संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    योगलाई जीवन पद्धतिका रुपमा विकास गरौं : मन्त्री भाट

    योगलाई जीवन पद्धतिका रुपमा विकास गरौं : मन्त्री भाट

    संघारी न्युज
    ८ असार २०८१
    1.3k
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले स्वस्थ मन र स्वस्थ शरीर भएमात्रै कुनै पनि व्यक्तिले व्यक्तिगत र सामाजिक भूमिका निर्वाह गर्न सक्ने बताए । विश्व योग दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश व्यक्त गर्नुहुँदै मन्त्री भाटले सकारात्मक मनस्थितिको विकासका लागि पनि योगाभ्यासको भूमिका महत्त्वपूर्ण रहने बताए ।

    पछिल्लो समयमा सामाजिक तथा आर्थिक उत्पादन सम्बन्धमा विकास भएको परिवर्तनका कारण आम नागरिकहरु मानसिक र शाररीकरुपमा तनावपूर्ण जीवन बाँच्नुपर्ने अवस्थामा निराशा, मानसिक अपहेलना भोग्नुपर्ने र विभिन्न रोगबाट प्रभावित हुने परिस्थित सिर्जना भएकोले मन र शरीरलाई सन्तुलनमा राख्न योगाअभ्यास आवश्यक हुन्छ ।

    मन्त्री भाटले सन्देशमा भन्नुभएको छ, ‘‘भौतिक परिस्थितिका कारण मनको एकाग्रता हुन नसक्दा उत्पादनशील पुस्तामा जीवनको लक्ष्य, आफ्नो जिम्मेवारी र सामाजिक सम्बन्धप्रति नै वितृष्णा उत्पन्न हुने अवस्था विकास हुँदै गइरहेकाले यो परिस्थितमा मन र शरीरलाई सन्तुलनमा राख्दै सकारात्मक मनस्थितको विकास गरेर ऊर्जाशील लक्ष्यमा विचलित नभएर अघि बढ्नका लागि योगाभ्यासको निकै ठुलो भूमिका रहन्छ ।’’

    योगको उत्पत्ति, विकास र अभ्याससँग हाम्रो इतिहास जोडिएकाले जीवनको अर्थवोध गर्न तथा त्यसअनुरुप मन र शरीरलाई परिचालित गर्न हाम्रा पूर्वजहरुले अभ्यासमा ल्याएको योगको प्रवर्द्धन र विकासमार्फत हामीले नेपाली समाजमा सकारात्मक चेतना र ऊर्जाको सिर्जना गर्दै मानसिक शान्ति तथा शारीरिक स्फुर्ति प्राप्त गर्न सक्छौँ ।

    योगलाई जीवन पद्धतिका रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले यही सकारात्मक चेतनाले मात्रै हामीले परिकल्पना गरेको समुन्नत र न्यायपूर्ण समाजको स्थापना सम्भव रहेको बताए । शारीरिक र मानसिक स्वास्थ्यलाई सक्षम र सबल पार्ने सङ्कल्पका साथ योगलाई दैनिक जीवनशैलीका रुपमा अङ्गीकार गर्न विशेष अपिल गर्दै उनले योगको विकास र प्रवर्द्धन गर्न प्रदेश सरकारका तर्फबाट आफू आवश्यक सबै प्रयासका लागि प्रतिबद्ध रहेको बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com