सरकारले २४ वर्षअघि कमैया मुक्ति घोषणा गरे पनि प्रदेसनी चौधरीले मुक्तिको खास अनुभव बल्ल गरेकी छन्। विजयसाल सामुदायिक होमस्टेकी अध्यक्ष चौधरी भन्छिन्, “यति खुशी यसअघि कहिल्यै थिइनँ।”
आँगनमा इँटा, बालुवा र रड चाङ लागेका छन्। पर्खाल आधाउधी उठिसकेको छ। छानो ढलान हुन अब धेरै दिन कुर्न नपर्ला। भित्रपट्टि पुरानो घरमा बसेर नयाँ घरमा सर्ने दिन पर्खंदै छिन्, प्रदेसनी चौधरी।
यही ठाउँमा पहिले अझ पुरानो घर थियो, कच्ची गारो लगाएर सेउला-सेउलीले छोपिएको। जस्तो उनको जिन्दगी थियो, अढाई दशकअघिसम्म। नयाँ घर चाहिं इँटाले बनेको पक्की छ। जस्तो उनको जिन्दगी छ, अहिले। यी दुई घर सूचक हुन्, उनले पार गरेको यात्राको-गरीबी र थिचोमिचोदेखि मुक्ति र उन्नतिसम्मको।
यो परिवर्तनको जग हालिएको थियो, २४ वर्षअगाडि। देशमा सशस्त्र द्वन्द्व चलिरहँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका-७, शान्तिपुरका बासिन्दा उनीहरू पनि मुक्ति खोजिरहेका थिए, जमीनदारको दासताबाट। तत्कालीन माओवादीले वर्गीय मुक्तिको नारा लगाइरहँदा ‘बेस’ नामक संस्था गाउँ गाउँ पुगेर कमैया मुक्तिको नारा लगाउँदै थियो। साहुको बारीमा सित्तैमा हड्डी घोट्नुलाई नै आजीवन कर्म-धर्म ठान्दै आएका कतिपय कमैया आफ्नो नियति विरुद्ध जागरूक हुँदै थिए। बैठक, आन्दोलनमा उनीहरूको उपस्थिति बढ्दै थियो। प्रदेसनीको घरबाट उनका ससुरा जान्थे।
२०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गर्यो ।

सरकारी तथ्यांक अनुसार त्यति वेला देशभर १८ हजार २९१ परिवार कमैया थिए। प्रदेसनीको परिवार सम्पत्तिका नाममा केही पनि नरहेको अर्थात् ‘क’ वर्गमा पर्यो। सरकारले मुक्ति घोषणा मात्र गर्यो, पुनःस्थापना गरिदिएन। त्यसैले उनीहरूले त्यसपछि पनि झन्डै डेढ वर्ष आन्दोलन गरे। बल्ल सरकारले जग्गा दिने भयो। प्रदेसनीको परिवारलाई वडा नं २ वाणीस्थित चार कट्ठा भागमा पर्यो। “संकटकाल थियो। त्यसैले जहाँ दिए त्यहीं लियौं। धेरै बोले माओवादीमा गन्दिन्छौं भन्थे आर्मीहरू,” उनी सुनाउँछिन्।
त्यो जग्गाको प्रमाण बापत हातमा सेतो पुर्जा आयो।
सोही ठाउँमा ५५८ मुक्त कमैया लहरै बसे। अहिले घर संख्या लगभग ६०० पुगेको छ। करीब एक किलोमिटर फैलिएको यो गाउँ पाँच वटा गल्लीमा बाँडिएको छ। नाम दिइएको छ( मुक्त कमैया बस्ती वाणी शिविर। प्रदेशनीको घर पहिलो गल्लीमा पर्छ।
पाएको जग्गामा जसोतसो झुप्रो हाले पनि प्रदेसनी दम्पतीलाई अब के खाने भन्ने चिन्ता पर्यो। त्यसैले भागीराम कमाउन भनी भारततिर लागे।
भागीरामसँग २०५३ सालमा बिहे भएकी प्रदेसनीको त्यसअघिको जीवन पनि कष्टपूर्ण थियो। दीनहीन हालतका कमैया नै थिए, बुबाआमा। जमीनदारको घरका काम गर्नेदेखि बारीसम्म कमाइदिनुपर्ने तर बदलामा वर्षभरि पुग्ने अन्नसम्म नपाउने।
“त्यसैले जंगलमा गएर सालको फूल बटुलेर ल्याउँथ्यौं र बेच्थ्यौं। क्विन्टलको १४ रुपैयाँ पाइन्थ्यो,” उनी भन्छिन्, “फूल बेचेर आएको पैसाले चामल किन्थ्यौं। त्यसले पनि वर्षभरि खान पुग्दैनथ्यो।”
