संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलाली कारागारभित्रै एक यूवकले गरे विष सेवन

    कैलाली कारागारभित्रै एक यूवकले गरे विष सेवन

    संघारी न्युज
    ३ असोज २०८१
    1.4k
    Shares

    कैलाली । कैलाली कारागारभित्रै एक यूवकले विष सेवन गरेर आत्महत्या गरेका छन् । उनलाई आफ्नै प्रेमिकाले कारागारभित्र विष पुर्याइदिएको खुलेको छ ।

    जिल्लाको घोडाघोडी नगरपालिका २२ वर्षका यूवक सोमवार दिउँसो विष सेवन गरेका थिए । दिउँसो करिब ३ बजेतिर कारागारको शौचालयमा लडेको अवस्थामा भेटिएका दीपकलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

    करिब ६ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए । दाजु बहिनी नाता पर्ने (दाजुभाइका छोराछोरी) किशोरीसँग प्रेम सम्बन्ध रहेको, त्यही क्रममा किशोरी गर्भवती बनेको तथा यूवकमाथि मुद्दा दर्ता भएपछि किशोरीको गर्भपतन गरिएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    बहिनीलाई गर्भवती बनाएको भन्दै २०८० माघ ७ गते यूवकविरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए । हाडनातामा जबरजस्ती करणी मुद्दा दायर भएपछि उनी कारागार चलान भए ।

    कारागारमै रहँदा पनि उनीहरुबीच फोन सम्पर्क र प्रेममा भने कमी नआएको अनुसन्धानबाट खुल्न आएको छ । त्यही क्रममा किशोरी अन्तिम पटक २६ गते दीपकलाई कारागार भेट्न आएकी थिइन् ।

    ‘तीनवटा झोलासहित उनी कारागार आएकी थिइन् । झोलामा एउटा अमिलो दानाहरू अर्कोमा फलफूल छ । अर्को झोलामा अचार थियो’, कारागार स्रोतले भन्यो, ‘त्यही अचारको डब्बाको तल्लो भागमा लुकाएर सन्फास नामक विष कारागार ल्याएको देखिन्छ ।’

    कारागारमा किशोरीलाई प्रहरीले अचार चाख्न पनि दिएको थियो । किशोरीले किशोरलाई आफूले ल्याएको सामानसहित १ हजार रुपैयाँ पनि थमाइन् ।

    ‘दुवैले विष सेवन गरेर मर्ने समझदारी अनुसार उनले कारागारमा विष ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी उच्च स्रोतले भन्यो, ‘३१ गते किशोरले विष सेवन गरे तर किशोरीले विष सेवन गर्नुभन्दा पहिल्यै प्रहरीले नियन्त्रणमा लियो ।’

    किशोर दैनिक रुपमा किशोरीलाई फोन गर्ने र डेढ दुई घण्टासम्म पनि उनीहरुबीच फोन सम्पर्क हुने गरेको प्रहरीले जनाएको छ । ३० गते पनि किशोरले फोन गरेका थिए किशोरीले फोन उठाइनन् । त्यसपछि उनले आफ्नो घरमा परिवार र किशोरीका बुवासँग पनि लामै संवाद गरेको अनुसन्धानबाट खुलेको छ । तर, उनीहरुबीच के संवाद भयो भन्नेबारे प्रहरीले जानकारी दिएको छैन ।

    किशोरी १०, १५ दिनमा किशोरलाई भेट्न आउने गरेको र त्यस क्रममा विभिन्न सामानहरू ल्याइदिने गरेको प्रहरीले जनाएको छ ।

    २६ गते ल्याइदिएको विष किशोरले ३१ गते सेवन गरेको र त्यही दिन उनको ज्यान गएको हो । तर, अहिलेसम्म पनि उनको शव उठाइएको छैन ।

    किशोरले विष सेवन गरेर ज्यान गुमाएपछि प्रहरीले उनी रहने कोठामा खानतलासी गरेको थियो । त्यो क्रममा उनले लेखेको ३६ पानाको सुसाइड नोट प्रहरीले फेला पारेको छ । उक्त नोटमा किशोरी र आफूले सँगै विष सेवन गर्ने सङ्केत गरेका छन् । त्यसलगत्तै प्रहरीले किशोरीलाई नियन्त्रणमा लिएको थियो ।

    प्रहरीले किशोरीलाई नियन्त्रणमा लिएपछि उनले आफूले विष पुर्याएको बयान प्रहरीलाई दिएकी थिइन् ।

    सुसाइड नोटमा यूवकले परिवारका सबै सदस्यहरुलाई सम्बोधन गरेर आफू मर्ने मितिसमेत उल्लेख गरेका छन् ।

    ‘हामी हजुरहरूको जिन्दगीमा बाधक भएर बाँच्न चाहन्नौँ, मान्छेलाई मर्नभन्दा अगाडि तेरो अन्तिम इच्छा के छ भनेर सोध्छन् । मलाई सोधेको भए मेरी सानु देऊ अलग्गै संसारमा गएर रमाउँछौँ हामी भन्थे । तर, हामीलाई त सोध्ने कोही पनि छैन । अब अर्को जुनीमा रमाउने हो’, दीपकले लेखेका छन्, ‘वि।स २०८१ भदौ ३१ गते यो दिन हाम्रो अन्तिम दिन हो यो धर्तीमा त्यसपछि कसैलाई पनि केही तनाव हुँदैन ।’

    उनले अन्तिम दिन भनेर डायरीमा लेखेकै दिन विष सेवन गरेका थिए । विष पुर्याएकी किशोरीलाई प्रहरीले नियन्त्रण लिए पनि जाहेरी नआएको भन्दै मुद्दा दर्ता गरेको छैन ।

    ‘किशोरका बुवा भारतबाट आउँदै गरेको कुरा छ । उनको शव पनि उठेको छैन जाहेरी पनि आएको छैन’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले जानकारी दिए ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com