संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महिला टी-२० आई सिरिज : हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी

    महिला टी-२० आई सिरिज : हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी

    संघारी न्युज
    ६ भाद्र २०८०
    2.4k
    Shares

    काठमाडौं, ६ भदौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् ।

    मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन् । उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन् । यस्तै पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन् । हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो ।

    यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् । हङकङले १९ दशमलव एक ओभरमा सबै विकेटको क्षतिमा ८४ रन मा बनायो । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।

    बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् । सीता प्लेयर अफ दी म्याच भइन् । यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक-एक विकेट लिए । महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत आजै भएको अर्को खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ ।

    आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी-ट्वान्टी आई सिरिज खेलिरहेका छन् । यही अगस्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com