संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विपक्षीको बहिष्कारबीच सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए विश्वासको मत

    विपक्षीको बहिष्कारबीच सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए विश्वासको मत

    संघारी न्युज
    ३ जेष्ठ २०८१
    1.2k
    Shares

    विपक्षी दलको बहिष्कारबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिएका छन्।

    प्रदेश सभाको बिहीबार दिउँसो दोस्रो बैठक शुरू हुने बित्तिकै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदले विरोध जनाएका थिए। उनीहरूको नाराबाजीबीच सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक सञ्चालन गरेका थिए।

    सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रस्ताव पेश गर्न समय दिएका थिए। त्यस लगत्तै विश्वासको मतको प्रस्तावमाथि मत विभाजन गरेका थिए।

    त्यसपछि भने कांग्रेस र नाउपाका सांसदले बैठक बहिष्कार गरे। विपक्षीको बहिष्कारबीच मत विभाजन भएको थियो।

    मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावका पक्षमा २८ सांसदले मत दिए। सभामुख भण्डारीले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए।

    विपक्षमा कुनै मत परेन। मतदानमा नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र) १०, नेकपा (एकीकृत समाजवादी) चार, नाउपाका अध्यक्ष रञ्जिता पक्षका दुई र एक जना स्वतन्त्र सांसद गरी २८ जना सहभागी थिए।

    नेपाली कांग्रेसका १८ र नाउपाका संरक्षक रेशम चौधरी पक्षका पाँच सांसदले प्रदेश सभाको बैठक बहिष्कार गरेका थिए। ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com