन् ।

    सुवासले पनि आकाशमा बुबा गंगाले जस्तै चुनौतीपूर्ण परिस्थितिहरूको सामना गरेका छन् । सुवासका अनुसार एक पटक ‘पिलाटस पोर्टर’ उडाइरहँदा जहाजको इन्जिन नै बन्द भएको थियो । तर, केही समयपछि बन्द भएको इन्जिन चालु भयो र ठूलो दुर्घटना हुनबाट जोगियो ।

    उडान जीवनमा २५ हजारभन्दा बढी घण्टा आकाशमा बिताइसके उनले । त्यसकारण उनीसँग बिर्सनै नसकिने थुप्रै स्मृति छन् । त्यसमध्येको एउटा भाइ श्रवणसँगको काबुल यात्रा थियो । ‘२० जुन २०१६ को त्यो दिन म अझै बिर्सिन सक्दिनँ,’ श्रवण सम्झिन्छन् ।

    अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा १४ जना नेपालीले ज्यान गुमाएका थिए । सरकारले तुरुन्तै त्यहाँबाट शवहरू ल्याउन र बाँचेकालाई उद्धार गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दियो । काबुल जस्तो युद्धग्रस्त क्षेत्रमा उडान भर्नु सामान्य विषय थिएन । सुरक्षा र बिमाका कारण धेरै पाइलट हच्किएका थिए– त्यसबेला सुवास अपरेसनमा थिए ।

    सुवासका दाजुभाइले कठोर निर्णय गर्दै भने, ‘यो राष्ट्रिय दायित्व हो । काबुल हामी जान्छौं ।’ जीवन र मृत्युको बीचबाट यात्रा गर्नुपर्ने भएकाले त्यो निर्णयका बारेमा परिवारलाई समेत बताएनन् ।

    निगमले नयाँ एयरबस ३२०–२०० जहाज काबुल पठाउने निर्णय गरेको थियो । विमान ८ असार २०७३ ९जुन २२, सन् २०१६० मा बिहान ३ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काबुलका लागि उड्यो । ‘उड्न त उड्यौं । हामीसँग न काबुलको रुटको डेटाबेस थियो, न त्यहाँ पहिले उडेको अनुभव । पाकिस्तानको आकाश हुँदै अफगानिस्तानको सीमामा पुग्दाको त्यो तनाव म शब्दमा वर्णन गर्न सक्दिनँ,’ श्रवण सुनाउँछन् ।

    त्यहाँको सूचनामा स्पष्ट लेखिएको थियो, ‘बिनाअनुमति प्रवेश गरे गोली हानिनेछ ।’ उनीहरूले पटक–पटक सम्पर्क गर्दा पनि उताबाट कुनै जवाफ आएको थिएन । ‘सीमा काट्नुभन्दा ठ्याक्कै ३० सेकेन्ड अगाडि मात्रै उनीहरूले हामीलाई प्रवेशको अनुमति दिए,’ श्रवण सम्झिन्छन् ।

    जब उनीहरू काबुलमा ल्यान्ड गर्न थाले, जताततै बम विस्फोट भइरहेको थियो । पहिलो प्रयासमा ल्यान्ड गर्न नसकेर जहाज ‘ओभरसुट’ भयो । दोस्रो पटकमा मात्रै उनीहरूले जहाज भुइँमा टेकाए । त्यहाँ एयरपोर्ट बाहिर मात्रै होइन, भित्र पनि त्रासको वातावरण थियो । अमेरिकी हेलिकोप्टरहरू आकाशमा घुमिरहेका थिए । ‘त्यो डेढ–दुई घण्टाको पर्खाइ हाम्रो जीवनकै सबैभन्दा लामो र पट्यारलाग्दो समय थियो । जब हामीले शवहरू र घाइतेहरू लिएर अफगानिस्तानको सिमाना काट्यौं, तब मात्रै अब बाँचियो भनेर लामो सास फेर्‍यौं,’ सुवासले बताए । ५२ वर्षे श्रवणले १९ हजार घण्टाभन्दा बढी समय आकाशमा बिताइसकेका छन् । ‘हाम्रो सुत्ने त ठेगान नै हुँदैन । पेसाले नै अनुशासित र जिम्मेवार बनाउँदो रहेछ कि त्यो नहुनुको त विकल्पै छैन,’ श्रवणले भने ।

    सन् २०२३ मा इजरायलमा हमासको आक्रमणपछि पनि नेपाली विद्यार्थीहरूको उद्धार गर्न श्रवण नै पुगेका थिए । ७ अक्टोबर २०२३ का दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । बाँकी थुप्रै नेपाली नागरिक अलपत्र परेका थिए । १२ अक्टोबरको बिहान साढे ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ए–३३० जहाज तेल अभिभतर्फ लाग्यो । मिसनको अपरेसन डाइरेक्टर थिए– श्रवण । युद्धको त्रासदीबीच पनि जहाजले बेन गुरिअन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गर्‍यो । र, २ सय ५३ जना नेपाली विद्यार्थीलाई सुरक्षित उद्धार गर्‍यो । ‘विश्वका ठूला एयरलाइन्सले त्यहाँ उडान रोकेका बेला नेपाल एयरलाइन्सको जहाज लिएर म तेल अभिभ पुग्दा मलाई गर्वको अनुभूति भयो,’ उनी सम्झन्छन् ।

    जब विद्यार्थीहरू उद्धार गरेर जहाजले इजरायलको सिमाना काट्यो, जहाजभित्र अब सबै सुरक्षित रहेको घोषणा भयो । ‘त्यतिबेला सबै यात्रुहरूले ताली बजाएर खुसी मनाएका थिए । यी उडानहरूले मलाई सिकाए कि हामी केवल बिजनेसका लागि होइन, संकटका बेला देश र जनताका लागि उड्ने रहेछौं,’ श्रवण सम्झन्छन् ।

    थुप्रै जोखिमपूर्ण उडान यात्रामा देशलाई योगदान गरेका श्रवणको चाहना भने प्लेन उडाउने थिएन । उनका लागि यो संयोग मात्रै थियो । सन् १९९० ९विसं २०४७० मा एसएलसी सकेपछि उनी उच्च शिक्षाका लागि फिलिपिन्स गए । त्यहाँ उनले ‘इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ’ पढे ।

    नेपाल फर्किंदा उनी २० वर्षका थिए । ‘सरकारी जागिरका लागि २१ वर्ष उमेर अनिवार्य थियो । त्यसकारण जागिरविहीन भएँ,’ ठूलो सपना बोकेर फर्किएपछिको निराशाबारे उनी सुनाउँछन् । माइला दाइ सुदीपले पनि कम्प्युटर इन्जिनियरिङ नै पढेर फर्किएका थिए । श्रवण र सुदीपलाई आफूले पढेको विषय नेपालमा लागू गर्न नसक्दाको हीनताबोध भइरह्यो । ‘त्यसपछि दाइ र म दुवै पाइलट पढ्न अमेरिका जाने निर्णय गर्‍यौं,’ उनी सुनाउँछन् ।

    सन् १९९५ को नोभेम्बरमा उनीहरू अमेरिका पुगे । पाइलट कोर्सका साथै इन्स्ट्रक्टरको रेटिङ कोर्स पनि सकेर सन् १९९६ को मार्चमा उनीहरू नेपाल फर्किए । तर, नेपालमा पाइलटको जागिर पाउन पनि एक वर्ष पर्खनुपर्‍यो । ‘नेपाल एयरलाइन्सको विज्ञापन खुलेपछि आवेदन दियौं । १० जनाको कोटामा खुला प्रतिस्पर्धा हुँदा सुदीप दाइ पहिलो नम्बरमा र मैले दोस्रो नम्बरमा नाम निकालें,’ श्रवण सम्झन्छन् । त्यसपछि दुई भाइको व्यावसायिक उडान करियर सँगसँगै सुरु भयो ।

    सुदीपले भने ७ हजार घण्टाको उडानपछि उडान यात्रा बिसाए । अहिले सुदीप संयुक्त राष्ट्रसंघको एभिएसन सेफ्टी र प्रोक्युरमेन्ट विभागमा कार्यरत छन् ।

