संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिममा एक लाख ५१ हजारबढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

    सुदूरपश्चिममा एक लाख ५१ हजारबढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

    संघारी न्युज
    २१ माघ २०८१
    1.2k
    Shares

    किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउने अभियानमा सुदूरपश्चिमका एक लाख ५१ हजार २९१ जना किशोरी सहभागि हुने भएका छन् । प्रदेशका नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानमा किशोरीलाई खोप लगाउन विद्यालय आईरहेका र विद्यालयबाट बाहिरिएकालाई खोप लगाउन लागेको स्वास्थ्य निर्देशनलय दीपायलले जनाएको छ ।

    खोप दिनुपर्ने सङ्ख्या बढी रहेको कैलाली जिल्लाको हकमा भने फागुन ४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बमले खोप अभियानका क्रममा कक्षा छ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका किशोरीलाई पनि खोप लगाउन लागिएको बताए । खोप अभियानका लागि एक लाख ८० हजार खोप व्यवस्थापन गरिएको छ ।

    उनले भने, ‘विद्यालयमा अध्ययनरत एक लाख ४५ हजार ८९४ किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका पाँच हजार ३७९ किशोरीलाई एचपिभी खोप लगाउन लागिएको छ ।’ खोप लगाउनुपर्ने किशोरीमध्ये सबैभन्दा बढी कैलालीमा ५० हजार ६१३ र कञ्चनपुरमा २७ हजार ५०० किशोरी छन् ।

    सबैभन्दा कम दार्चुलामा सात हजार २९१ किशोरी छन् । खोप अभियानका लागि प्रदेशभरि दुई हजार ८०० भन्दा बढी स्वास्थ्यकर्मी र करिब पाँच हजार स्वयंसेवी परिचालन गर्न लागिएको छ ।

    अभियान सञ्चालनका लागि हरेक विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको र त्यहाँ छुटेकालाई स्वास्थ्य केन्द्रमार्फत पनि यो खोप दिन व्यवस्थापन गरिएको निमित्त निर्देशक बमले बताए ।

    उनले भने- ‘नेपालमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएकाले खोप लगाइसकेपछि पाठेघरको क्यान्सरको समस्या घट्ने विश्वास गरिएको छ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com