लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको उपचार निःशुल्क भएको छ । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको प्रदेश गृह मन्त्रालयले जनाएको हो ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका घाइते तथा अपाङ्गता भएकाको निःशुल्क उपचारका लागि प्रदेश गृह मन्त्रालयले सम्झौताका लागि लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई पत्र पठाएर बोलाएको थियो । गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले लुम्बिनी प्रादेशिक अस्पताल मात्र आएको जानकारी दिए । उनले भने, “लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता भएर काम अगाडि बढेको छ । उपचारका लागि आउन सूचनासमेत प्रकाशन गरिसकेका छौँ ।” अस्पतालसँग सम्झौता भएसँगै उपचार सेवा पनि सुरु भएको शाखा अधिकृत सोनीले जानकारी दिए ।
मन्त्रालयको मापदण्डमा पर्नेले निःशुल्क उपचारको सेवा पाउने छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट उपचारका लागि बुटवल पठाइने शाखा अधिकृत सोनी बताए । उनका अनुसार सशस्त्र द्वन्द्व तथा अन्य विभिन्न आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएकाको उपचारसम्बन्धी कार्यविधि, २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको हो । “वास्तविक घाइते र अपाङ्गता भएकाले सेवा पाऊन् भनेर कार्यविधि बनाएका छौँ । कार्यविधिभन्दा बाहिरकाले सेवा पाउने छैनन् ।” उनले भने ।
उपचारका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । सरकारले विनियोजन गरेको बजेटबाट चालु आवका लागि उपचारमा आउनेका लागि खर्च गरिने भएको छ । यही रकमबाट उपचार तथा यातायात खर्च प्रदान गरिने छ । शाखा अधिकृत सोनीका अनुसार उपचार र सामान्य अङ्ग प्रत्यारोपणका लागि सहयोग रकम उपलब्ध गराउने छ । जटिल समस्या भएका र रकम धेरै लाग्नेको पहिचान गरेर बजेटको व्यवस्था गर्ने प्रदेश सरकारले जनाएको छ ।
जनयुद्धमा तथा जनआन्दोलनका क्रममा घाइते भएका, आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित भएका घाइते तथा अपाङ्गता भएकाको उपचारका लागि प्रदेश सरकारले कार्यक्रम सुरु गरेको शाखा अधिकृत सोनीले बताईन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै