कैलाली । जैविक विविधताले महत्वपूर्ण तराईकै ठुलो सिमसार क्षेत्र घोडाघोडी तालमा रहेको मिचाहा प्रजातिको बेसरम झार हटाउन थालेका छन् । मिचाह प्रजातीका बेसरम झारले ढाक्दै गएपछि ताल साँघुरिदै गएको हो । ह
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा अहिले घोडाघोडी तालमा बढ्दै गएको बेसरम झार हटाउन थालिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन प्रमुख रामचन्द्र कँडेलले जानकारी दिए ।
२०७८ सालमा प्रदेश सरकारले नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेपछि गत वर्षबाट बजेट छुट्याएर घोडाघोडी तालको मिचाहा प्रजाति हटाउन थालिएको हो ।
चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले घोडाघोडी तालको उत्तरी र पूवी भाग बेसरम झारले ढाक्दै गएको बताउँछन् । जुन कारण ताल क्षेत्र साँघुरिँदै गएको हो । “घोडाघोडी तालको उत्तर क्षेत्रको बड्का सिराहा, छोड्की सिराहा, छोट्की छिङ्टिलिया, पूर्वी क्षेत्रको तालको कुना कुनामा पानीको मात्र घट्दै गएपछि बेसरमले ढाकेर ताल देखिन छोडेको छ ।”
बेसरम दलदल जमिनमा धेरै फैलिने मिचाहा प्रजाति भएका कारण यसलाई पूर्णरुपमा हटाउन तालको सबैतिरबाट पूर्ण नष्ट गर्नुपर्ने चौधरीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्ष बजेट छुट्याएर बेसरम झार हटाउन सुरु गरिएको डिभिजनल वन अधिकृत कँडेलले जानकारी दिए ।
डिभिजन प्रमुख कंडेलले यस वर्ष घोडाघोडी तालको मिचाहा प्रजाति बेसरम झार हटाउने कार्यका लागि पाँच लाख रुपियाँ बजेट छुट्याएको जानकारी दिए । गत वर्ष तालमा ढाकिएको बेसरम हटाउन तीन लाख रकम खर्च गरिएको थियो ।
बेसरम हटाउन स्थानीय व्यक्तिहरु खटिएका छन् । घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चको सहकार्यमा स्थानीय स्रोतसाधनलाई परिचालन गरी बेसरम हटाउन थालिएको हो । मिचाहा झारले पानीको सतहलाई पूर्णरूपमा ढाकेर सूर्यको प्रकाशलाई भित्र पस्न अवरोध गर्दछ । जुन कारण पानीभित्रका रैथाने वनस्पति मर्न थालेको वन अधिकृत कँडेल बताउँछन् ।
“यसले पानीमा अक्सिजनको मात्रा पनि घटाउँछ । जसले माछा र अन्य जलचरको जीवन सङ्कटमा पर्छन् । चराहरूले आहारा खोज्ने र बस्ने खुला पानीको सतह समाप्त हुँदा उनीहरूको वासस्थानसमेत नष्ट हुन्छ ।”
नेपाल सरकार सिमसार परियोजनाले एक दशक अगाडि घोडाघोडी ताल क्षेत्रको जैविक विविधता संरक्षणमा काम गरेको थियो । हातको पन्जा आकारमा फैलिएको ताल वरपर सामुदायिक वन र मानव बस्ती छ । यसको प्रत्येक कुनामा अनधिकृत रूपमा माछा मार्ने, कमलको फूल, फल टिप्ने कार्यले जैविक विविधता मासिँदै गएको स्थानीय बताउँछन् । घोडाघोडी ताल सन् २००३ मा रामसार सूचीमा सूचीकृत भएको हो । तालको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ ।
रामसार सूचीमा सूचीकृत हुँदा ताल क्षेत्रमा ठुला तर कम गहिरो गरी २० वटा ताल तलैयालाई समेटिएको थियो । यहाँ सङ्कटापन्न प्रजातिका कछुवा, ओत, गोही, चरा हाँस र अन्य स्तनधारी पाइन्छन् । तालमा ४५० प्रजातिका वनस्पति, २९ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, एक प्रजातिको गोही, सात प्रजातिका सरिसृप, ४८० प्रजातिका रैथाने र घुमन्ते चरा रहेको रेर्कडमा उल्लेख छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै