संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महिला नेतृत्वको जग बन्दै ‘भलमन्सा’ प्रथा

    महिला नेतृत्वको जग बन्दै ‘भलमन्सा’ प्रथा

    रञ्जना बिसी
    ४ असार २०८२
    1.4k
    Shares

    कैलाली । गाउँको मुख्य व्यक्तिका रूपमा बरघर (भलमन्सा) चुन्ने परम्पराले थारु समुदायका महिलाहरु नेतृत्व लिन अग्रसर हुन थालेका छन् । हरेक गाउँमा एक भलमन्सा अनिवार्य हुन्छ । माघ महिना अर्थात् थारु समुदायको नयाँ वर्षको सुरुवातसँगै, गाउँमा भलमन्सा चयन हुन्छ, जसले समग्र गाउँको नेतृत्व सम्हाल्नुपर्छ ।

    भलमन्साको निर्णयबाटै सिंगो गाउँका कामकाज सञ्चालन हुन्छन् । सानो विवाद होस् या ठूलो घटना, विकास निर्माण होस् या आतिथ्य सत्कार । जन्मदेखि मृत्युसम्मका सबै सामाजिक गतिविधिमा भलमन्साको उपस्थिति अनिवार्य हुन्छ । जुन भूमिका परम्परादेखि पुरुषहरु सम्हाल्दै आएका थिए । पछिल्लो समय थारु महिला यो भूमिकामा देखिन थालेका छन् ।

    नेतृत्व क्षमता, समझदारी र निर्णायक भूमिकामार्फत सफल भलमन्सा बन्न सक्ने कुरा महिलाहरुले प्रमाणित गरेका छन् । जसको उदारण हुन घोडाघोडी नगरपालिका–३ नारायण गाउँकी सितावी कठरिया । १ सय ७८ थारु र ९१ पहाडी समुदायको घरधुरी रहेको नारायण गाउँको नेतृत्व तीन वर्षदेखि सितावीको हातमा छ । थारा समुदायिक वन उपभोक्ता समूहकी सचिव भएर ५ वर्ष काम गरिसकेकी उनी अहिले सिङ्गो गाउँको नेतृत्व एक्लै सम्हाल्न सक्ने भएकी छिन् । ‘मैले जेजति कुरा सिके सबै सामुदायिक वनको कार्यसमितिमा बसेपछि सिके,’ उनी भन्छिन्, ‘त्यो भन्दा पहिला त म दुई मान्छेको अगाडि बोल्न पनि सक्दैनथे ।’

    आफू भलमन्सा भएर आएपछि अन्य महिलाको व्यक्तित्व विकासमा पनि सहयोग पुगेको उनी बताउँछिन् । महिलाहरु आफ्ना समस्या महिलासँगै बाँड्ने भएकाले उनीहरुका समस्या सम्बोधन हुँदा महिला सशक्तिकरणमा सहयोग पुगेको उनको बुझाइ छ । सुरुको वर्ष भलमन्साको काम गर्न असहज लागे पनि अहिले सितावीलाई सहज लाग्न थालेको छ । गाउँका समस्याबारे उनी अहिले विभिन्न सार्वजनिक कार्यक्रमसँगै स्थानीय र प्रदेश सरकारसम्मम खुलेरै राख्न सक्छिन् ।

    गाउँमा समस्या समाधान गर्ने, मुद्दा मामिला मिलाउने, विकास निर्माणदेखि, विपन्नलाई सहयोग गर्ने सबै काम उनको टाउकोमा छ । यत्रो काम गर्दा पनि कतैबाट सहयोग नपाउँदा सितावि निराश हुन्छिन् । भन्छिन्, ‘भलमन्सालाई केही छैन । वर्षको १५ सय मात्र दिन्छन्, त्यसले के हुन्छ रु अन्य गाउँमा धान दिने चलन छ । मेरो गाउँमा त्यो पनि छैन ।’

    गाउँमा हुने सबै क्रियाकलापबारे छलफल भलमन्साकै घरमा हुन्छ । काम परेर गाउँमा आउने कोही पनि भलमन्साकै घरमा पुग्छन् । त्यस्तो बेला घरआएका सबैलाई चिया, नास्ता र कहिलेकाँही खानाको पनि व्यवस्था गर्नुपर्छ । भलमन्साबाट आम्दानी केही नभए पनि खर्च हुने बाटो अनेक भएको उनी बताउँछिन् । सितावी भलमन्सा भएपछि गाँउमा थुप्रै परिवर्तन भएका छन् । बाटोघाटो, पालिकाबाट आधुनिक कृषियन्त्र उपलव्ध गराउनदेखि महिलालाई स्वरोजगार बनाउन विभिन्न तालिम उनकै पहलमा सञ्चालन भए । तर पनि पहिलेका पुरुष भलमन्सा र अन्य गाँउका पुरुषले उनलाई साथ दिएका छैनन् । उसो त भलमन्सा चयन हुने समयमा गाउँका पुरुषहरु उनको विरुद्धमा थिए । तर बाक्लो महिला उपस्थितिका अगाडि पुरुषहरुको केही नचलेपछि सितावी चयन भएकी थिइन् । अहिले ७६ जना भलमन्सा रहेको घोडाघोडीमा नगर भलमन्सा समितिकी उनी कोषाध्यक्ष छिन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com