संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बाढी प्रभावित, भन्छन्– ‘ज्यान त जोगियो तर अन्नपात सकियो’

    बाढी प्रभावित, भन्छन्– ‘ज्यान त जोगियो तर अन्नपात सकियो’

    संघारी न्युज
    २७ असार २०८१
    1.5k
    Shares

    कञ्चनपुर । बेलौरी नगरपालिकामा तीन दिनअघि चौधर नदी र दोदा नदीको बाढी बस्तीमा पस्दा विस्थापित भएका परिवार मौसममा क्रमिक सुधारसंगै घर फर्कन थालेका छन् । डुबानबाट विस्थापनमा परेका परिवारमध्ये दुई सय परिवार घर फर्किसकेका छन् ।

    बस्तीमा अझै डुबानकै अवस्था रहँदा एक हजार तीन सय परिवार विद्यालय, सामुदायिक भवन, धार्मिक भवनलगायत सुरक्षित स्थानमा आश्रय लिएका छन् । विस्थापनमा परेका परिवारलाई नगरपालिकाले खाद्यन्न राहत उपलब्ध गराईरहेको छ ।

    विस्थापित भई सुरक्षित स्थानमा बसेका परिवार बसेको ठाउँमा पुगेर राहत वितरण सुरु गरिएको नगर उपप्रमुख जोगराम चौधरीले बताए । “डुबान अझै रहेकाले हिँडेर विस्थापित परिवारसम्म पुग्न सकिने अवस्था छैन”, उनले भने, “ट्रयाक्टर मार्फत विस्थापित परिवारसम्म पुगेर राहत वितरण जारी राखेका छौँ ।”

    बेलडाँडीको इमलियास्थित निर्माण गरिएको माटोको बाँध भत्केर चौधर नदी नगरपालिकाको वडा नं १० को कुण्डा, बन्दाजाला, भुडा, भुडागौँडी, सडकघाट, शिवनगर वडा नं ८ को कानपुर, पिसिएन टोल, कलकत्ता, कलकत्ता बजार, पचुँइको पश्चिम टोलमा पसेको थियो । वडा नं ७ का १० घर र वडा नं २ का सात घर पनि डुबानमा परेका थिए ।

    यसैगरी, वडा नं ५ को रामनगरमा दोदा नदीको बाढी पस्दा स्थानीय बासिन्दा डुबानमा परेका थिए । बाढी अझै नघटेकाले धेरै विस्थापित परिवार सुरक्षित स्थानमा बसिरहेका छन् । घरभित्र अन्न भण्डारणका लागि राखेका माटोका भकारी (डेहरी) बाढीको पानीले भिजाउँदा फुटेका छन् ।

    भकारी फुट्दा पूरै अन्न भिजेर कामै नलाग्ने भएको नगरउपप्रमुख चौधरीले बताए । “भकारी फुट्दा केही अन्न भिजेर उम्रिने अवस्थामा पुगेको छ भने केही अन्न बाढीले बगाएको छ ।” यसबाट आदिवासी जनजाति थारू समुदाय बढी प्रभावित भएका छन् । वर्षभरिका लागि खान राखेको अन्न पूरै बाढीले विलिन भएपछि भोकमरीको अवस्था सृजना भएको उनले बताए ।

    धान, गहुँ, मकै, तोरी, केराउ, मुसुरो, चनालगायत अन्नसँगै घरभित्र दैनिक खानका लागि राखिएको चामल, पिठोलगायत बाढीको पानीले भिजाउँदा कामै नलाग्ने भएको छ ।

    डुबान क्षेत्रमा सरुवा रोगको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी दातृ सङ्घसंस्थासँग मद्दतका लाग गुहार मागिएको उपप्रमुख चौधरीले बताए । स्वास्थ्य शाखाबाट पनि स्वास्थ्यकर्मीको टोलीलाई सतर्क अवस्थमा राखिएको छ । बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका बाढी प्रभावित परिवार पनि मौसममा सुधार हुन थालेपछि घर फर्कन थालेको बताइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com