संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    थारु गाउँमा भलमन्सा चयन गर्ने काम सुरु

    थारु गाउँमा भलमन्सा चयन गर्ने काम सुरु

    संघारी न्युज
    ३ माघ २०८०
    2k
    Shares

    कैलाली । कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघ पर्वको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो ।

    थारु समुदायमा गाउँको नेतृत्व गर्न भलमन्सा चयन गर्ने चलन रहेको छ । माघ २ गतेबाट माघ महिनाभरि नै भलमन्सा चयनगरि नेतृत्व हस्तान्तरण गर्ने काम हुने गर्दछ ।

    थारु कल्याणकारिणी सभा कैलालीका पूर्व काबा सभापति माधब चौधरीका अनुसार कतिपय गाउँमा माघ २ गते नै भलमन्सा चयन गर्ने गर्दछन् । भलमन्सा थारु समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो । गाउँभरीका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमन्सा चयन गर्ने गरिन्छ । भलमन्साको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्मका लागि एक वर्षको रहने गर्दछ ।

    भलमन्सासहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामकाजको खोज्नीबोज्नी (समीक्षा) हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः एक वर्षका लागि सो जिम्मेवारी सुम्पिन सक्ने अधिकार गाउँबासीमा छ । तर काम चित्त नबुझेमा गाउँबासीमध्येबाटै अर्को व्यक्तिलाई भलमन्सा चयन गर्ने गरिन्छ ।

    भलमन्सा बन्ने मौका जान्नेबुझ्नेलाई मात्र नभई गाउँका सबै व्यक्तिलाई रहने गर्दछ । पछिल्लो केही वर्ष यता कतिपय गाउँमा महिलालाई पनि भलमन्साको जिम्मेवारी सुम्पिरहेका छन् । भलमन्साले विकास निर्माणदेखि लिएर गाउँको सुखदुःख, भोजभतेर, बैठक, छलफललगायतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्दछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com