अछाम — मंगलसेन नगरपालिका–१३ की ४८ वर्षीया सीता ९नाम परिवर्तन० को १४ वर्षकै उमेरमा विवाह भयो । १६ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी उनको साथमा अहिले ६ सन्तान छन् । २ सन्तान जन्मेको एकरएक महिनामै गुमाइन् । कति गर्भ खेर गए, उनलाई ठ्याक्कै याद छैन ।
हिंसा सहनै मुस्किल भएपछि बल्ल प्रहरीमा
सुरुमा बर्सेनि गर्भ बोक्दा गलेको उनको शरीर अहिले पूरै थलिएको छ । त्यसैमा दुर्गम पहाडी गाउँमा गर्नुपर्ने श्रम र मजदुरीले उनको जीउ साह्रै कमजोर छ । त्यसमाथि मदिराले मातिरहने श्रीमान्बाट हरेक दिन अनेक बहानामा कुटाइ खान्छिन् ।
‘कहिले खाना ढिलो पाक्यो भनेर कुट्छन् । कहिले खानामा नुन–पिरोको बहानामा कुट्छन् । कुटाइ खान थालेको पनि वर्षौं भइसक्यो,’ उनले भनिन्, ‘श्रीमान्को यही व्यवहारका कारण छोराछोरीले पढ्न पाएनन् । छोराहरू सानैमा बम्बई गए । अहिले घरमा म र कान्छो छोरा छौं । दुवै जनाले दिनकै कुटाइ खाएका छौं ।’ छोरीलाई पनि गाली र कुटपिट गर्न थालेपछि १४र१५ वर्षकै उमेरमा बिहे गरिदिएको उनले सुनाइन् ।
सोमबार राति श्रीमान्ले सहनै नसकिने गरी चिर्पटले कुटेपछि उनी जिल्ला प्रहरीमा आइपुगेकी छन् । मंगलसेनस्थित सुरक्षित आवास गृह ९सेफ हाउसमा छोरासहित बसिरहेकी उनी न्यायको गुहार मागिरहेकी छन् । ‘यसअघि श्रीमान् हो भनेर सहेर बसेँ । अब उमेरले नेटो काट्न लाग्यो । रोगले, भोकले, शोकले गलेको शरीरले कहिलेसम्म कुटाइ खाइरहने भनेर कानुनको सहारा लिन्छु भनेर आएकी छु,’ उनले भनिन्, ‘पहिले जति सहेँ, सहेँ । अब सहन्नँ । यो मेरो अन्तिम लडाइँ पनि हो । उसँग बिहे गरेको दिनदेखि मैले दुःख पाएँ । अब उसले पाउँछ ।’
कमलबजार नगरपालिकाकी–४२ वर्षीया नन्दा ९नाम परिवर्तन० को दैनिक गुजारा चल्ने भनेकै ज्याला मजदुरीले हो । २२ वर्षअघि मागी विवाह भएको १ वर्षपछि छोरी जन्मिइन् । जेठी छोरी जन्मेको ७ वर्षपछि कान्छी छोरी जन्मिन् । उनको परिवारलाई छोरा चाहिएको थियो । तर त्यसपछि भने उनीबाट सन्तान भएनन् । घरमा सासू–ससुराले दिनकै नाति चाहियो भनेर मानसिक यातना दिन थाले । छोरा नजन्मेको भन्दै परिवारले घर निकाला गरिदिए । भारतमा रहेका श्रीमान्लाई घरबाट यातना पाएको खबर पुर्याइन् र लैजान भनेर अनुरोध गरिन् ।
भारतबाट श्रीमान् लिन आए र उनी दुई छोरी बोकेर श्रीमानसँग भारत गइन् । श्रीमान्सँग गएको केही समयपछि छोराका लागि उनका श्रीमान्ले पनि मानसिक र शारीरिक यातना दिन थाले । ‘तैंले छोरा जन्माउन नसक्ने हो भने अर्को बिहे गर्छु । मेरो वंश नाश हुन दिन्न भनेर श्रीमान्ले पनि यातनामाथि यातना दिन थाले । पछि त मदिरा सेवन गरेर मलाई र छोरीलाई कुटपिट गर्न पनि थाले,’ उनले भनिन्, ‘श्रीमान्को कुटाइबाट दात भाँचिए । हात खुट्टा भाँचिए । घरमा सासुससुराले कुटेर निकाले । मेरो जाने ठाउँ कतै भएन ।’ श्रीमान्ले दिनदिनै भौतिक आक्रमण गर्न थालेपछि ६ वर्षअघि श्रीमान्बाट भागेर दुई छोरी च्यापेर माइतीमा पुगिन् । माइतीले लेकमा भएको छाप्रोमा बस्ने व्यवस्था मिलाइदिए । उनी दिनकै मजदुरी गर्ने र छोरी पढाउने गर्न थालिन् ।
