कैलाली । कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरेर नदीनाला दोहन गर्न थालिएको हो । जसलेगर्दा चुरे र तराईमा गम्भीर असर पर्ने भन्दै तत्काल त्यस्तो कार्य रोक्न प्रदेश सदनमा समेत आवाज उठ्न थालेको छ ।
प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले चुरे दोहन तत्काल रोक्नु पर्ने मागसहित सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले गोदावरी नगरपालिकामा राज्य संयन्त्रकै दुरुपयोग गरेर चुरे दोहन गर्ने कार्य भइरहेको बताउँछिन् ।
पछिल्लो समय कैलालीको गोदावरी नगरपालिकास्थित नदी र खोलानालाबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गर्ने काम भइरहेको छ । वडा नं. ८ र ९ मा पर्ने खुटिया नदी, वडा ४ मा पर्ने गोदावरी खोला र ६ स्थित खैराना खोलाबाट चुरे र तराई क्षेत्रलाई असर पर्नेगरी अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् भइरहेको हो ।
गोदावरी र खैराना खोलाको भावर क्षेत्रबाट आवश्यकताभन्दा बढी गहिराइ बनाएर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरेको पाइएको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष खगराज भुसालले जानकारी दिए ।
उनका अनुसार खुटिया नदीमा पूर्व–पश्चिम राजमार्गस्थित पुलबाट तल्लो क्षेत्रमा आवश्यकताभन्दा बढी गहिरो खाडल बनाएर नदीजन्य पदार्थ उत्खनन् गरिएको छ । जेसीबी, एक्जाभेटरको प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गरिएको हो ।
जथाभाबी नदीजन्य पदार्थ उत्खनन् गर्दा खोलाको स्वरूप नै बिग्रिएको छ । उत्खनन् गरिएका ढुङ्गा गिट्टी खोलामै थुपारिएका छन् । उनले भने “मानव बस्ती जोखिममा पार्ने, नदी खोलाको स्वरूप नै बिगार्नेगरी उत्खनन् कुनै पनि हालतमा नियमसंगत छैन ।” यसरी मापदण्डविपरीत उत्खनन् गरेको पाइएपछि जिल्लास्तरीय अनुगमन समितिले केही जेसीबीलगायत सवारी साधन नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बताए ।
मापदण्डविपरीत उत्खनन् कार्यमा प्रयोग भएका तीन जेसीबी, तीन एक्जाभेटरसहित १९ वटा सवारीसाधनलाई माघ २१ गते नियन्त्रणमा लिइएको थियो । गोदावरी र खैराना खोलाबाट ती सवारी साधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लेखि पठाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन कुनै पनि नदी खोलानाला उत्खनन् गर्न पाइँदैन । गोदावरीस्थित नदीनालाबाट नदी, खोलाजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन भएको भनिए पनि त्यसको रिपोर्ट जिल्ला समन्वय समितिलाई प्राप्त नभएको भुसालले बताए । जिल्ला समन्वय समितिले सबै स्थानीय तहलाई नदीजन्य पदार्थ उत्खननको वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट पठाउन आग्रह गरे पनि स्थानीय तहले अटेर गरेका छन् ।
“अरु तिरबाट पनि आइईई रिपोर्ट नआएकाले त्यतातिरसमेत मापदण्डविपरीत उत्खनन् भइरहेको छ भन्ने हामीलाई शङ्का छ र त्यस्तो सूचना पनि आएको छ” भुसालले भने ।
प्राकृतिक स्रोत सम्बन्धित स्थानीय तहका रहेकाले सदुपयोग र संरक्षण गर्ने सबैभन्दा ठुलो भूमिका स्थानीय तहकै छ । तर, गोदावरी नगरपालिकामा पालिकास्तरीय अनुगमन समितिको आन्तरिक अनुगमन नै फितलो रहेको जिल्ला स्तरीय अनुगमन समितिको ठहर छ । खैराना खोलाको चुरेफेदीसम्म जथाभाबी उत्खनन् भइरहेको सूचनासमेत आएको भुसालले जानकारी दिए ।
गोदावरी नगरपालिकामा असोज २३ गतेबाट नदीजन्य पदार्थ उठाइँदैछ । मापदण्ड विपरीत उत्खनन् गरेको पाइएपछि गोदावरी, खैराना खोला र खुटिया नदीको तल्लो क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्य हाललाई रोकिएको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै