संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    उप-निर्वाचन बैशाख १५ मा गर्ने आयोगको निर्णय

    उप-निर्वाचन बैशाख १५ मा गर्ने आयोगको निर्णय

    संघारी न्युज
    १३ फाल्गुन २०८०
    1.6k
    Shares

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उप-निर्वाचन आगामी २०८१ बैशाख १५ गते गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा उप–निर्वाचन आगामी बैशाख १५ गते गर्ने निर्णय गरेको हो ।

    इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति बैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय भएको आयोगका उपसचिवसमेत रहेका सहायक प्रवक्ता डा.थानेश्वर भुसालले जानकारी दिए ।

    इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको थियो । नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूर पश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगलाई प्राप्त भएको थियो।

    यसरी कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, त्यसै प्रक्रियाबाट पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको हो । यस उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोगले सबैलाई आग्रह पनि गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com