कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिका–८, पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै हुनु हुन्छ । उमेरले पाको देखिए पनि उनको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया) नृत्य खेलिरहेको उनलाई देख्दा जोकोही चकित पर्छन् ।
दार्चुलाको धुलगडाबाट उनी तराई बसाइँ झर्नु भरेको करिब तीन दशक बितिसकेको छ । पहाडको कठोर जीवन छाडेर सहज जीवनको खोजीमा तराई झर्दा परम्परा पनि हराउँदै गएको थियो । द्रोपती धामीलाई भने पहाडको त्यो संस्कृतिको सम्झना अझै ताजा छ । “पहाडमा हुँदा महिलाहरू भेला भएर छलो खेल्थ्यौँ”, उन सम्झे, “तर तराई झरेपछि विस्तारै त्यो परम्परा हराउँदै गयो ।”
तराई झरेसँगै मौलिक पहिरनको स्थान आधुनिक पहिरनले लिन थाल्यो । टको, झुमझुमी, पागडो, घाँघरो, चोलो, पोती, डोरीजस्ता पहिरन लगाउन छाडिँदै गए । द्रोपती धामीका अनुसार लोकलाज, आधुनिक देखिने चाहना र परम्परागत कपडा सिउने कारिगरको अभावले गर्दा धेरैले पुरानो पहिरन त्यागे । “केहीलाई आधुनिक बन्ने रहर थियो, केहीलाई लगाउने रहर हुँदाहुँदै पनि सिउने मान्छे नै भेटिएन”, उनले भने ।
परम्परागत पहिरन हराउँदै जाँदा त्यससँग जोडिएको ‘छलो’ नृत्यको रौनक पनि हराउँदै गयो । यही अवस्थाले द्रोपतीलगायत केही महिलालाई चिन्तित बनायो । त्यसैक्रममा गाउँका महिलाहरू भेला भएर मौलिक पहिरन जोगाउने निर्णय गरे । छलो समाज गठन गरियो ।
समाजकी सक्रिय सदस्य चन्द्रा ठगुन्ना भन्नु हुन्छ, “पहिरन सिउन सबैलाई आउँदैनथ्यो, पहाडमा लगाइनेजस्तै पहिरनका लागि कपडा छानेर सिउने मान्छे खोज्यौँ र सिउन लगायौँ ।” अहिले ती महिलाहरू सुदूरपश्चिमको महत्त्वपूर्ण चाड गौरा, देउडा प्रतियोगिता, विभिन्न सामाजिक समारोह, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफ्नै मौलिक पहिरनमा सहभागी हुन थालेका छन् । परम्परागत पहिरनमै छलो नृत्यसमेत देखाउने गर्दछन् ।
परम्परागत पहिरन तयार गर्न तीनदेखि पाँच हजारसम्म खर्च लागे पनि त्यसले पहिचान जोगाएको अनुभूति छ । “यो पहिरनले हामीलाई हाम्रो संस्कृति सम्झाउँछ”, चन्द्रा भन्छन्, “अरूलाई पनि संस्कृति जोगाउन प्रेरित गर्छ ।”
छलो समाजमा २२ वर्षदेखि ६८ वर्षसम्मका ४० बढी महिला आबद्ध छन् । पाका महिलाले तन्नेरीलाई मौलिक पहिरनको महत्त्व बुझाउने मात्र होइन, छलो नृत्य पनि सिकाउँदै आएका छन् । पहिला पुरुष र महिला मिलेर छलो खेल्ने चलन थियो । तर अहिले पुरुषहरूले यो नृत्य छाडेपछि महिलाले नै परम्परा जोगाइरहेका छन् ।
परम्परागत पहिरनले पहिचान जोगिएपछि अहिले आधुनिक पहिरन लगाउने महिलाहरू पनि स्वःस्फुर्त रूपमा मौलिक पहिरन सिउन थालेका छन् । पछिल्ला पाँच वर्षयता महिला सङ्गठित रूपमा परम्परा र पहिरन संरक्षणमा लागेका छन् ।
पचपन्न वर्षीया अमला ठगुन्ना संस्कृति र पहिरन जोगिएकामा निकै खुसी हुनुहुन्छ । “अरू समुदायले आफ्नो पहिरन लगाएको देख्दा हामीले किन छाड्यौँ भनेर मनमा द्वन्द्व चल्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले आफैँ पहिरन लगाएर छलो देखाउन जाँदा छुट्टै आनन्द मिल्छ ।”
पहाडमा महिलाहरूले छिट ९फर्कावाद०को कपडाबाट बनाइएको आठदेखि १२ पाटासम्मको घाँघरो–चोलो लगाउने गर्थे । यस्तो पहिरन लगाउने महिलालाई सभ्य र सम्पन्न परिवारको रूपमा हेरिन्थ्यो । घाँघरो–चोलोसँगै आँगडो, टाउकामा सेतो कपडाको टँको, कम्मरमा सेतो पागडो बाँधिन्थ्यो । गहनामा सुनको नथिया, कानको मुदणा, नाकको बुलाकी, हातमा चाँदीका बाला, घाँटीमा चाँदीको सुत्ता र खुट्टामा पायल लगाइन्थ्यो ।
पूर्वशिक्षक शङ्करदत्त जोशीका अनुसार ती गहना गाउँघरकै लुहार र तिरुवा जातिका व्यक्तिहरूले बनाउँथे । पहाडको कष्टकर जीवनलाई त्यागेर तराई बसाइसराइपछि अन्य समुदायको चालचलनमा रम्न थालेसँगै पुरानो लवाइखवाई हराउँदै गएको उहाँ बताउनु हुन्छ । “परम्परा हरायो भने पहिचान नै हराउँछ”, उहाँ भन्नु हुन्छ, “त्यसैले परम्परा जोगाउने महिलालाई सबैले हौसला दिनु पर्छ ।”
छलोमा बाजा बजाउँदै आएका जयबहादुर टमटाले अहिले पञ्चेबाजाको अभाव रहेको गुनासो गर्नुभयो । “बाजाबिना छलो अधुरो हुन्छ”, उहाँ भन्नु हुन्छ, “बाबुबाजेकै पालादेखि बजाउँदै आएका हौँ, यसलाई निरन्तरता दिन स्थानीय सरकारले चासो दिनु पर्छ ।”
शुक्लाफाँटामा केही महिलाको प्रयासले मौलिक पहिरन र छलो नृत्य पुनर्जीवित हुँदै गएको छ । “महिलाहरूको यो पहल केवल नाचगान वा पहिरनमा सीमित छैन, यो सुदूरपश्चिमको पहिचान, इतिहास र सांस्कृतिक आत्माको संरक्षणको सङ्घर्षका रूपमा रहेको छ ा” रासस
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै