संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    यी सांसदले लिए मौलिक पहिरनमा सपथ

    यी सांसदले लिए मौलिक पहिरनमा सपथ

    संघारी न्युज
    १६ पुष २०७९
    1.2k
    Shares

    कैलाली, १५ पुस । अधिकांश प्रदेश सभा सदस्य दौरा सुरुवाल, कोटसहित नेपाली टोपीमा ठाटिएर, त कोही साडीमा सजिएर पुगेका थिए । तथापि आफ्नै परम्परागत पहिरनमा सपथ लिन पुगेका केही प्रदेश सभा सदस्यहरु सबैको ध्यान आफू तिर खिचे । उनीहरुको फोटो लिने र बधाइ दिनेहरुको भिड भने बेग्लै देखिन्थ्यो ।

    मंसिर ४ गते भएको पदेश सभा सदस्य निर्वाचनमा निर्वाचित प्रदेश सभा सदस्यहरुको लागि शुक्रबार शपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

    प्रदेश सभा सचिवालयका कर्मचारीहरु १० बजे नै पुगिसकेका थिए । शपथ ग्रहणको लागि दिउँसो १ः३५ बजेको समय निर्धारण गरिएको थियो । तर निर्धारित समयभन्दा १ घण्टा पहिलेदेखि नै नवनिर्वाचित प्रदेश सभा सदस्य, तिनका सहयोगी र शुभेच्छुकहरुले प्रदेश सभा परिसर भरियो । अनि सुरु भयो बधाइ ज्ञापन र फोटो सेसन ।

    नागरिक उन्मुक्तिबाट निर्वाचित प्रदेश सदस्य रामेश्वर चौधरी, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, घनश्याम चौधरी, खुशीराम चौधरीले आफ्नै मौलिक पोषाक सेतो धोती, खुट्टामा काठको पौवा, टाउको परम्परागत टोपीमा ठाटिएका थिए । उनीहरु प्रदेश सभा परिसरमामा पाइला टेक्ने बित्तिकै सबैको केन्द्र बिन्दुमा रहे ।

    नेपाली कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता कुमारी चौधरीको फोटो लिनेहरुको भिड पनि कम थिएन । उसै पनि ढपक्क बलेको सुन्दर अनुहार, त्यसैमाथि आफ्नै मौलिक पोषाक लेहंगा, चोलिया, घाँटी र सिउँदोभरि चाँदीका गरगहना र त्यसमाथि कोटमा सजिएकी उनी परिसरमा उभिने बित्तिकै पत्रकार र आगन्तुकहरुको क्यामेराको निशाना बनिरहिन् ।

    राप्रपाबाट प्रदेश सभा सदस्य रहेकी खेमा देवी बिष्ट पनि आफ्नो मौलिक पोषाकमा सजिएर शपथ ग्रहण गरेकी छिन् । घाँघ्रा र चोलीमा निकै सुहाएकी बिष्ट पनि सबैको ध्यान तानेकी थिइन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com