अनि ठ्याक्कै त्यही हालतका भागीरामको मोहनाको ढिस्कोस्थित छाप्रामा भित्रिएकी थिइन्, प्रदेसनी। त्यो छाप्रो अहिले पनि छ जहाँ वर्षैपिच्छे बाढीले सताइरहन्छ। त्यहाँ उनीहरूले दुईरचार कट्ठा ऐलानी जग्गा उपभोग गर्दै आएका थिए। ससुरा, जेठाजु र देवर त्यहीं बस्छन्। “यता जग्गा पाइन्छरपाइँदैन थाहा थिएन। त्यसैले भएको ऐलानी जग्गा पनि फुत्केला भनेर उहाँहरू आउनुभएन,” उनी भन्छिन्।
जमीनदारको खेतीदेखि घरका कामसम्म भ्याइदिनुपर्ने नियति बाउबाजेकै पालादेखि आइलागेकै थियो। घरखर्च चलाउन उसैसँग ऋण समेत लिनुपरेपछि झन् बाँधिएका थिए, उनीहरू। जेठा छोराले भारतमा मजदूरी गरेर जसोतसो ऋण घटाए। बिहेपछि जिम्मेवारी बढेकाले भागीराम पनि दाजुकै पछि लागेर भारत गए। पछि कान्छो भाइलाई पनि लगे। यता ससुरा-बुहारी जमीनदारको घरबारीमा हड्डी घोटिरहेकै थिए।

मोहनाको ढिस्कोबाट वाणी जाँदा भागीराम र प्रदेसनीसँग लगाएको लुगा र ओढ्ने बाहेक केही थिएन। यसबीच एउटा छोरा जन्मिसकेका थिए। नयाँ ठाउँमा नयाँ सिर्जना गर्न सजिलो थिएन। त्यसैले भागीराम मजदूरी गर्न फेरि भारत गए। चार वर्षपछि भने फेरि नजाने गरी फर्किए। परिस्थिति त फेरिएको थिएन। बरु जिम्मेवारी अझ बढेको थियो। अर्का छोरा पनि जन्मिएका थिए। ती दुईको पढाइसँगै चार जनाको परिवार धान्नु थियो।
यस्तैमा गाउँमा एक पटक नल्का ९कल० गाड्ने तालीम दिने टोली आयो। भागीरामले लिए। त्यसपछि जीवन केही सहज भयो। नल्का गाडेर आएको ज्यालाले अनाज किन्न र बालबच्चालाई पढाउन पुग्यो। फेरि अर्को तालीम आयो, बगरखेतीको। प्रदेसनीले त्यो तालीम लिएर नजीकैको मछियाली नदीमा बगरखेती थालिन्-खरबुजा, काँक्रा, तरकारी फलाइन्।
नल्का गाड्ने काम र तरकारी खेतीको कमाइले आर्थिक स्तर केही सुध्रन लागेको थियो। तर बाढीले बिथोलिदियो। २०६४ सालको बाढी प्रदेसनीलाई अहिले पनि बिझ्छ। “हाम्रो सर्वस्व लग्यो, जमीन बिगारेर बगर बनाइदियो, ग्राभेल थुपारेर केही लगाउन नमिल्ने भयो,” उनी भन्छिन्, “हामी पहिलेकै स्थितिमा पुग्यौं।”
यो बाढीले सिंगो गाउँ नै डुबाएको थियो। भर्खर भर्खर पुनःस्थापित भइरहेका मुक्त कमैयाका अनाज केही बाँकी राखिदिएन। चार दिनसम्म हिलोले घर छोपेको थियो। प्रदेसनीले बाढीले खोतलेकै जमीनमा तरकारी रोपिन्। पहिले जत्तिको उत्पादन भएन। रफ्तार समातिसकेको जीवन फेरि घस्रिने तहमा ओर्लियो। त्यो लयमा फर्कन त झन्डै एक दशक पर्खनुपर्यो।
गाउँकै जनहित महाकाली सामुदायिक वनले होमस्टे सञ्चालनको अवधारणा ल्यायो। प्रदेसनी सहित गाउँकै अरू पाँच महिलाले यसमा अग्रसरता देखाए। २०७१ सालदेखि काम थाली पनि हाले। तर लगानी गर्ने रकम भएन। जग्गा धितो राखेर ऋण निकाल्न ब्यांकले ‘सेतो पुर्जा’ लाई मान्यता दिएन। तब उनले नागरिकता बुझाएर लघुवित्तबाट ८० हजार रुपैयाँ ऋण लिइन्।
“होमस्टे बनाउन दुई वर्ष लाग्यो, एक वर्ष त कसरी चलाउने भनेरै अलमल्ल पर्यौं,” प्रदेसनी भन्छिन्। शुरूमा त कहाँ दर्ता गर्ने भन्ने नै द्विविधा पर्यो। संघीयता लागू भइसकेकाले केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मका कर्मचारी क्षेत्राधिकारको अलमलमा थिए। यता होमस्टे शुरू नै नहुने, उता ऋण थपिंदै गएपछि प्रदेसनी चिन्तामा परिन्। बल्लतल्ल सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयमा दर्ता भएर २०७४ सालबाट होमस्टे सञ्चालनमा आयो। त्यसपछि त एक वर्षमै ऋण तिरी पनि हालिन्। अहिले भन्छिन्, “आजको दिनसम्म होमस्टे खोलेर पछुताउनुपरेको छैन, जीवनमा धेरै परिवर्तन आएको छ।”
यसबीच जेठा छोरा पनि जागीरे भइसकेका छन्। उनी २०७३ सालमा सशस्त्र प्रहरीमा भर्ती भएका हुन्। पतिले नल्का गाड्ने काम जारी राखेकै छन्। होमस्टेमा पनि सघाउँछन्। प्रदेसनी चाहिं अहिले मजदूरीमा जान्नन्। उनका अनुसार होमस्टेमा सातामा चाररपाँच दिन मात्र मान्छे आउँदा पनि मजदूरीको जति कमाइ भइहाल्छ।
उनी विजयसाल सामुदायिक होमस्टेकी अध्यक्ष हुन्। यो होमस्टे ६ जना महिलाले चलाएका छन्, यी सबै मुक्त कमैया हुन्। अन्यको नाम छ- बृहस्पति चौधरी, राजकुमारी चौधरी, लीला
प्रदेसनीका अनुसार यस होमस्टेले वार्षिक ६र७ लाखसम्म आम्दानी गर्छ। गर्मी मौसममा पर्यटक कम देखिन्छन्। “मंसीरदेखि चैतसम्म धेरै आउँछन् घुम्नलाई। त्यो वेला श्रीमान्को भन्दा बढी कमाइ मेरो हुन्छ,” उनी भन्छिन्, “होटलमा खाँदा खाँदा दिक्क भएकाहरू पनि आउँछन्, यहाँको खानाको स्वाद लिन।”
प्रदेसनी आफ्नो कामबाट औधी खुशी छिन्। यसले उनलाई कमाइ मात्र होइन, आत्मविश्वास पनि दिएको छ। पहिले बाहिरी मान्छे देखे भाग्ने-डराउने उनी अहिले जोसँग पनि आफ्ना कुरा निर्धक्क राख्न सक्छिन्। बैठकहरूमा सहभागी हुन्छिन्। सामुदायिक वनको सदस्य, कोषाध्यक्ष, सचिवसम्म भएकी छन्।
विद्यालय जाँदै मुक्त कमैया शिविरका बालबालिका।
विजयसाल होमस्टेमा अहिले ६ घर समेटिएका छन्। धेरै पाहुना आउँदा यतिले धान्न गाह्रो पर्छ। तर अरू मुक्त कमैया होमस्टेमा जोडिन सकेका छैनन्। अधिकांश मजदूरी नै गर्छन्। बाबुआमा दुवै काममा निस्कँदा बालबच्चा घरमा दिनभर एक्लै हुन्छन्। धेरैजसो स्कूल नै जाँदैनन्। गएकाहरू पनि १२ कक्षा पास गरेपछि बाआमासँगै मजदूरीमा लाग्ने गरेका छन्। प्रदेसनीका अनुसार ६०० घरधुरीमा १०र१५ बाहेक सबै मजदूरीमा जान्छन्-भारत, काठमाडौं, रसुवा र अन्य पहाडसम्म। बाटो बनिरहेका ठाउँका ठेकेदार गाउँमै आएर मजदूर लैजाने गरेका छन्।
बच्चाहरूले पढाइ पूरा नगर्ने र सानै उमेरमा मजदूरीमा जाने स्थिति अन्त्य गर्न आमाहरू नै आर्थिक रूपमा सबल हुनुपर्ने र तत्काललाई यो होमस्टेबाट सम्भव हुने देखेकी छन्, उनले। “यो काम घरमै बसेर गर्न सकिन्छ। घरमा रेखदेख गर्ने एक जना मान्छे हुँदा बच्चाले पनि अलि पढ्छन्,” उनी भन्छिन्।
होमस्टेकी अर्की सञ्चालिका लीला चौधरीको पनि समान धारणा छ। उनी भन्छिन्, “हामीसँग जमीन नभएकाले खेतीपाती गर्ने स्थिति छैन। यस्तोमा सरकारले होमस्टे सञ्चालनमा सघाइदिए महिलाहरू बाध्य भएर बाहिर काम गर्न जानु पर्दैन। परिवारको खर्च धान्ने आम्दानी यहींबाट हुन्छ।” हिमालखबरबाट ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै