संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एसईईको नतीजा सार्वजनिक

    एसईईको नतीजा सार्वजनिक

    संघारी न्युज
    २१ असार २०८०
    1.3k
    Shares

    काठमाडौं, २१ असार । परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा सहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो। बोर्डले केही बेरमा पत्रकार सम्मेलन गरी नतीजाबारे जानकारी दिने भएको छ।

    बोर्डले यस वर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धति अनुसार नै सैद्धान्तिक र प्रयोगात्मक अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ।

    २०७२ सालको पद्धति अनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’, ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० भन्दा कम ल्याउनेलाई ‘डी’ तथा २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ।

    गत चैत १७ देखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ चार लाख ८५ हजार ३९६ विद्यार्थीको सहभागिता थियो। परीक्षामा दुई लाख ४२ हजार ७१२ जना छात्रा र दुई लाख ४२ हजार ६७४ जना छात्रले भाग लिएका थिए। बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार ४६१ जना परीक्षार्थी थिए।

    फोनमा १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतीजा जान्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतीजा हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटबाट नतीजा हेर्न सकिने उनले बताए।

    एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np बाट नतीजा हेर्न सकिने बोर्डले जनाएको छ ।

    त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np बाट नतीजा हेर्न सकिने व्यवस्था गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com