    पाइलटको जीवन बाहिरबाट हेर्दा जति आकर्षक छ, भित्र उत्तिकै कठोर अनुशासनले घेरिएको हुन्छ । उनीहरूको न सुत्ने निधो हुन्छ न उठ्ने । परिवारलाई पर्याप्त समय दिन नपाउनुको पीडा पनि श्रवणका दाजुभाइलाई नभएको होइन । ‘जब हामी सबै जना एकै पटक भेट्थ्यौं, हाम्रा लागि खास दसैं वा खास उत्सव त्यही हुन्थ्यो,’ श्रवण भन्छन् ।

    रिजाल परिवारको तेस्रो पुस्ता पनि आकाशको उडान भर्ने संघारमा छ । सुवासकी छोरी अरुशा पनि नेपालको उड्डयन जगत्मा व्यावसायिक उडानको पर्खाइमा छिन् । अमेरिकाको टेक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ बाट पाइलट तालिम पूरा गरेर नेपाल फर्किएकी अरुशा भन्छिन्, ‘हाम्रो परिवारले उड्डयन क्षेत्रमा गरेको योगदानमा मलाई पनि आफ्नो हिस्सा थप्नु छ ।’ उनको पाइलट बन्ने प्रेरणा परिवार नै थियो । ‘हाम्रो घरमा एभिएसन एउटा पेसा मात्रै थिएन, एउटा जीवनशैली नै थियो,’ उनी सुनाउँछिन्, ‘हजुरबुबा, बुबा र दुई काका नेपाल वायुसेवा निगमको पोसाकमा सजिएर अनुशासन, जिम्मेवारी र स्वाभिमानका साथ घरबाट निस्किएको देख्थें ।’

    त्यही देखेर हुर्किएकै कारण अरुशाको बाल्यकालीन सपना उड्डयन क्षेत्रकै आकर्षणबाट सुरु भयो । अरुशालाई लाग्छ– पाइलट हुनु भनेको विमान उडाउनु मात्रै होइन, देश अनि नागरिकको सेवा गर्नु पनि हो ।

    रिजाल परिवारमा हवाई उडानमा तेस्रो पुस्ताको पाइला पनि आफूबाटै हुँदा उनी गौरवान्वित महसुस गर्छिन् । व्यावसायिक उडान सुरु गरेको दिन उनी रिजाल परिवारको पहिलो महिला पाइलट पनि बन्नेछिन् । ‘यो विरासत अगाडि बढाउन र एभिएसनमा महिलाका लागि नयाँ बाटो पहिल्याउन पाउँदा गर्व गर्छु,’ उनी भन्छिन् । अरुशाले सायद छिट्टै आकाशमा उड्डयन बाटो तय गर्नेछिन् ।

    आकाशबाट विश्व नियालेका रिजाल परिवारका चार सदस्यले सधैं नेपाल र नेपाल एयरलाइन्सलाई माया गरिरहे । ‘म र छोराहरूले जे गर्‍यौं, नेपाल र नेपाल एयरलाइन्सका लागि गर्‍यौं । नेपालीहरूका लागि गर्‍यौं,’ सामुन्ने बसिरहेका सुवासलाई हेर्दै बुबा गंगा भन्छन् ।

    उडान भर्दा जीवनमा ठूला जोखिम छिचोलेका गंगालाई यो जीवनको एउटा हिस्सा लाग्छ । तर, कहिलेकाहीँ छोराहरूले बेहोर्नुपरेको जोखिमले भने बेलाबेला झस्काउँछ । ‘काबुलजस्ता मिसनहरूमा उनीहरूले जे भोगे, त्यो कुराले बा हुनुको नाताले डर नलाग्ने होइन । तर, हाम्रो पेसामा हामीलाई गल्ती गर्ने छुट नै छैन । उनीहरूले गल्ती गर्दैनन् भन्ने कुराले ढुक्क पनि हुन्छु,’ गंगा भन्छन् ।

    सुवासलाई भने निगम व्यावसायिक रूपमा सफल भएको हेर्न रहर छ । ‘हिजो कोही नहुँदा पनि नेपाल एयरलाइन्स थियो । दुर्गममा बाटोघाटो केही नहुँदा पनि नेपाल एयरलाइन्स थियो । अहिले विभिन्न समयमा विभिन्न स्वार्थले कमजोर बनाइएको एयरलाइन्सलाई सबैभन्दा बलियो बनाउन सकिन्छ,’ सुवास दृढ सुनिन्छन् । कान्तिपुरबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com