संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एमालेको ग्रास रुटमा फुट !

    एमालेको ग्रास रुटमा फुट !

    संघारी न्युज
    २० फाल्गुन २०७९
    1k
    Shares

    लखन चौधरी,

    धनगढी । नेकपा एमालेले सञ्चालन गरेको ग्रास रुट कार्यक्रममा नेता कार्यकर्ताबीच तीव्र मतभेद देखिएको छ ।

    एमालेको ग्रास रुट कार्यक्रम जनजागरण भन्दा पनि नेताहरूका गुटगत भेलाको रूपमा परिणत भएको देखिएको हो । जहाँ नेता कार्यकर्तामा फुट देखिएको हो ।

    शुक्रबार मात्रै अछामको साँफेबगरमा केपी ओली समूह र भीम रावल निकट समूहले छुट्टाछुट्टै ग्रास रुट कार्यक्रम गरेको थियो । छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएपछि एक अर्काप्रति आरोप प्रत्यारोप समेत भएको छ ।

    एक पक्षले आयोजना गरेको ग्रास रुट कार्यक्रममा सहभागी एमाले नेता भीम रावलले आफू हिजोको जनप्रतिनिधि भएकोले नगर कमिटीले बोलाएर आएको दाबी गरे ।

    त्यस्तै, अर्को पक्षले आयोजना गरेको कार्यक्रममा सहभागी पार्टीका पोलिटब्युरो सदस्य गौरी ओलीले आफूलाई पार्टीले अभियानका लागि खटाएकोले आफ्नो कार्यक्रम आधिकारिक रहेको दाबी गरिन् ।

    उनले शुक्रबार जे घटना घट्यो त्यो केन्द्रमा स्पष्ट रिपोर्टिङ गर्ने समेत बताइन् ।

    केन्द्रले साँफेबगर नगरपालिकामा अभियान सञ्चालनको लागि पोलिट ब्युरो सदस्य गौरी ओलीलाई पठाएकोमा भीम रावल पक्षले रावललाई प्रमुख अतिथि बनाएर छुटै कार्यक्रम सञ्चालन गरेको हो ।

    दुई पक्षले साँफेबगरमै छुट्टाछुट्टै कार्यक्रम गर्दा केही समय तनाव भएको थियो । पछि सुरक्षाकर्मी परिचालन गरी अवस्थालाई सामान्य पारिएको थियो । पार्टीको ब्यानरमा छुटै कार्यक्रम गर्ने कार्यविधि विधान विपरीत भएको एमाले अछाम जिल्ला अध्यक्ष चन्द्र बोहराले बताए ।

    भीम रावल अछाममा भएकाले रावललाई प्रमुख अतिथि बनाएर गौरी ओलीलाई विशिष्ट अतिथि बस्न भनेको तर उनले नमान्दा कार्यक्रम फरक–फरक भएको साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको भनाइ छ । आफू नगरको अध्यक्ष भएकोले रावल उपस्थित कार्यक्रम आधिकारिक भएको कुँवरको दाबी छ ।

    रावल उपस्थित कार्यक्रममा करिब डेढ सयको हाराहारीमा सहभागिता रहेको तर ओली सहभागी कार्यक्रममा करिब ६० जनाको हाराहारीमा उपस्थिति रहेको जनाइएको छ । रातोपाटीबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com