संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    गहुँ छर्नेबेला मल नपाएपछि किसान समस्यामा

    गहुँ छर्नेबेला मल नपाएपछि किसान समस्यामा

    संघारी न्युज
    १० मंसिर २०८१
    1.3k
    Shares

    कैलाली । खेतबारीमा गहुँ छर्ने वेला रासायनिक मल नपाएपछि स्थानीय किसानहरू समस्यामा परेका छन् । मागअनुसार आपूर्ति हुन नसक्दा कैलालीमा अहिले डिएपी मलको अभाव भएको छ । कतिपय किसान खेतबारी खनजोत गरेर ठिक्क पारे पनि मल पाउने आसमा गहुँ छर्न पर्खिरहेका घोडाघोडी नगरपालिका साढेपानीका छेदालाल चौधरीले बताए । साढे तीन बिघामा खेती गर्दै आएका उनले गहुँ छर्ने वेला हाल्नुपर्ने डिएपी मलको पर्खाइमा रहेको बताए ।

    गत असोजमा लगेको ९० बोरा डिएपी मल सकिएपछि कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीसँग थप मल माग गरेको उनले बताए । यहाँ मल नपाएपछि सीमा नाकानजिकका किसान सीमावर्ती भारतीय क्षेत्रबाट लुकीछिपी मल ल्याउने गरेका छन् ।

    सीमावर्ती कैलारी गाउँपालिकाको हसुलियाका एक किसानले भारतबाट दुई बोरा मल ल्याएर तोरी छरेको बताए । ‘गाउँको सहकारी धाउँदा मल पाइएन । पारिबाट ल्याएर तोरी छरेँ,’ उनले भने ।

    सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक नवलसिंह बोगटीले गहुँ छर्ने वेला आवश्यक पर्ने डिएपी मल मागअनुसार वितरण गर्न नसकिएको बताउछन् । हिउँदे बालीका लागि यहाँ करिब सात हजार मेट्रिकटन डिएपी मल आवश्यक पर्ने कार्यालयको अनुमान छ । कार्यालयले साउनयता तीन हजार दुई सय ३४ मेट्रिकटन डिएपी मात्र बिक्री गरेको छ ।

    हाल एक सय १९ मेट्रिकटन डिएपी मौज्दात रहेकोमा त्यसले माग धान्न नसक्ने बोगटीको भनाइ छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com