संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जनताको विश्वास कायम राख्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता

    जनताको विश्वास कायम राख्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता

    संघारी न्युज
    २० मंसिर २०७९
    1.2k
    Shares

    धनगढी, २० मंसिर । नवनिर्वाचित जनप्रतिनिधिले आफूहरुले जनताको विश्वास कायम राख्ने प्रतिवद्धता जनाएका छन् । 

    सत्तारुढ पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले मङ्गलबार धनगढीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा यस्तो प्रतिवद्धता गरेका हुन् । उनीहरुले उत्कृष्ट काम गरेर जनताको विश्वास जित्ने बताए ।
     
    नवनिर्वाचित सांसद् डिल्लीराज पन्तले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार क्षेत्रमा रहेको समस्या समाधान गरेर मतदाताको विश्वास कायम राख्ने बताए । ‘यसका लागि हामी जनप्रतिधिले इमानदारिता देखाउनु पर्दछ’, सांसद पन्तले भने । जनताको माग साधारण रहेका उल्लेख गर्नुहुँदै खानेपानी, सडक लगायतका योजनाहरु सफल बनाउनु पर्ने बताए । एक छुट्टै प्रसङ्गमा उनले अब गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने उल्लेख गरे ।

    यस्तै, प्रदेश सभा सदस्य रमेश धामीले जितेर खुशीसंगै विकास निर्माणमा आफूहरु चिन्तित भएको बताए । जनप्रतिनिधिले सबै पार्टीको शीर ठाडो पार्ने काम गर्नु पर्नेमा उनको जोड थियो । 

    अर्का प्रदेश सभा सदस्य प्रकाश देउवाले जनताको विश्वास जितेर काम गर्ने बताए । उनले सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेशको रुपमा अगाडि बढाउने उल्लेख गरे । जनताको विश्वास जित्न सजिलो नरहेको भन्दै उनले अगाडि थपे,‘नैतिकता र आचरणलाई सुधार गरेर काम गर्नु पर्दछ ।’

    सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धन सरकार बन्ने उल्लेख गर्दै देउवाले पार्टी र कार्यकर्तालाई संगसंगै लैजाने र जनताले देखाएको बाटोमा आफू हिड्ने प्रतिवद्धता जनाए । यसैगरी, कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यद्वय प्रकाश बम र अक्कलबहादुर रावलले संविधान र व्यवस्थाको रक्षाका लागि आफूहरुले काम गर्ने बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com