संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपाल ट्वान्टी–२० आई अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो जित

    नेपाल ट्वान्टी–२० आई अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो जित

    संघारी न्युज
    २ कार्तिक २०८०
    2k
    Shares

    काठमाडौँ, २ कात्तिक । नेपालले बिहीबार हङकङलाई ६ विकेटले पराजित गरी नेपाल ट्वान्टी–२० आई अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो विजय हात पारेको छ । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।

    नेपालले ९५ रनको सामन्य लक्ष्यलाई १३.४ ओभरमै ९९ रन बनाउँदै पूरा ग¥यो । आसिफ शेखले ४२ रन बनाउँदै नेपाललाई सजिलो विजय दिलाए । उनले ३४ बलको सामना गरी ६ चौका प्रहार गरे । अर्का ओपनर कुशल भूर्तेल ८ रनमै आउट भएका थिए । कुशल मल्ल १, सन्दीप जोरा ३ रनमा आउट भए ।

    कप्तान रोहित पौडेल र गुल्शन झा क्रमश २५ र १४ रन बनाई खेल टुंग्याए । विजयी छक्का प्रहार गरेका रोहितले २० बल खेली १ चौका र २ छक्का प्रहार गरे । आसिफ आउट भएपछि आएका गुल्शनले दुई छक्का प्रहार गर्ने क्रममा ५ बलमात्र खेले ।

    यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ मूलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ९४ रनमै आउट भएको थियो । करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे ।

    अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन् । अर्का तीव्र बलर सोमपाल कामीले पनि २ विकेट लिए । उनले ३.३ ओभरमा १० रनमात्र खर्चे ।

    कुशल मल्ल र श्याम (मौसम) ढकालले १–१ विकेट लिए । अघिल्लो दिन यूएईको खेलबाट डेब्यु गरेका ट्वान्टी–२० अन्तर्राष्ट्रियमा श्यामको यो पहिलो विकेट हो । करणले खेलको पहिलो बलमै निजाकत खानलाई बोल्ड गरि विकेट लिन सुरु गरेका थिए ।

    त्यहीबाट हङकङको संघर्ष सुरु भएको थियो । यासिम मुर्ताजाले हङकङबाट सर्वाधिक ३६ रन बनाए । उनले ३६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । दोहोरो अंकको स्कोर बनाउने अर्का खेलाडी जिशान अलीले १७ रन बनाए । उनले २० बल खेली २ चौका प्रहार गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com