कैलाली । लामो समयदेखि कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् । बिना भिसा र सहजै रोजगारी पाउने भएकोले पनि यहाँका मानिस रोजगारीका लागि बर्षौदेखि भारतका विभिन्न ठूला सहर पस्ने गरेका हुन् ।
भारतको मुम्बई, दिल्ली, सुरत, पुना, पञ्जाब, हरियाणा लगायत रोजगारीको लागि नेपालीको रोजाइँमा पर्ने सहर हुन । कलिलै उमेरका युवायुवतीदेखि ६०/६५ उमेर समूहका मानिससमेत भारतमा विभिन्न सहरका कम्पनीमा अफिसरदेखि चौकीदार तहसम्म कामदारका रुपमा काम गर्ने गरेका छन् । तर त्यसको ठीक विपरीत स्वदेशमै स्वरोजगार भई भारतीय नागरिकलाई समेत रोजगारी दिइरहेका छन् धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीका २७ वर्षीय युवा आशिषराज शर्मा ।
उनले अहिले बैयाबेहडीस्थित दक्षिण बेल्टमा एक ‘हेप्पी होम बेकरी एण्ड क्याफे’ नामक पाउरोटी उद्योग खोली व्यापार गर्दै आएका छन । जुन उद्योगमा उनले सात भारतीय नागरिकलाई रोजगारी दिएका छन ।
ती कामदारलाई मासिक १६ देखि रु २८ हजारसम्म तलब दिएका छन । सानै उमेरदेखि नै व्यापारमा रुचि राख्ने आशिषले आफूलाई एक सक्रिय युवाका रुपमा परिचित गराएका छन । आशिषको परिवारमा बुबाआमा, दाइभाउजु, छोराछोरी भतिजा भतिजी गरी १२ जना छन । उनले परिवारको लालनपालनमा पनि सहयोग गर्दै आएका छन ।
पुख्र्यौली घर अछामबाट एसएलसी पास गरी अध्ययनका लागि सानै उमेरमा राजधानी काठमाडौं हानीएका आशिषले घरको आर्थिक स्थिति कमजोरीका कारण प्लस टु गर्दागर्दै बीचमै अध्ययन छोडी २०७२ सालमा कैलालीको धनगढी आएका थिए ।
उनले धनगढीस्थित एक टायर हाउस डिलरमा रु पाँच हजार तलबमा काम सुरु गरी छ वर्ष काम गरेर छोडे । टायर हाउसमा काम छोडेपछि अछामको बयलपाटास्थित अस्पतालमा चमेना गृह सञ्चालन गरी व्यवसाय सुरु गरे । सो चमेना गृहमा पनि सोचे अनुसारको कमाइ नभएपछि उक्त व्यवसाय छोडी धनगढीमा पाउरोटी उद्योग सुरु गरे ।
आशिषका भिनाजु बेकरी उत्पादनसम्बन्धी राम्रो सिप भएका व्यक्ति थिए । भिनाजुको अभिप्रेरणाबाट प्रभावित भई सुरुमा धनगढीको मिलनचोकमा पाउरोटी उद्योग चलाए । त्यहाँ काम गर्ने ठाउँको अभाव र महँगो भाडादर भएपछि डेढवर्ष उक्त स्थानमा व्यवसाय चलाई अहिले उनी धनगढीको बैयाबेहडीमा उक्त उद्योग सञ्चालन गर्दै आएका छन ।
पाउरोटी उद्योगबाट सबै खर्च कटाएर मासिक रु एक लाख जति बचत हुने गरेको उनले बताए । उनले भने ‘दिनमा रु पचास हजार बराबरको कारोबार हुने गरेको र त्यसमध्ये रु छ/सात हजारको हाराहारीमा बचत हुने गरको छ ।’ उक्त व्यवसायबाट आशिषले आफ्नो परिवारको लालनपालन साथै सम्पूर्ण खर्चसमेत व्यहोर्दै आएका छन ।
रासस
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै