संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    हौसलपुर जोड्न मोहना नदिमा झोलुङ्गे पुल निर्माण

    हौसलपुर जोड्न मोहना नदिमा झोलुङ्गे पुल निर्माण

    संघारी न्युज
    १० चैत्र २०७९
    963
    Shares

    कैलाली । कैलालीको विकटमा रहेको हौसलपुर गाउँका स्थानीयका लागि मोहना नदिमा झोलुङ्गे पुल निर्माण भएको छ । कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारि रहेको हौसलपुर गाउँ नेपाल–भारत सीमा नजिक पर्दछ ।

    पुल निर्माण भएपछि यहाँका स्थानीयहरु खुशी भएका छन् । पुलको निर्माण कार्य सम्पन्न भएसँगै एकसाता अघिदेखि स्थानीयहरु झोलुङ्गे पुल भएर ओहोरदोहोर गरिरहेका गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले जानकारी दिए । उनले केही दिनमा एक कार्यक्रमको आयोजना गरि पुलको उद्घाटन गरिने बताए ।

    हौसलपुर गाउँवासी र सो आसपास गाउँका स्थानीयको समस्यालाई मध्यनजर गरेर सङ्घीय सरकारसंग झोलुङ्गे पुल माग गरिएको पूर्व वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए । पुल निर्माण भएपछि हौसलपुर गाउँका स्थानीयलाईमात्रै नभइ भुईयाँफाँटा, रामपुर, तिघरी, बसन्ता, रतनपुर लगायतका स्थानीयलाई ओहोरदोहोर गर्न सहज भएको छ ।

    सङ्घीय सरकारको आयोजना अन्तर्गत सङ्घीय सरकारको ७५ लाख रुपैयाँ लगानीमा मोहना नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । २०७८ मंसिर १८ गते पुलको निर्माण कार्य सुरु गरिएको थियो ।

    नदीमा पुल नभएका कारण हौसलपुरवासी समस्या भोग्ने गरेका थिए । उनीहरु अधिकाङ्श समय डुङ्गाको भरमा ओहोरदोहोर गर्दै आएका थिए । स्थानीय सरकार आएपछि भने सो गाउँमा परिवर्तनको सुरुवात भएको छ । विगतमा राज्यको नजरमा नपरेको उपेक्षित, उत्पीडित हौसलपुरवासीले अत्यावश्यकीय सेवा सुविधा सहज रुपमा पाइरहेका छन् ।

    सो गाउँको विकासका लागि कैलारी गाउँपालिकाले विशेष अनुदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । विगतमा भारतमा आश्रित सो गाउँवासी अहिले बिजुली बाल्न पाएका छन् । गाउँपालिकाले नेपाली भाषाको तालिम सञ्चालन गरेको थियो । त्यसपछि सो गाउँवासीले धेरथोर नेपाली पनि बोल्न थालेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com