संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने पर्यटकको प्रवेश शुल्क सहकारी संस्थालाई

    घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने पर्यटकको प्रवेश शुल्क सहकारी संस्थालाई

    संघारी न्युज
    २७ कार्तिक २०८१
    1.3k
    Shares

    कैलाली । घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने पर्यटकले होटेल, डुङ्गा, पोसाक, क्यामरा भाडामा लगेर दैनिक हजारौँ रुपियाँ खर्चिने गरेको पाइन्छ तर यहाँको आम्दानी लाई घोडाघोडी संरक्षण तथा जनजागरण मञ्च नामक गैरसकारी संस्थाले लिने गरेको छ । जैविक विविधता तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालमा अचेल आन्तरिक तथा बाह्य पर्यटकको आगमन दिनप्रतिदिन बढ्दै गएको छ ।

    यहाँ आउने प्रत्येक व्यक्ति १० रुपियाँ प्रवेश शुल्क तिर्ने गर्दछन् । टिकट काउन्टरका कर्मचारी दीपक शाहका अनुसार दैनिक पाँच सयदेखि दुई हजारको सङ्ख्यामा पर्यटक घुम्न आउने गरेका छन् । उनले भने, “तिहारपछि घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।”

    मञ्चले प्रवेश शुल्कबाट उठाएको रकम तीन चार वर्षदेखि सार्वजनिक गरेको छैन । एक स्थानीयले भने, “मञ्चले अहिलेसम्म टिकटबाट उठेको पैसा सार्वजनिक गरेको छैन । देखिने गरेर विकासको काममा पनि लगाएको छैन ।” सार्वजनिक सम्पत्ति केही मानिसको कमाइ खाने भाँडो भएको स्थानीहरुको आरोप छ ।

    घोडाघोडीमा स्थानीयले विभिन्न जातजातिका पोसाक भाडामा दिएर तथा तस्बिर खिचेर पनि राम्रै आम्दानी गरेका छन् । अहिले तस्बिर खिच्न ३२ वटा क्यामरा प्रयोग हुने गरेका छन् भने सात वटा पोसाक भाडामा दिने पसल छन् । यसबाट घोडाघोडीमा धेरै कमाइ हुने स्थानीयको बुझाइ छ ।

    व्यावसायिक प्रयोजनका लागि तस्बिर खिच्नेहरूले न कुनै ठाउँबाट अनुमति लिएका छन् न त दर्ता नै गरेका छन् । तस्बिर खिच्ने एक व्यक्तिले दैनिक एक हजारदेखि पाँच हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका उनीहरू बताउँछन् । त्यो आम्दानीबापतको न कर तिर्नु पर्छ न त अन्य कुनै काममा खर्च हुन्छ । बेला बेला तिनै फोटोग्राफर तस्बिर खिच्ने होडबाजीमा लड्ने गरेका र पर्यटकलाई दुव्र्यवहार गरेपछि प्रहरीको कारबाहीमा पर्ने गरेका छन् ।

    घोडाघोडीको आम्दानी सम्झौताबमोजिम नगरपालिकालाई बुझाउने कार्य इकोटेल रिसोर्टले गरेको छ । रिसोर्टका सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले २०७५ सालमा नगरपालिका, घोडाघोडी सामुदायिक वन र रिसोर्टबिच त्रिपक्षीय सम्झौता गरेर आफूले घोडाघोडीमा व्यवसाय सुरु गरेको बताए। उहाँले ओझुवा र पूर्वी ओझुवा तालमा डुङ्गा सञ्चालन, माछापालन र रिसोर्ट सञ्चालनका लागि वार्षिक आम्दानीमध्ये २५ प्रतिशत नगरपालिका, १५ प्रतिशत सामुदायिक वन र ६० प्रतिशत लगानीकर्ताको हुने गरी १५ वर्षका लागि ठेक्का सम्झौता भएको बताए ।

    दुई वर्ष कोरोनाकालमा खासै नचले पनि अहिले पर्यटकको आगमन बढ्न थालेपछि आम्दानी राम्रै भएको शाह बताउछन् । उनले पाँच वर्षमा डुङ्गा सयरको टिकट बिक्रीबाट ३० लाख रुपियाँ आम्दानी गरेको बताए । साथै नगरपालिकालाई हालसम्म पाँच लाख रकम सम्झौता अनुसार बुझाईसकेको उनले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com