संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    छाडा चौपायाले किसानलाई सास्ती

    छाडा चौपायाले किसानलाई सास्ती

    संघारी न्युज
    १८ माघ २०७९
    1.1k
    Shares

    कैलाली, १८ माघ । छाडा चौपायाका कारण कैलाली र कञ्चनपुरका किसान निकै सास्ती खेप्नुपरेको छ । छाडा चौपायाले खेतीपाती नोक्सान गर्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् । छाडा गाईगोरुले बाली सखाप पार्न थालेको उनीहरुको गुनासो छ ।

    ‘छाडा चौपायाबाट खेतीपाती जोगाउनै मुस्किल छ’, कैलारी गाउँपालिका–७ का किसान खेमराज चौधरीका अनुसार छाडा गाईगोरु राति आएर बाली खाइ दिन्छन् । दिनभरी बसन्ता जङ्गलमा बस्ने छाडा चौपाया राति खेतमा गएर गहुँ, मसुरोमा नोक्सान गरिरहेका छन् । कतिपय ठाउँका किसान त छाडा चौपाया धपाउनकै लागि खेतमा रातभरी जाग्राम बस्ने गरेका छन् ।

    जङ्गली जनावरबाट कृषिबालीमा नोक्सानी व्यहोर्दै आएका आफूहरु पछिल्लो समय छाडा चौपायाबाट हैरान भएको कृषक चौधरीको भनाइ छ । ‘जङ्गली हात्तीको समस्या त छदैं थियो, अहिले छाडा चौपाया समस्या पनि थपियो’, उनले भने,‘हामी किसानलाई बाली जोगाउनै मुस्किल भएको छ ।’

    छाडा चौपाया सर्वसाधारणबाटै उत्पन्न समस्या हो । कैलाली, कञ्चनपुरको सबै स्थानीय तहमा अहिले यो समस्याले विकराल रुप लिइरहेको छ । स्थानीय तहले छाडा चौपायाको नाममा करोडौं खर्च गरिसकेपनि समस्या समाधान हुनुका सट्टा झन बल्झिदैं गएको छ । छाडा चौपायाको सङ्ख्या झन बढ्दै गएको छ । दिनभरी जङ्गल र बजार क्षेत्रमा घुम्ने छाडा गाईगोरु राति किसानको खेतमा पुगेर तरकारी र विभिन्न बाली सखाप पार्ने गरेका किसानको भनाइ छ ।

    जङ्गली जनावर र छाडा चौपायाले बाली सखाप पार्न थालेपछि के खाने भनेर उनीहरु चिन्तित भएका छन् । जङ्गली जनावर र छाडा गाईगोरुले खेतीपातीमा नोक्सान गर्दै आएकाले वर्षभरी खान नपुग्ने गरेको कञ्चनपुरको पुनर्वास नगरपालिका–११ की बसन्ती सार्कीले बताइन । छाडा चौपायाका कारण किनेर खानु पर्ने बाध्यता रहेको उनकोे भनाइ छ ।

    ‘तारबार गर्दा पनि समस्या समाधान हुन सकेको छैन’, उनले भनिन्,‘जङ्गलबाट छाडा चौपाया आएर बाली खाई दिइरहेका छन् । हामीलाई खान पुग्दैन, किनेर खानुपर्छ ।’ छाडा चौपायाले हिउँदे बाली सखाप पार्न थालेपछि किसानहरु खेतमै जाग्राम बस्नु पर्ने बाध्यता सृजना भएको विकको भनाइ छ । किसान राति खेतमै बस्ने र चौपाया आएमा धपाउने गरेका उनी बताउँछिन् । धेरैजसो छाडा चौपाया भारततिरबाट पनि खेतमा आउने गरेको किसानको भनाइ छ ।

    दूध दिन छाडेका गाई र हलो जोत्न नसक्ने गोरु जथाभावी छोड्नाले छाडा चौपायाको समस्या बढेको बताइन्छ । झुन्डमा परिणत भएका छाडा चौपायाका बाच्छाबाच्छी जन्मिदैं गएकाले सङ्ख्या बढ्दै गएको छ । दुवै जिल्लामा अहिले अनगिन्ती छाडा चौपाया छन् । छाडा गाईगोरुको यकिन तथ्याङ्क कुनै पालिकासंग छैन । केही स्थानीय तहले दुई÷चार सय छाडा चौपाया गौशालामा व्यवस्थापन गरे पनि अत्यधिक चौपाया अझै बाहिरै छन् । जङ्गल सडक, यत्रतत्र ति चौपाया देखिन्छन् । धेरैजसो छाडा चौपाया राजमार्ग क्षेत्रमै बस्ने गरेकाले तिनका कारण दुर्घटना पनि हुने गरेको छ ।

    पुनर्वास नगरपालिकाका प्रमुख तोयाप्रसाद शर्माले आफ्नो पालिकामा छाडा चौपाया व्यवस्थापनको प्रयास भइरहेको बताउँछन् । ‘हामीले कान्जी हाउस निर्माणका लागि वडालाई जिम्मा दिएका छौं’, उनले भने,‘जङ्गली जनावर र छाडा चौपायाको समस्या रहेकाले पीडित किसानलाई राहत दिनका लागि माथिल्लो निकायमा पहलसमेत गरिरहेका छौं ।’ छाडा चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय सरकारले करोडौं रुपैयाँ बजेट खर्च गरिसकेका छन् । तर, समस्या समाधान हुनु त परै जाओस झन बल्झिदैं गएको छ । छाडा चौपायाको संख्या पनि बढ्दै गएको छ ।

    विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन् ।कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्षरउपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए ।

    ‘नगरपालिका छेउमै राखेर केही महिनायता छाडापशु अस्थायी रुपमा व्यवस्थापन गरिरहेका छौँ’, उनले भने,‘दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडापशु व्यवस्थापनमा रु साढे ५ लाख जति खर्च भइसकेको छ ।’ उनले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताए । ‘काञ्जीहाउस लगायतका व्यवस्थापनमा रु २८/३० लाख जति खर्च हुने अनुमान छ’, उनले भने,‘छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरु पनि सहयोगी हुनु आवश्यक छ ।’ बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा रु १ करोड भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

    भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो । चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाडा पशुमा ट्याग लगाउने कार्य गरेको थियो । हालसम्म भीमदत्तले रु ९१ लाख भन्दा बढी रकम खर्च गरिसकेको छ ।

    त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नं। ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ । त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाअध्यक्ष रमेश ऐरले लिनुभएको छ । वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताए ।

    ‘यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुदै गएको छ’, ऐरले भने,‘गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा रु ४० लाख दिएको छ ।’ उनले विगत वर्ष यता वार्षिक रु ४० लाख नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए । पश्चिम टुडेबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com