संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नागरिक उन्मुक्तिका सांसद ईन्दिरा गिरी पदमुक्त

    नागरिक उन्मुक्तिका सांसद ईन्दिरा गिरी पदमुक्त

    संघारी न्युज
    २६ चैत्र २०८०
    1.4k
    Shares

    कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले सुदूरपश्चिम प्रदेश सभाका एक सदस्यले पद गुमाउनु परेको छ।

    सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले नाउपा सांसद ईन्दिरा गिरीलाई पदमुक्त गरेका हुन्। प्रदेश सभा सचिव देवबहादुर बोगटीले सोमबार सूचना जारी गरी सभामुख भण्डारीले सांसद गिरीलाई पदमुक्त गरेको जनाएका छन्।

    सूचनामा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम नागरिक उन्मुक्ति पार्टीको च.नं. ५०४ मिति २०८०र१२र२१ गतेको पत्रबाट प्रदेश सभा सदस्य माननीय ईन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेश भएकाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न हुन भनी मानवीय सभामुखज्यूबाट निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

    यसअघि नेपाली कांग्रेसका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागिताको विषयमा अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीच विवाद भएको थियो। अध्यक्ष श्रेष्ठ सरकारमा सहभागी नहुने पक्षमा थिइन् भने चौधरी सरकारमा सहभागी हुनुपर्ने पक्षमा थिए।

    चौधरीको जोडबलमा नाउपाका पाँच सांसद मन्त्री बनेका थिए। त्यसमध्ये समानुपातिकबाट निर्वाचित गिरी कृषि राज्यमन्त्री भएकी थिइन्। उनलाई मन्त्रीबाट राजीनामा दिन अध्यक्ष श्रेष्ठले निर्देशन दिएकी थिइन्। चौधरी पक्षकी सांसद गिरीले मन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेकी थिइन्।

    त्यसपछि अध्यक्ष श्रेष्ठले सांसदबाट फिर्ता बोलाएको पत्र प्रदेश सभा सचिवालयमा दिएकी हुन्। त्यसकै आधारमा आज सभामुख भण्डारीले गिरीलाई पदमुक्त गरेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com