कैलाली, ६ माघ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हुलाकी राजमार्गको पुल ११ वर्षपछि निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिका-३ स्थित कान्द्रा नदीमा निर्माणाधीन पुल समयमा निर्माण नहुँदा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। “ओहोरदोहोर गर्ने सबैलाई अप्ठ्यारो छ। डुङ्गाबाट नदी तर्नुपर्छ,” स्थानीय खुशीराम डगौरा भन्छन्, “स्कूले बालबालिकालाई नदी तर्न झन् समस्या हुन्छ।”
हुलाकी राजमार्ग आयोजना कार्यालयले २०६८ जेठ २१ गते साल्पा-शेर्पा-लामा-बिरुवा कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। चार करोड ४३ लाख रुपैयाँमा भएको सम्झौता अनुसार ३० महीनाभित्र निर्माण सम्पन्न गर्न समय दिइएको थियो।
पुलको डिजाइन परिवर्तन गर्नुपर्ने भएपछि साढे चार वर्षसम्म काम शुरूआत नै गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ। २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम शुरू भएको थियो। त्यति वेला २०७५ असारसम्म निर्माण सम्पन्न गर्ने म्याद दिइएको थियो। तर, पाँच पटक म्याद थप गर्दा पनि पुल निर्माण हुन सकेको छैन।

आयोजनाका अनुसार, हुलाकी राजमार्ग अन्तर्गतका सबै पुल बनिसकेका छन्। एउटा पुल मात्रै निर्माण नहुँदा धनगढी(भजनी(सत्तीसम्म सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको छ।
पुल बन्न ढिलाइ हुँदा भजनी नगरपालिकाका वडा नं ५, ७ र ९ का बासिन्दालाई नदी तर्न गाह्रो भइरहेको मेयर केवल चौधरीले बताए। “राति डुंगा चल्दैन, कोही बिरामी भयो भने पनि अस्पताल पुर्याउन गाह्रो हुन्छ,” मेयर चौधरीले भने।
गत असारमा पाँचौं पटक म्याद थप गरी निर्माण कार्य थालिएको हुलाकी आयोजना कार्यालयका सूचना अधिकारी दीपक सुनारले बताए। पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको सुनारको भनाइ छ। “चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छ,” उनले भने।
तर, पुल निर्माणको काम फेरि रोकिएको छ। निर्माण सामग्री अपुग भएको भन्दै केही दिनयता काम रोकिएको मेयर चौधरीले बताए।
पुल निर्माण कार्य रोकिएसँगै स्थानीय बासिन्दा आक्रोशित छन्। उनीहरूले तत्काल पुल निर्माणको काम अघि बढाउन माग गरेका छन्। हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै