संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विपतले ढकेल्यो बदाम खेती तर्फ, आयआर्जन सहज हुदै

    विपतले ढकेल्यो बदाम खेती तर्फ, आयआर्जन सहज हुदै

    संघारी न्युज
    १४ मंसिर २०८१
    2.2k
    Shares

    कैलाली । कैलारी गाउँपालिका ३ मोहनपुर बस्तीका बासिन्दालाई बाढीले बदाम खेतीतर्फ ढकेलेको छ । मोहनपुरका ५५ वर्षीय रामदुलारी चौधरी पछिल्लो समय बदाम (मुमफली) खेती गर्दै आएकी छन् । मोहना नदीमा बर्सेनि आउने बाढीले धान रोप्ने खेत बगरमा परिणत गरेपछि उनले धानको सट्टा बदाम खेती गर्दै आएकी हुन् ।

    चौधरीले यो वर्ष एक कट्ठा जमिनमा करिब एक क्विन्टल बदाम फलाएकी छन् । उनले भनिन्, ‘खेतमा धान हुँदैन । त्यही खेतमा बदाम लगायौँ । राम्रै फलेको छ । यसैले घरको गुजारा चल्छ ।’

    कैलारी गाउँपालिका–३ का वडा सदस्य सैतुराम चौधरी पनि विगत १० वर्षदेखि बदाम खेती गर्दै आएका छन् । उनले मोहना नदीको बगरमा परिणत भएको ४ कट्ठा जमिनमा बदाम खेती गर्दै आएको जानकारी दिए ।

    चौधरीले भने, ‘खेत सबै बालुवामा परिणत भएको छ । त्यसमा अन्य अन्न उत्पादन हुँदैन । तर बदाम भने राम्रै उत्पादन हुँदै आएको छ । यो वर्ष साढे २ क्विन्टल फलेको छ ।’

    रामदुलारी र सैतुराम मात्रै होइन, ९३ घरधुरी रहेको मोहनपुर गाउँका हरेक व्यक्तिले पछिल्लो समय व्यावसायिक रूपमा बदाम खेती बढाएका छन् । चालु वर्ष ३ क्विन्टल बदाम फलाएका मोहनपुरकै दिनेश चौधरीले यसको बजार पनि राम्रो भएको बताए ।

    घरबाटै बिक्री भइरहेको बताउँदै उनले काँचो बदाम प्रतिकिलो १६० र भुटेको प्रतिकिलो २०० मा बिक्री भइरहेको जानकारी दिए ।

    कैलारी गाउँपालिका वडा नं। ३ स्थित मोहनपुरसँगै, भर्री, शिवरन्तपुर, वडा नं। ५ को विसनपुर, छोटी पलिया, वडा नं।७ को रतनपुर, भुइयाँफाँटा लगायतका गाउँका गरी करिब ५ सय बढी किसानले व्यावसायिक रूपमा बदाम खेती थालेका छन् ।

    पछिल्लो समय बाढी प्रभावित बस्तीका स्थानीयहरू धान फल्ने खेतमा बदाम खेती गर्दै आएका हुन् । बाढी प्रभावितहरूको वैकल्पिक आयआर्जनको रूपमा बदाम खेती विस्तार हुँदै गए पनि स्थानीय तहले त्यसको प्रवर्द्धन तथा विकासको लागि कुनै कार्यक्रम नल्याएको किसानहरूको गुनासो छ ।

    वडा सदस्यसमेत रहेका सैतुराम चौधरीले आफूले पालिकामा बदाम खेती प्रवर्द्धनका लागि माग गरे पनि सुनुवाइ हुन नसकेको बताए । गाउँपालिका कृषि शाखा प्रमुख मैयाँ चौधरीले पनि चालु आर्थिक वर्षमा धान, गहुँ, वसन्ते मकै, तरकारी खेती प्रवर्द्धन कार्यक्रम रहे पनि बदाम खेती प्रवर्द्धनको लागि कार्यक्रम नरहेको स्पष्ट पारे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com