‘मैले जस्तै दुःख छोरीले नपाउन् भनेर भारी बोकेर, दाउरा बेचेरै छोरी पढाइरहेकी छु । तर पनि मैले अझै पनि शान्तले बस्न पाएकी छैन,’ उनले भनिन् । मजदुरी गरेर गुजारा चलाइरहेको बारे थाहा पाएपछि ३ वर्षअघि फेरि श्रीमान् उनी भएकै ठाउँमा आइपुगे । ‘पहिले जस्तो दुःख दिँदैन । अब म पनि काम गर्छु भनेर आए । छोरीहरूले पनि एक मौका दिनुपर्छ भनेर सँगै राख्यौं,’ उनले भनिन्, ‘एक वर्षसम्म ठिकै थियो । फेरि रक्सी खाएर दिनकै कुट्छन् । अब त बाँच्न नसक्ने अवस्थामा आइपुगेँ ।’
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाइरहेकी उनलाई शनिबार साँझ मदिराले मातेका श्रीमान्ले हँसिया प्रयोग गरी दाहिने हातको पाखुरा नै काटी दिए । ‘दिनभरि काम गरेर आएकी थिएँ । साँझ मासु किन ल्याइनस् भनेर छेउमा भएको आँसीले हातै काटिदिए । अस्पताल गएर १९ टाँका लगाएकी छु,’ उनले भनिन्, ‘काम गर्ने हात नै काटी दिएपछि अब मलाई बिहान–साँझको गुजारा चलाउन पनि गाह्रो भइसक्यो । अब त अति भयो भनेर प्रहरीमा उजुरी गरेँ ।’ सबैले एक पटक मिल्न दबाब दिए पनि आफूलाई अझै असुरक्षित लागिरहेको उनले बताइन् ।
नन्दा र सीता घरेलु हिंसाबाट प्रभावित भएका प्रतिनिधि पात्र मात्रै हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षमा अछाममा १ सय २९ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष ०७८र७९ मा ३९, ०७९र८० मा ५३ र ०८०र८१ मा हालसम्म ३७ उजुरी दर्ता भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । १ सय ७ उजुरीलाई मिलापत्र गरेर पठाइएको र २२ मुद्दा मात्रै अदालती प्रक्रियामा गएको उनले बताए । ‘सबैभन्दा धेरै श्रीमान्रश्रीमतीका मुद्दा छन् । अदालतसम्म जान नचाहने नै हुन्छन्,’ उनले भने, ‘यो संख्याले घरेलु हिंसाको डरलाग्दो अवस्था देखाउँछ ।’ कुरीतिलाई नछाड्नु, पितृसत्तात्मक सामाजिक संरचना, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण घरेलु हिंसा रोकिन नसकेको उनले बताए । समाजमा बदनामी हुने डरले घरेलु हिंसाका घटना बाहिर नआउने र अन्तिम अवस्थामा मात्रै प्रहरीमा पुग्ने गरेको डीएसपी पाठकले बताए ।
स्थानीय तहमा न्याय निरूपणको जिम्मा रहेको न्यायिक समितिमा थोरै मात्र मुद्दा आउने गरेका छन् । न्यायिक समितिको जिम्मेवारीमा पुरुषहरू नै भएका पालिकामा महिलासम्बन्धी मुद्दा कम आउने गरेको पाइएको छ । कानुनी प्रक्रियाबारे जानकारी नभएपछि न्यायिक समितिका पदाधिकारी नै अलमलमा पर्ने गरेको ढकारी गाउँपालिकाकी उपाध्यक्ष नेत्रकला शाहीको गुनासो छ । पालिकामा न्यायिक समितिको नेतृत्व गरिरहेका उपाध्यक्ष र उपप्रमुखहरू मुद्दा किनारा लगाउन असहज भएको गुनासो गर्छन् । अन्य पालिकामा न्याय निरुपणमा सघाउने दक्ष जनशक्ति नभएका कारण पनि मुद्दा हेर्न असहज भइरहेको गुनासो गरेका छन् ।
‘हामीलाई कानुनबारे खासै जानकारी छैन । न्यायिक समितिमा आउने सामान्य मुद्दा किनारा लगाउन पनि असहज हुनेगर्छ,’ ढकारी गाउँपालिकाकी उपाध्यक्ष नेत्रकला शाहीले भनिन्, ‘गाउँकै अगुवा बोलाएर पुरानै शैलीमा मेलमिलाप र बहस गर्दै आएका छौं । उनीहरूको नेतृत्वमा हुने छलफलले निर्णय लिन सके मात्रै मुद्दाहरू टुंगिन्छन् ।’ चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरदेवी खड्का न्यायिक समितिमा आएका मुद्दा पनि प्रहरीमा पठाउने गरेको बताउँछिन् । उनले भनिन्, ‘हामीकहाँ आएका मुद्दा पनि प्रहरीमा पठाउँछु । त्यता आवश्यक परे म पनि जान्छु ।’ उनका अनुसार अहिलेसम्म न्यायिक समितिमा कुनै मुद्दा आएका छैनन् । कान्तिपुरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै