संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कुतियाकबरवासीको गुनासो : चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्

    कुतियाकबरवासीको गुनासो : चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्

    संघारी न्युज
    ६ कार्तिक २०७९
    1.1k
    Shares

    महेन्द्रनगर, ६ कार्तिक । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । 
    स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । ‘चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि हेर्दैनन’, स्थानीय बिनु सुनारले भने, ‘हामी कुन हविगतमा बसेका छौँ, उनीहरू सबै बिर्सिन्छन् ।’ 
    यो गाउँ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा छ । यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो । यहाँ चार सयभन्दा बढी व्यक्तिको बसोबास छ । कुतियाकबरवासीको समस्या समाधानमा जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ। उनीहरु बर्सेनि महाकाली र जोगबुढा नदीमा आउने बाढीको चपेटामा पर्छन् । 
    ‘सबैभन्दा ठूलो समस्या महाकाली र जोगबुढा नदीको छ, नदीले जमिन कटान गरेर सकिसक्यो’, स्थानीय खड्के बुढाले भने,‘बाढी आएर ज्यान जोगाउन मुस्किल पर्छ ।’ गत कात्तिकमा आएको बाढीले सबैभन्दा बढी प्रभावित बनेको थियो, कुतियाकबर । विसं २०२८ मा तत्कालीन सरकारले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुँदै गएको छ ।
    ‘पहिला दुई सय बढी घरधुरी थिए, नदीले जमिन बगर बनेपछि स्थानीय यहाँबाट विस्थापित भएका छन’, उनले भने, ‘अहिले ४० परिवारमात्रै बस्छन् ।’ सीमा जोगाएर बसेका कुतियाकबरका स्थानीयले मत माग्न पुग्ने नेताहरूलाई पक्की तटबन्ध बनाएर महाकाली नदीबाट आफूहरूलाई बचाउन आग्रह गर्ने गरेका छन् । 
    ‘महाकाली उच्चो भइसक्यो, हामी होचो भूभागमा छौँ, तटबन्ध निर्माणका लागि सधैँ भन्ने गरेका छौँ’, स्थानीय हरेन्द्र सुनार भन्छन्,‘नेताहरू चुनावका बेला गर्छौँ त भन्छन् तर पछि गाउँमा फर्केर मुख पनि देखाउँदैनन् ।’ गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने उनको माग छ । चुनावमा मात्रै सम्झिने नेताले कुतियाकबरवासीलाई ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग गर्ने गरेको स्थानीयको बुझाइ छ ।
    ‘कात्तिकको बाढीले जग्गा जमिन, लत्ताकपडा, पशुचौपाय, खाद्यान्न सबै बगायो, खेतीयोग्य जमिनमा पूरै बालुवा भरिएर खेती लगाउन नसकिने भएको छ’, स्थानीय ऐनबहादुर सुनारले भने, ‘यस्तै विपत्तिको बेलामा पनि सरकारले हाम्रो पीडा सुनेन, भोकभाकै बसिरहेको बेला केही संस्थाले खाना खुवाए ।’ स्थानीयवासीलाई चुनावताका उम्मेदवारहरूले कुतियाकबरलाई ‘विकास नगर’ बनाउँछौँ भनेर बाँडेको सपना अझै सम्झनामा छ ।
    ‘कुतियाकबरलाई विकास नगर बनाउँछौँ भनेका थिए, विकास गर्नु त परको कुरा पाइला पनि टेकेनन्’, उनले भने, ‘मतदान त गर्नैपर्छ, जसले पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरलाई जोगाउँछ भन्ने विश्वास लाग्छ उसैलाई मत दिन्छौँ ।’ कुतियाकबरमा सीमा, सुकुम्बासी, स्वास्थ्य, शिक्षाको पनि निकै समस्या रहेको स्थानीय बिनु सुनारले बताइन् । 
    ‘दशगजा स्पष्ट छैन, हामीहरू वर्षौँदेखि लालपुर्जाविहीन छौँ’, उनले भनिन्,‘बाटोघाटो छैन, स्वास्थ्य संस्था, विद्यालय नहुँदा भारततिर जानुपर्छ ।’ प्रमुख समस्याका रूपमा रहेको महाकाली र जोगबुढा नदीको कटान रोक्न पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरवासीको मत लैजान स्थानीयवासीले नेताहरूलाई भनेका छन् । 
    ‘बर्दीबिनाका सिपाही भएर सीमाको रक्षा गरेर बसेका छौँ, टापुमा बसेका हामी कुन दिन बाढीको भेलसँगै बगेर जान्छौँ पत्तो छैन’, बिनु सुनारले प्रश्न गर्दै भनिन्,‘जितेर जाने प्रतिनिधिले हाम्रो पीडा किन सुन्दैनन् ?’ रासस


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com